मन्त्री राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित



खोटाङ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका मन्त्री रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोलिटव्युरो सदस्यसमेत रहेका राईले ३१ हजार ३५१ मत पाएर निर्वाचित भएका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राईले एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईभन्दा २ हजार ६६९ मत बढी ल्याएका थिए । एमाले पोलिटव्युरो सदस्य भट्टराईले २८ हजार ६८२ मत पाएका हुन् ।

संवत् २०३८ मा नेकपा मालेको भ्रातृ संगठनको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उनी लगातार तेस्रोपटक सांसद बनेका हुन् । पहिलो संविधानसभा (०६४) निर्वाचनमा निर्वाचित भएर संसद् भवन प्रवेश गरेका उनी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन (०७४)मा खोटाङ प्रदेश (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पञ्चायतविरुद्ध आन्दोलन (०४५)मा सरिक हुँदा दिक्तेलबाट पक्राउ परेका उनलाई २३ दिन हिरासतमा राखेर चरम यातना दिइएको थियो । सशस्त्र जनयुद्धताका दर्जनौंपटकको भिडन्तमा पर्दा ज्यान जोगाए पनि एउटामा गोली लागेर नसा चुँडिएको छ ।

निम्नमध्यम किसान परिवारमा जन्मेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ साकेला गाउँपालिका–२ रतन्छा माझगाउँनिवासी हुन् । २०२५ वैशाख १४ गते जन्मेका उनको श्रीमती लक्ष्मीदेवी राई र तीन छोरी छन् ।

यसैगरी, जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार राई (जसपा), सर्जु श्रेष्ठ (राप्रपा), जयन्द्रकुमार राई (स्वतन्त्र), चन्द्रमणि राई (आमूल परिवर्तन मसिहा पार्टी), भोजराज बस्नेत (नेमकिपा) र दीपक मगर (मंगोल नेसनल अर्गनाइजेसन)ले क्रमशः १ हजार ९१४, १ हजार ७६१, २३९, २०४, १४०, १३१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्