‘म त्यतिबेला आठ कक्षामा पढ्थें,’ जनता समाजवादी पार्टी, नेपाल हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष मविन्द्र चाम्लिङ राईले सुनाए, ‘मैले सचिवको भूमिका पाएँ । नेपाल विद्यार्थी संघ, दुर्छिम माध्यमिक विद्यालय सचिवको भूमिका पाएको हिजैजस्तो लाग्छ ।’ यो संवत् २०५७ सालको कुरा हो ।
एसएलसी पूरा गरेपछि नेविसंघ सचिव राई काठमाडौं पसे । उच्चशिक्षा हासिल गर्ने एकझोला इन्द्रेणी सपना बोकेर काठमाडौं पसेका उनी पशुपति क्याम्पस चाबहिलमा पढ्न चाहन्थे । चाहना चाहनामै सीमित रह्यो । काठमाडौं पस्दा अड्कलेर बोकेको पाँच हजार रुपैयाँ पनि बाटो खर्च कटाउँदा घट्दै गयो । पशुपति क्याम्पसमा आईएमा भर्ना हुन ५ हजार ३ सय चाहिन्थ्यो । पशुपति क्याम्पसमा भर्ना हुन पैसाले पुगेन । उनले विकल्प खोज्नुपर्ने भयो ।
त्यसपछि ?
‘आरआर क्याम्पसमा भर्ना भएँ,’ उनले विगत कोट्याए, ‘सहोदर कान्छा मामा बेखुजित राईले माओवादी केन्द्र, हलेसी तुवाचुङ नगरपालिका, नगर अध्यक्ष राजुविक्रम चाम्लिङलाई सस्तोमा पढ्न सकिने क्याम्पसबारे सोध्नुभयो । नगर अध्यक्ष चाम्लिङले आरआर क्याम्पसको नाम लिनुभएपछि मामा–भान्जा त्यतै गयौं ।’
नाम लेखाउने समयावधि सकिएको रहेछ । त्यसो भएपछि नाम लेखाउन हम्मेहम्मे प¥यो । ‘हामी दसैंताका त्यहाँ पुगेका थियौं । अनेरास्ववियु सदस्य बन्ने सर्तमा भर्ना हुन सफल भएँ । केवल क्याम्पस भर्नाकै लागि म अनेरास्ववियु सदस्य बनें,’ उनले सम्झे, ‘भर्ना गर्नेले पनिका बल्खु पुगेर मिलाइदिनुभयो । भर्ना शुल्क ६०० थियो । अनेरास्ववियु सदस्य बनेबापत १५ रुपैयाँको रसिद कटाउनुभयो ।’ यो ०६० को कुरा हो ।
‘सदस्यता लिए पनि संगठित भइनँ । तर, दाइहरूले हिँड भन्दा हिँडिदिन्थें । क्याम्पसमा दुई वर्ष बितेको दुई दिनजस्तो लाग्यो,’ उनले प्रस्ट्याए, ‘त्यसपछि म वैदेशिक रोजगारीमा गएँ । दुबईमा चार वर्ष बिताएँ ।’
राजनीतिमै होलटाइमर बन्न ०६९ मा नेपाल फर्के । ‘अशोक राईले संघीय समाजवादी पार्टी स्थापना गरिसक्नुभएको थियो,’ उनको भनाइ थियो, ‘त्यही पार्टीमा जोडिन नेपाल फर्केको थिएँ ।’ ससपा मंसिरमा स्थापना भयो । उनी चैतमा स्वदेश फर्के । पहिचान पक्षधर भएकाले पार्टीमा जोडिन मन लाग्नु स्वाभाविकै थियो ।
नेता राईले अभिभावक ठान्दा जुद्धबहादुर राई ‘ढाक्रे’ कांग्रेस ओखलढुंगाको क्षेत्रीय सभापति थिए । रूकमान राई पूर्वमन्त्री बलबहादुर राई र गोपाल राईसँग नजिक थिए । तात्कालिक वन राज्यमन्त्री गोपाल राई र ढाक्रे रूकमानकहाँ आइरहन्थे । नेता राईको भेटघाट पनि रूकमानकै कोठमा भएको हो । सुरेश अधिकारी (चार्टर्ड एकाउन्टेन्ट, पोखरा)लाई भेट्न ढाक्रे पनि आइरहन्थे । रूकमान र ढाक्रेले बलबहादुर राई र गोपाल राईलाई भेट्टाइरहन्थे । विदेशबाट ओर्लनसाथ जुद्ध ढाक्रेलाई भेटे । भेटघाटमा हालखबर सोधासोध भयो । उत्तरमा आफू संघीय समाजवादी पार्टीमा आबद्ध भएको जुद्धले सुनाए ।
यो पार्टीको नेतृत्व अशोक राईले गर्नुभएको होइन भनेर उनले जिज्ञासा राखे । ढाक्रेले हो भने । ‘म पनि यही पार्टीमा लागौं भनेर नेपाल फर्केको भनेर जानकारी गराएपछि ढाक्रेले भने, ‘ल–ल पर्सि सांस्कृतिक महासंघको कार्यक्रम छ । त्यसको केन्द्रीय सदस्य बन । म सिफारिस गर्छु । त्यो कार्यक्रममा अनिवार्य आउनुपर्छ है ।’
नभन्दै उनी केन्द्रीय सदस्य बने । यो ०६९ को कुरा हो । विदेश नजाने भएपछि पार्टीको जिम्मेवारी लिएर गाउँ फर्के । चैतमा काठमाडौं ओर्लेका उनी वैशाख लागेपछि गाउँ फर्के । त्यसताका हलेसी क्षेत्रमा कोही पनि संघीय समाजवादी पार्टीमा लागेका थिएनन् । गणेश राई (चुमाखु)लाई संघीयमा लाग्न अशोक राईले टेलिफोन गरिराखेका थिए । गणेशले इच्छाराम राई (बोहेम्मा)लाई भनिसकेका रहेछन् ।
‘काठमाडौंबाट घर पुगेपछि गणेश राई, इच्छाराम राई र म भयौं । इच्छारामले रातमाटे पढाउने भएकाले राजन र सुरेशलाई भनिसक्नुभएको रहेछ,’ उनले जानकारी गराए, ‘त्यतिबेलै गिरिराज राई (रातमाटे) र हरेन्द्र राई (दुर्छिम)लाई जिल्लामा भएको क्षेत्रीय भेलामा गणेश राईले पठाउनुभयो ।’
म काठमाडौं–खोटाङ गर्दै थिएँ । भदौदेखि ढुक्कै गाउँ बस्ने निधो गरें । पार्टी निर्वाचनमा जाने भयो । ०७० मंसिर ४ मा निर्वाचन मिति तोकियो । सांस्कृतिक महासंघ केन्द्रीय सदस्य उनले खोटाङ १ नम्बर क्षेत्र पूरै घुमे ।
सनबहादुर राई ससपा खोटाङ इन्चार्ज थिए । इन्चार्ज राईले उनलाई जिल्ला कमिटीमा सिफारिस गरे । उनले ०७० मा संघीय समाजवादी पार्टीको जिल्ला सदस्यको भूमिका पाए । जिल्ला तदर्थ कमिटीलाई जिल्ला अधिवेशनमा रूपान्तरण गर्दासमेत उनी जिल्ला सदस्य नै भए । सचिवालय गठन भयो । सचिवालयमा पनि परे ।
त्यसपछि फेरि पार्टीको जिल्ला अधिवेशन भयो । संवत् ०७२ मा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भए । समायोजन र पार्टी एकता हुँदै गर्दा पार्टीको विधान र संविधान घोषणाअनुसार नगरलाई कार्यकारी बनाउने पक्कापक्की भयो । समायोजन र पार्टी एकता हुँदै गयो । उनी ०७५ चैत १ बाट नगर अध्यक्षकै भूमिकामा छन् ।
नगर अध्यक्ष स्वतः पदेन हुने प्रवाधान रहँदारहँदै पनि उनी सचिवालयमा पनि परेकै छन् । नगर अध्यक्ष जिल्ला बैठकमा अनिवार्य उपस्थित हुनैपर्छ । पार्टीको किरात राष्ट्रिय समिति छ, उनी त्यसको पनि सदस्य हुन् । यो प्रदेशस्तरीय कमिटी हो । तर, अहिले राष्ट्रिय समिति भनिन्छ ।
राजनीतिक यात्राले मूलबाटो भेट्टाइसकेको छ । नेविसंघ मावि सचिवदेखि जिल्ला सहसचिवसम्मको यात्राले त्यसै भन्छ । किरात राष्ट्रिय समिति सदस्यसमेत रहेका उनले साकेला क्याम्पस रतन्छा खोटाङबाट आईए र बीएसम्मको अध्ययन पार लगाएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा मानवशास्त्रमा स्नातकोत्तर तह अध्ययनरत उनी ‘वेल एजुकेटेड’ राजनीतिक नेता मानिन्छन् ।