घर बसुवा समाजले हामीलाई भर्खरै जंगलबाट निस्केको देख्थे । त्यो दिन पार गरेको पनि थुप्रै भइसक्यो । जंगलबाट निस्के पनि अग्रगमनबाट विचलित भएको छैन । हुनु पनि परेको होइन । मलाई थाहा छ– जाँतो सुल्टो घुम्यो भनेमात्र अन्न पिसिन्छ । उल्टो घुमाइयो भने भन्न सकिन्न ।
उत्तर राई इन्चार्ज । म संयुक्त ४ नम्बर गाउँ जनसरकार प्रमुख भोजपुर हुँदाको घटना हो । त्यतिबेला सावाखोलाउता पिखुवायता वा पिखुवा र सावाले किनार बनाएको पूर्व र पश्चिम भूगोल । खोटाङ र भोजपुर छुट्याएर आधार इलाका बनाइएको थियो । भोजपुर र खोटाङको स्वामित्व रहनेगरी पार्टीले विशेष आधार इलाका घोषणा गरेको थियो । विशेष इलाका इन्चार्ज राजेश खतिवडा र सेक्रेटरी लक्ष्मी तामाङ ‘ज्ञानु’ थिइन् ।
यस इलाकामा पनि अर्को सानो इकाइमा हामी समाहित थियौं । वाप्लुखा, लिकुवापोखरी, डम्बर्खुशिवालय, काहुले, चिसापानी, जन्तेढुंगा, देवीस्थान र बोपुङ हुँदै भोजपुरपट्टि साबिकका गाउँ विकास समितिका दुम्मा, रानीबास, युँ, ओइराङ, खैराङ, बासिखोरा, मानेभञ्ज्याङ, चिलाउनेटार र धोदलेखानी समेटेर संयुक्त गाउँ जनसरकार विशेष इलाका सञ्चालित थियो ।
हामीले हाम्रो गाजसबाट जनकपुरको बाह्रबिघामा २०६३ जेठ ५ गते तीन सयजना भेला गराउनुपर्ने थियो । हामीलाई कोटा पूरा गर्नैपर्ने निर्देशन आयो । यति धेरै सँगै–सँगै हिँड्न कठिन थियोे । हाम्रो गाजससम्बद्ध प्रायः धरान, बेल्टारलगायततिरै बसोवास गर्थे । त्यताकाको उपस्थित गराउन अत्यधिक पहल गरियो । भूगोलबाट भने प्रतिनिधिमूलकमात्रै उपस्थित थिए । हामी जेठ ४ गते जनकपुर पुग्यौं । त्यो रात मधेसी युवा नेता रोशन जनकपुरीको बंगलामा बास बस्यौं ।
भोलिपल्ट कार्यक्रम सकाएर गोपाल धर्मशालामा बस्यौं । पर्सिपल्ट इलाकाको बैठकमा सहभागी भएर भूगोल फर्कने निधो गरियो । जनकपुरमै रहँदा हाम्रो गाजसमा दुःखद घटना घटेछ । माओवादीले माओवादीकै ज्यान लिएछन् । पार्टीले मार्न लगाएको भ्रम छरिएको इन्चार्ज राजेशले बताए । भूगोलको नेतृत्वले पहल गर्नुपर्छ भन्दै उत्तर र मलाई अनुरोध गरियो । उत्तरजीले मलाई भूगोल पठाउनुभयो । म बैठकमा सरिक नभई सो घटनाको अध्ययन प्रतिवेदन बनाउन बेल्टार (उदयपुर) हुँदै देवीस्थान पुगें । भोलिपल्ट उकालो चढेर देवीस्थान, चिसापानी, डम्बर्खु, पाब्माखाम भञ्ज्याङ, धोदलेखानी, कटुन्जे, चिलाउनेटार, वैकुण्ठे हुँदै रामप्रसाद राईको गाउँ बासिखोरा पुगें । जहाँ जनयुद्धक्रममा तात्कालिक शाही सेनाबाट सांस्कृतिक कलाकार ‘संकल्प’ मारिएका थिए । उनी क्षेत्रीयस्तरका प्रतिभाशाली जनकलाकार हुन् । उनी गायन र लेखनमा पनि निपुण । उनी गितार, हार्माेनियम, किबोर्डसमेत बजाउँथे । उनको एक गीत पनि रेकर्ड भएको थियो । रेकर्डेड गीतांश यस्तो थियो :
बन्दुक पड्क्यो त्यो पारि गाउँमा सुन न हजुर
हे प्यारो साथी ढल्यो रे सुन्दा मन रुन्छ धरर,
हे प्यारो साथी ढल्यो रे सुन्दा क्रान्ति नै यस्तै हो
बन्दुकको ब्यारेलभित्र जीवन हाम्रै हो ।
गीत असाध्यै मीठो थियो । सो गीतबारे अझै ताजा सम्झना छ । त्यो जमानामा टेप र वाकमेनमा रिलवाला चक्का लगाएर गीत सुनिन्थ्यो । मैले पनि यो गीत वाकमेनमा धेरैपटक सुन्दै बाटो छिचोलेको छु ।

छेकेले जंगल घटना कसरी घट्यो ? पार्टी संलग्न छ कि छैन ? भन्ने जनताबीच उठेको प्रश्नको जवाफ दिँदै आपराधिक घटना बुझ्न थालियो । घटनामा धनबहादुर राईले ज्यान गुमाए । राईले ज्यान गुमाएको स्थान छेकेले जंगलमा गहिरिएर बनेको ओडार थियोे । विनोद विक र योगेन्द्र विकले उनलाई त्यहाँ माओवादीले बन्दुक लुकाएको छ, निकाल्न जाऊँ अंकल भन्दै अनुरोध गरेछन् । विकद्वयले एउटा तपाईंलाई पनि दिन्छौं भनेर फकाएछन् । धनबहादुर राईलाई सुरुङजस्तो ओडारमा बन्दुक निकाल्न पठाए । त्यही समय विकद्वयले माथि ढुंगा खसाउँदा राईको घटनास्थलमा ज्यान गयो । वास्तविकता सुनाएपछि विकद्वय अपराधी ठहरिए ।
संयुक्त गाउँ पार्टीमार्फत विशेष इलाका कार्यालयमा सूचना अद्यावधिक गरियो । त्यतिबेला पंक्तिकारको साथमा वायरलेस सेट थियोे । सेटमार्फत सूचना आदान–प्रदान गरिन्थ्यो । वायरलेस वाकीटकीबाट रिपोर्टिङ गरिन्थ्यो ।
विनोद र योगेन्द्र माओवादी पार्टी कमिटीमै थिए । योगेन्द्र जनमुक्ति सेनाका प्लाटुन भीसी र विनोद बासिखोरा गाउँ पार्टीको जनमिलिसिया हुन् । धनबहादुर राईको ज्यानै जानेगरी घटना घट्नुका कारण खोजियो । विनोद र योगेन्द्र दाजुभाइ हुन् । उनीहरूका बुवा बितेको केही समयपछि धनबहादुर राईले विकद्वयकी आमामाथि गिद्धेनजर लगाए । आमामाथि भएको दुव्र्यवहार योगेन्द्रले पार्टीका विभिन्न निकायमा राखेको बताए । जिल्ला पार्टीमा कुरा राखिदिनुहोला भनेर पंक्तिकारलाई समेत अनुरोध गरेका थिए । विभिन्न कारणवश पार्टीमा कुरा गर्न मैले अनुकूल समय पाएको थिइनँ ।
हामी जनकपुर पुग्दा विकद्वयले अप्रिय घटना घटाए । ‘उनीहरू पीडितै हुन् । योगेन्द्रले राईको गलत प्रवृत्तिबारे भण्डाफोर गर्दै आएका थिए,’ स्थानीय एमाले नेता प्रेम कार्कीले सुनाए, ‘राईले थाहा पाएपछि गुन्डा लगाएर मार्छु, तेरो घरबार उडाइदिन्छु भन्दै पटक–पटक धम्की दिएको हामीलाई गुनासो गरिरहन्थे । फकाइफुलाई गरी योगेन्द्र र विनोदको आमासँग भएका गरगहना धनबहादुर राईले आफ्नो बनाइसकेका थिए ।’
नेता कार्कीका अनुसार गाउँ–समाज राखी गरगहनाको हिसाबकिताब गरी प्रचलित मूल्यअनुसार रकम उपलब्ध गराइपाऊँ भनी छलफल चलाइयो । गाउँ–समाजको रोहबरमा रहरमाया विकबाट लिएको गरगहनाको प्रचलित मूल्यबराबरको रकम दिन्छु भनेर कागजात गरे पनि राईले दिएका थिएनन् । योगेन्द्र र विनोदले रकम फिर्ता गर्न ताकेता गर्दा धनबहादुरले विकद्वयको घरमा आगजनी गरे । समाज दाजुभाइकै पक्षमा थियो । रकम फिर्ता गर्न ढिलाइ गरेकै कारण उनीहरूले राईको हत्या गरे ।
अप्रिय घटना घटेको प्रमाणित भएपछि विकद्वयलाई पार्टीबाट निष्कासन गर्यो । जिल्ला सदरमुकाम भोजपुरबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमान्डमा केही प्रहरीले साबिक बासिखोरा–५ बाट हत्यारालाई नै बोकाएर पोस्टमार्टमका लागि शव भोजपुर सदरमुकाम लगियो । हामी भने खोटाङ फक्र्यौं ।