काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईको ‘देशभक्तिको आवाज यो देशवासीले सुनौं’ शीर्षाकृत गीत सार्वजनिक भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम खोटाङनिवासी गीतकार राईद्वारा लिखित राष्ट्रिय गीत शुक्रबार सार्वजनिक भएको हो ।
घरदैलो कार्यक्रममा व्यस्त रहेका नेता तथा गीतकार राईको गीत चुनावी अभियानलाई दृष्टिगत गर्दै लेखेको जानकारी गराए । सार्वजनिक गीत घरदैलो अभियानमा प्रसारण गरिँदै आएको हो ।
संगीतकार शिवसंगम राईले संगीत भरेका गीत शिवसंगम राई र केबी राईले गाएका छन् भने संगीत संयोजन आगा लामा र मिक्सिङ सुन्दर लामाले गरेका हुन् । गीत त्रिताल स्टुडियो अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो ।
युवा नेता, समाजसेवी तथा गीतकार जयन्द्रकुमार राईद्वारा लिखित गीत यस्तो छ ।
देशभक्तिको आवाज यो देशवासीले सुनौं
संसारकै स्वाभिमानी हामी नै हौं बुझौं ।
हिमाल, पहाड, तराई मिली बनेको यो देश
विविध जाति, धर्म तर एउटै परिवेश,
मानवतावादी सिद्धान्तले रंगभेद ढाल्छ
स्वाधीनता र समानताको दियो पनि बाल्छ ।
घरदेशको स्रोत, साधन उपयोग गर्नलाई
बोलाऊँ अब परदेशबाट हाम्रै दाजुभाइ,
मेचीदेखि उठौं अब कालीदेखि उठौं
समृद्ध देश बनाउनलाई कोही नछुटौं ।