दोस्रोपटक मृत्युनजिक पुगेको दिन ।
हामी मूलडाँडा (वाप्लुखा) छिचोल्दै मखमले (खिदिमा) पुगेर अखिल क्रान्तिकारी खोटाङ र माओवादीसम्बद्ध जनवर्गीय संगठनको बैठक बसेका थियौं । यो संवत् २०६२ मंसिरको कुरा हो ।
मखमलेबाट पानधारे बजार हुँदै भोजपुरपट्टि टेम्केको मुनिमुनि हुँदै चखेवामा बास बस्ने निधो भयो । पर्सिपल्ट सेल्मेको जंगलैजंगल नाखाम (पाथेका) पुग्ने यात्रा तय गरियो । अखिल नेपाल शिक्षक संगठन खोटाङका तात्कालिक संयोजक टंक कट्टेल ‘सुदर्शन’ यात्राका कमान्डर थिए । यात्रामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला सहसचिव ममिका राई, कमरेड विनिता राई, सोनाम सज्जन किराती, शुभकाजी राई र विन्द्र राई थियौं ।
माओवादी खोटाङको संरचनाअन्तर्गत तात्कालिक पाथेका, खार्मी, जालपा, हौंचुर, कुभिन्डे, खार्पा, लामीडाँडा र सल्ले गाउँ विकास समिति १ नम्बर एरिया कमिटीमा पर्थे । १ नम्बर एरिया इन्चार्ज कुभिन्डेका लीला श्रेष्ठ ‘सविन’ थिए । सेक्रेटरीको भूमिका जालपाका सन्तोष राई ‘सुदीप’ले पाएका थिए । हामी एरिया पार्टीको सम्पर्कमा पुग्यौं । सुदीपले हामीलाई ‘रिसिभ’ गरे । रमेश दाहाल (नाखाम)मा हामी भेटियौं । त्यहीं वास बस्यौं । सर्वप्रथम उसिनेको आलु खायौं । बेलुका लोकल कुखुराको मासु र रावाको धानको भात खायौं ।

चिसोको कुरै नगरौं । मखमलेदेखि हिँडेर चखेवामुनि च्यानडाँडा खोटाङपट्टिको गुरुङ गाउँमा अघिल्लो रात बास बसेका थियौं । चखेवाका नागी छिचोल्दै साप्सु शिर, साप्सुधाप हुँदै जंगलैजंगल हिँडेर सात घन्टाको यात्रापछि नाखाम (पाथेका) पुगेका थियौं । त्यत्रो खोटाङ घुम्दा म च्यानडाँडा (धुमा अर्थात् मेरो ससुराली गाउँ) पुगेको थिइनँ । च्यानडाँडाको गुरुङ गाउँमा आलुको दालमा छ्यापी झानेर भात खाएको हिजैजस्तो लाग्छ । जनयुद्धताका भोका पेटलाई भातमात्रै होइन, सेल्टरसमेत दिने आमाबुवा, दाजुभाइ, दिदीबहिनीप्रति सदैव सम्मान छ । त्यसपछि हामीलाई सघाउने शिक्षक नै हुन् । अपवादबाहेक महिनामा चार दिन शनिबार पर्छ । उनीहरूले स्थानीय पार्टी कमिटीमार्फत लेबीका रूपमा चार दिनको तलब उपलब्ध गराउँथे । त्यो सहयोगलाई कम आँक्न मिल्दैन ।
१ नम्बर एरियाको पाथेकादेखि खार्पासम्मको विद्यार्थी संगठन निर्माण, शिक्षक भेटघाट, शिक्षक संगठन निर्माण संयुक्त अभियान सक्यौं । अभियान सकेको दिन साँझपख राम पोखरेल (खार्पा)निवासमा अभियानको समीक्षा भयो । समीक्षा सकेर लामीडाँडाको माथि–माथि हुँदै बिजुले भन्ज्याङ निस्कँदै थियौं । रात परिसकेको थियो । भन्ज्याङ पुग्नुअघि (पहिलेको पँधेरो) हावा चलिरहेको थियो । सुदर्शनले भने, ‘साथी हो, मेरो गाउँ त मेरै हो नि । हामी आएको थाहा पाएर हावाले समेत मीठो स्वागत गर्यो ।’ हामी गलल हास्यौं । एकैछिनमा बिजुले भन्ज्याङ टेक्यौं । साथीहरूले प्रस्ताव राखे, ‘भोक लागेको छ । चाउचाउ, बिस्कुट भए पनि खाएर जाऔं ।’ सुदर्शन (अर्खाैले रिट्ठाबोटे)को घर पुग्न नजिकै भए पनि भोक धेरै लागेकाले खाजा खाने सहमति भयो । बिजुले भञ्ज्याङमा रहेको बबिता पुरीको होटलमा खाजा अर्डर गर्न साथीहरू भित्र पसे । भित्र पसेको दुई मिनेट नबित्दै साथीहरू हतारिँदै बाहिरिए । उनीहरू बुइपा जाने बाटोतिर डौडिए । मचाहिँ उभिइरहें । एरियाका साथीहरूले उधारो खाना, खाजा खाएका थिए होलान्, माओवादीले पैसा दिँदैन भन्ठानेर साहुनीले गाली गरिन् होला । त्यसैले अनुहार रातो पारेर अर्को होटलमा खाजा बन्दोबस्त गर्न हिँडेका होलान् भन्ने सोचें । शुभकाजीले सुटुक्क भने, ‘सोनाम दाइ, दिक्तेलबाट आएका दुस्मन पर्तिर डाँडामा बसिरहेका छन् रे ।’ सुन्दै होशले ठाउँ छाड्यो । म पनि शुभलाई पछ्याउँदै हिँडें ।
हामी बुइपा जाने बाटो छाडेर ओह्रालियौं । तीनजना केही तल बाँसघारीमा लुकेर बसिरहेका थिए । हामी दुई पनि मिसियौं । लगत्तै कोड भाषा तयार पार्यौं । दुस्मनलाई ‘बेंसीखेत’ भन्ने निधो भयो । बाँसघारीबाट तल्तिर झरेपछि अल्मलियौं । कता जाने कता । फेरि बैठक बस्यौं । गाउँलेलाई बाटो देखाइमाग्न सहयोग लिने भयौं । गाउँलेको सहयोग माग्ने जिम्मा मेरो भाग पर्यो । मैले जनमुक्ति सेनाको हिमालयन बक्खुजस्तो हेभी ज्याकेट लगाएको थिएँ । ज्याकेट उल्टो पारेर बोकें । पछाडिको बोकेको झोला छोपिनेगरी ज्याकेट मिलाएँ । त्यसरी ज्याकेट बोक्दा सामान्य मानिसजस्तै देखिन्थ्यो । दुस्मनले सजिलै चिन्दैनथ्यो ।
म एक घरभित्र पसें । घरभित्र ७० वर्षका जस्तो देखिने बूढाबूढी रहेछन् । टुकी बालेर बसेका उनीहरू मलाई देखेर तर्से । बाटो हराएर सहयोग माग्न आएको वास्तविकता सुनाएपछि पहिलेकै अवस्थामा फर्के । मैले अलि तल्तिरसम्म बाटो देखाइदिन सहयोग मागें । बूढा तयार भए । बूढाको पछि लागेर तीन सय मिटरजति तल बाँसघारी पुग्दा माथि डाँडोबाट जिपलाइट फोकसको उज्यालो बाँसघारीमा पर्यो । तन्नेरी साथीहरू टाप कसे । मलाई पनि डौडिहालौंजस्तो लाग्यो । तर, मनले मानेन । बूढो र सुदर्शनलाई सम्झें । गाँस छाड्नु तर साथ नछाड्नू भन्ने भनाइ सम्झें । हामी तीनैजना एउटा गह्रामुनि लुक्यौं । बूढालाई मैले सुझाएँ, ‘बुवा तपाईं फर्कनूस् । माथि सैनिक आयो क्यारे । तपाईंलाई सोधपुछ गरेमा खेतीबाट फर्केको भन्नू ।’
बूढा फर्के । सुदर्शन सर र म ओह्रालियौं । त्यतिखेरै माथिबाट बूढी आमा चिच्याइन्, ‘ए बूढा टर्च लिएर जानू भनेको ।’ आतंककारी यतै आ’का थियोे रे, कता गए ? ए बूढी हामीलाई देखा भनेर सेनाले पो लाइट बालेर हामीलाई खोज्न आएछन् भन्ठानेर साथीहरू आत्तिएछन् ।
हामी अझै तल्तिर झर्यौं । रातको आठ बजिसकेको थियो । हिँड्ने नसकिने जंगल । हामी पुनः जम्मा भयौं । फेरि बाटो लाग्यौं । साथीहरू फेरि हराए । आत्तिए । जूनकीरीको उज्यालोले समेत तर्सायो । त्यसको उज्यालो देखेपछि दुस्मनले टर्चलाइट बालेर घेरा हाल्यो, हामी एकैछिनमा सिद्धिदै छौं भन्ने पीर पर्यो । साथीहरू फेरि भाग्न, लुक्न थाले । मचाहिँ सुदर्शन सरसँगै छु । मरे पनि, बाँचे पनि टिम कमान्डरसँगै रहन प्रतिबद्ध रहें । उनको शारीरिक अवस्था कमजोर थियो । ओह्रालो हिँड्न घुँडाले दिँदैनथ्यो । त्यसमाथि अँध्यारोमा आँखा नदेख्ने । तसर्थ, उनलाई सहाराको खाँचो थियोे । मैले त्यो भूमिका निर्वाह गरें । उनको हात समातेर डोर्याउँदै जंगलमुनि बस्ती पुर्याएँ । त्यहीं बास बस्ने सल्लाह गयौं । बास माग्न सुदर्शन र ममिका तलामाथि बसेका घरबेटी भेट्न गए । बाहिर दुई जना साथीहरू सेन्ट्री बसे । कुकुर भुकेको सुनेर दुस्मनले घेरा हाल्यो भन्दै सेन्ट्री बसेकाहरू भागे । म तलामाथि थिएँ । हो क्यारे भनेर घरभित्रका साथीलाई बोलाएर हामी घरमास्तिर कोदोबारीतिर दौडियौं । कोदोको बालामा अल्झने, लड्ने र उठ्नेक्रम जारी रह्यो । बल्लतल्ल कोदोबारी पूर्वपट्टिको जंगल पुग्यौं । कुकुर भुक्न छाडेको थिएन ।
हामी फेरि जम्मा भयौं । त्यो घरमा सुत्केरी र बच्चाबच्चामात्रै रहेछन् । श्रीमान् भारी बोक्न गएको थाहा पाएपछि बास बस्ने कुरै भएन । सुदर्शन र ममिकाले ब्रिफिङ गरे । त्यसपछि हामी ओह्रालै ओह्रालो झर्यौं । झोर पन्छाउँदै बाटो खोजिरह्यौं । जंगली जनावर पो भेटिने हुन् कि भन्ने त्यत्तिकै डर । ४५ मिनेटजति ओह्रालिएपछि रिट्ठाबोटेलीहरूको पँधेरोमा पुगियो । त्यहाँ खार्पाली भूपराज पोखरेल, शारदाप्रसाद पोखरेल, राम पोखरेलले हालिदिएका भुटेको मकै–भटमास बुक्यायौं । सुन्तला खायौं । भोक्तेको पातबाट उघाउँदै पानी पियौं । त्यसपछि तेर्सियौं । उज्यालोमा हिँड्दा ४५ मिनेट लाग्ने बाटो । म सबैभन्दा पछि हिँडिरहेको थिएँ । हामी १० मिनेटको फरकमा अघि–पछि थियौं । बाटोमा एउटा ढुंगा ठडिएको रहेछ । चुक घोप्ट्याएजस्तो अँध्यारो । बाटो देखिने कुरै भएन । बाटोमा ठडिएको ढुंगामा घुँडा ठोक्कियो । सास रोकिएजस्तै भयो । होशमा आएपछि साथीहरू बोलाएँ । शुभ र बिन्द्रले मलाई बोकेर टंक सरको घरमा पुर्याए । घुँडाको दुखाइले रातभरि सुत्नै सकिनँ । भोलिपल्ट पनि टंक सरको घरको माथिल्लो तलाभित्रै लुकेर बस्यौं ।
पर्सिपल्ट हामी रिट्ठाबोटे छाडेर अर्खाैलेको सोमबारे हटिया घुम्दै थियौं । बिजुलेबाट सेना सोमबारे बजारतिर आइहाले । हामी नवलपुरतिर लाग्यौं ।
तस्बिर सौजन्य : नमस्ते बिजुले