तान्द्रोबाट फर्किएको नाफाको जीवन


 

पुस्तक र चलचित्र

जिउँदो सहिद गंगाबहादुर लामा ‘कोसिस’को जीवनकथामा आधारित यथार्थवादी चलचित्र हो– तान्द्रो । यो चलचित्र ‘दसवर्षे जनयुद्ध स्मृतिका डोबहरू’ नामक पुस्तकबाट तयार पारिएको पारिएको थियो ।

‘कोसिस’ले जनयुद्धमा भोगेको सबैभन्दा अप्ठ्यारा सँगालेर इतिहासको मार्गचित्रमा कोरेर सुरक्षित यो पठनीय पुस्तक हो । पुस्तकमा अनेकौं क्रान्तिकारी रोचक कथा छन् । अप्ठ्यारो अवस्थामा जीवनमरणको अन्तिम संघर्षलाई केन्द्रबिन्दु बनाएर ‘गोलीसँगको जम्काभेट’ शीर्षाकृत कथामा उल्लेख छ । संवत् २०६० चैत ७ गते शनिबार जनमुक्ति सेनाले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको थियो । ८ गते राति साबिक घाचोक गाउँ विकास समिति–६, छैलुङ लमजुङमा तात्कालिक शाही सेनाले घेरा हाल्यो । घेरा तोड्नेक्रममा सेनाले प्रहार गरेको एसएलआरको गोली घुँडाको पछाडिपट्टि लागे पनि जीवन जोगियो ।

दुःखद कथावरिपरि तान्द्रो घुमेको छ । यो चलचित्र निर्माण तथा निर्देशन साम्तेन भुटियाले गरेका हुन् । दसवर्षे जनयुद्धमा जनयोद्धाले यसरी लड्न साहस नगरेका हुन् भने गणतन्त्र आउने थिएन । एकात्मक हिन्दु राज्य ढल्ने थिएन । गणतन्त्र ल्याउन माओवादीले सबैभन्दा ठूलो भूमिका निर्वाह गरे पनि सामूहिक प्रतिबद्धताअनुसारको शान्तिपूर्ण व्यवस्था कमजोर भएको अनुभूति भएको जनयोद्धाबाटै गुनासा सुनिन थालिएका छन् ।

गंगाबहादुर लामा ‘कोसिस’को अभिनय नायक दयाहाङ राईले गरेका छन् । राईको अभिनय दर्शकले असाध्यै मन पराएका छन् । लामामात्रै होइन, उनीजस्ता कैयौं निःस्वार्थ योद्धाको उच्च सम्मान राज्यले गर्नुपर्छ । उनले पुस्तकमा लेखेका छन्, ‘आत्मसंघर्ष र अन्तर्संघर्षको युद्ध जितेपछि मात्र दुस्मनसँगको युद्ध लड्न सकिन्छ ।’ ‘हातलाई सशस्त्र बनाउनुपहिले दिमागलाई सशस्त्र बनाऊ’ भन्ने उनको दर्शन व्यावहारिक प्रयोग र परीक्षणमा खरो उत्रिनु जनयोद्धाको सफलता हो । व्यावहारिक कसीमा खरो नउत्रेको भए गोली लागेर ढलेको ५६ घन्टा एक थोपा पानी पिउन, खाना खान नपाउँदा कसरी बाँचे होलान् भनेर कल्पनासमेत गर्न सकिँदैन । क्रान्तिकारीमा हुनुपर्ने त्याग, धैर्य र बलिदानी छिचोले । बनिबनाउ सफलतामा रमाएनन् । यस्तो विगत प्रेरणाको स्रोत मानिन्छ ।

 

बलिदानको सम्मान

दुस्मनको गोलीले खुट्टा गुमाउनुपर्दाको पीडा युद्धमा डटिरहेको एक जनयोद्धालाई सामान्य लाग्न सक्ला र ? कदापि हुँदैन । उनको अभिमानलाई होच्याउने दुस्साहस गर्न सक्छन् । अहिले पनि भइरहेकै छ । नेपालमा चलेका अनेकन् विद्रोह निस्तेज पार्न समृद्ध र सुखी समाज परिकल्पनामा समाजवादी विचारका नक्कली फूलबुट्टा भरिएको छ । यस्ता विचारको संक्रमण माओवादीभित्र पनि घुसेकै छ । सायद नेतृत्व र पार्टीले यस्ता घृणित तत्वमाथि विजय हासिल गर्न नसक्ने हो भने सहिद, घाइते योद्धाको बलिदानीपूर्ण रगत पसिनाको अपमान ठहरिनेछ ।

असन्तुष्ट आवाज

घाइते योद्धासँगको हिमचिममा पार्टी किन कमजोर बन्दै गएको छ ? पार्टी नेता खासगरी पुराना संसदीय पार्टीभन्दा किन फरक रहेनन् ? उनीहरूभन्दा फराकिलो मैदान लिएर मुक्ति या मृत्यु भनेर खाएको शपथ किन राप्पाको लाग्दै गयो ? प्रश्न गर्दै जाँदा नेपालभरि भेटिन सक्छ । यावत् प्रश्नको समाधान जनता अर्थात् पार्टीमा निःस्वार्थ भएर लागिपर्ने योद्धाबाट खोजिनुपथ्र्यो । यो समाजको सम्भ्रान्त वर्गसँग साँठगाँठमा रुमल्लिनुले देश बर्बादीको खाल्डोमा पर्दै गएको अनुभूति हुन्छ । भ्रष्टाचार मौलाउँदो छ । निर्वाचन महँगो बन्दै गएको छ । स्थानीय तह पालिकाअन्तर्गत वडाध्यक्षमा निर्वाचित हुन एक उम्मेदवारबराबर कम्तीमा १५ लाख रुपैयाँ खर्च गर्नु जनयुद्धले ल्याएको व्यवस्था हो ?

जनयुद्धका घाइते, इमानदार योद्धा बोझिलो सत्ताको तिरस्कृत भद्दा मजाक बनिरहेका बखत गंगाबहादुर लामा ‘कोसिस’को जीवनबाट हामी र हाम्रो समाजले के सिक्ने ? घाइते योद्धालाई राज्यले किन अवहेलना गरिरहेछ ? सायद चिनियाँ जनयुद्धको सम्मान र नेपाली जनयुद्धको अपमान केको उपज हो भन्ने समाधान हामीभित्रै गहिरिएर खोज्न ढिला गर्नुहुँदैन ।

जिउँदो सहिदको जीवनी

संवत् २०२० पुस १ गते साबिक गोठपानी–९ काभ्रेपलाञ्चोकमा लामाको जन्म भएको थियो । उनका एक श्रीमती एक छोरा, एक बुहारी, एक छोरी, दुई नाति छन् । उनी बूढानीलकण्ठ नगरपालिका–१०, कपन मिलनचोक काठमाडौंमा बसोवास गर्छन् । उनी सशक्त बौद्धिक व्यक्तित्व हुन् ।

नेपाली राजनीतिमात्रै होइन, अन्तर्राष्ट्रिय राजनीतिको समेत दख्खल राख्छन् । उनीमा दर्शन, इतिहास र राजनीतिमा क्षमता गहिरो छ । उनको घुँडामा गोली लागेपछि उपचार सम्भव भएन । भरतपुर क्यान्सर मेडिकल कलेजमा ०६१ साउन २१ गते घुँडाभन्दा केही माथिको भाग गोली लागेको ४ महिना १३ दिनपछि खुट्टा काटियो । त्यसपछि बैसाखीका भरमा जनताको समस्या समाधाननिम्ति लागिपरेकै छन् ।

कोसिसको राजनीतिक जीवन

०३६ को विद्यार्थी आन्दोलनको प्रभाव कोसिसमा पर्यो । ०४४ देखि मजदुर संगठनमा सहभागी भए । मजदुरको मुद्दा बुलन्द बनाउँदै ०४७ मा पार्टी सदस्य पाए । ०४८ मा सेल समिति सदस्य बने । पार्टी जनयुद्धमा होमियो । त्योभन्दा दुई महिनाअघि ०५२ पुसदेखि पार्टीका पूर्णकालीन सदस्य भए । ०५२ माघमा एरिया समिति सदस्य जिम्मेवारीमा रहे । र, पार्टीले दिएको जिम्मेवरी पूरा गर्नेक्रममा थाङ्का कला मजदुर संगठित गर्दै त्यसको अध्यक्ष भए । ०५५ मा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य, ०५७ देखि ०६० सम्म दुई कार्यकाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष हुँदै उपत्यकामा विभिन्न फ्य्राक्सनमा बसेर पार्टी र मोर्चाको जिम्मेवारी सम्हाले ।

त्यसपछि पार्टीको फौजी दस्ताको भ्रुण स्वयम्सेवक टिम, सुरक्षा दल हुँदै एसटीएफको जिम्मेवारी निर्वाह गरे । ०५८ मा नेकपा (माओवादी) उपत्यका क्षेत्रीय व्युरो सदस्य, ०५९ मा धादिङ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाले । पछि जनमुक्ति सेना नेपाल कम्पनी कमिसारसम्मको जिम्मेवारी पाए । सरकार र नेकपा (माओवादी) दोस्रो वार्ता व्यवस्थापनमा समेत सक्रिय सहभागी जनाए ।

 

एकताका कमान्ड इन्चार्ज रामबहादुर थापा ‘बादल’सँग रहेर जिम्मेवारी सम्हाले पनि दोस्रो वार्ता सफल हुन सकेन । राज्यले ०५९ चैत ५ गते रामेछापको दोरम्बामा १९ जना माओवादी कलाकारको हत्या ग¥यो । त्यसपछि वार्ता भंग भयो । त्यसको अर्को वर्ष कमरेड कोसिसलाई

गोली लाग्यो । उपचारपछि उपत्यकाभित्र नेवाः राज्यमा पार्टीको विभिन्न जनवर्गीय संगठन डीओसीमा काम गर्दै ०६५ मा ‘दसवर्षे जनयुद्ध स्मृतिका डोबहरू’ पुस्तक सार्वजनिक गरेपछि ०६९ सम्म सक्रिय रहे । तत्पश्चात् माओवादी राजनीतिबाट अलग भए । हिजोको क्रान्तिप्रति वैचारिक समर्थन राख्दै लामाकै शब्दमा ‘सडक मान्छे’का रूपमा जीवन बिताइरहेका छन् । तिनै भुइँमान्छे ६ दिनसम्म रगत बगाएर नथाकेको जिउँदो इतिहास !

प्रतिक्रिया दिनुहोस्