साइँलाखुइँको सांस्कृतिक तथा राजनीतिक महत्व


थालनी :

दीर्घवीरलाई सबैले साइँला भनेर बोलाउँछन् । जुँगाको रेखीसम्म आएको साइँला गाउँघरमा कार्जे (कार्य) हुँदा सघाउपघाउ गर्न खप्पीस । गाउँघरमा छेवर हुँदै गर्दा सघाउन पुगेका साइँलाले साइनो र उमेरले पाको कोक्पा (बाजे) जेठालाई सोध्छन्, ‘कोक्पा ! त्यो टप्री (टपरी)मा भुटेर राखेको मासुलाई साइँलाखुइँ किन भनेको ?’ कोक्पा भन्छन्, ‘साइँला ! उहिले साइँला भन्ने मान्छेले त्यस्तो मासु पकाएर बाँटे (बाँडे)छ । त्यसैले साइँलाखुइँ भनेको अरे ।’ साइँला तीनछक परे ।

विशेषतः किरात राई चाम्लिङ समुदायमा साइँलाखुइँको प्रचलन रहेको छ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका चाम्लिङ समुदायले यो प्रचलन जोगाएका छन् । विशेषगरी छेवर, गुन्युचोली, विवाह र घरपैसा गर्दा सबैभन्दा पहिले निम्ता मान्न पुगेकालाई सायारेम्मा बोतोरेम्मा (स्वागत शिर भ्याउनी) गर्न सरवा जाँडसँगै साइँलाखुइँ दिइन्छ । स्वागत गर्ने ठाउँलाई सायारेम्मा गर्ने अस्थायी घर भनिन्छ । यहाँ पाहुनाका शिर उभ्याउने साइने–सुइध्य गरिन्छ ।

भाइ–सल्लाह :

चाम्लिङहरू सामूहिकतामा विश्वास गर्छन् । दाजुभाइभित्रका कुनै एक घरको कार्जे हुने कुरा गाजीघर (कार्जे हुने घर)ले धिवैतुङ (एउटै कलेजो सिरानी लगाई जन्मेका दाजुभाइ)लाई भनेपछि गाजीघर र धिवैतुङबीचको सामान्य सहमतिपछि पूरै समूहभित्रका दाजुभाइ बोलाएर सुनाइन्छ । यो भाइ–सल्लाह दुईदेखि चार चरणसम्म हुन्छ । यो छलफलले पाहुना कति बोलाउने ? मासु, चामल, दाउरा, पानी, कति चाहिने ? को–को कहाँ–कहाँ खट्ने ? कुन चीज कहाँबाट जम्मा गर्नेलगायत विषयमा सल्लाह गरी जिम्मेवारी बाँडफाँट गरी पूरा गर्ने पद्धति छ । यसरी सजिलो तरिकाले कार्जे सम्पन्न हुन्छ । भाइ–सल्लाह हुँदा चरण–चरणमा जाँड, रक्सी र गच्छेअनुसार मासुभात व्यवस्था गरिन्छ । त्यसलाई नै भाइ–सल्लाह भनिन्छ ।

साइँलाखुइँ :

साइँलाखुइँको परिभाषा विभिन्न थरीका छन् । तर, वास्तविक अर्थ धेरैलाई थाहा छैन । सुरुमा भनिएकै व्याख्खालाई हेर्ने हो भने पनि त्यसमा तथ्य आधार भेटिँदैन । साइँलाखुइँ हुन्छ भने जेठाखुइँ, माइलाखुइँ, काइँलाखुइँ, अन्तरेखुइँ किन भएन त ? भनेर प्रश्न गर्न सकिन्छ । तर, जवाफ छैन । यसको तथ्य अर्थ यसरी प्रस्ट्याउन सकिन्छ । ‘सा’ भनेको मासु (मुटु, कलेजो, छेसा, मृगौला, फोक्सो, राम्रो मासु) । ‘हि’ भनेको ‘रगत’ । र, ‘होला’ भनेको मिसाएर पकाएको मासु । बल्मासा (भुटेको मगमग मीठो तथा स्वादिलो मासुको परिकार) । साहिहोला खुइँ । छिटो बोल्नेक्रममा साहिहोला खुइँ अपभ्रंश भई साइँलाखुइँ भएको हो । जस्तै : गाउँघरमा चस्मालाई चेस्मा, मिनेटलाई मिलेट, टाइमलाई ट्याम भनेर बोलेको सुन्न सकिन्छ ।

साइँलाखुइँ सुँगुर कि राँगाको बनाउने ?

भैंसीको मासुलाई हिलासा/हैदिसा भनेर बूढापाकाले भन्ने गर्छन् । मुन्दुमअनुसार भैंसीको मासुलाई शुभ मानिदैन । चाम्लिङको शुभकार्यमा सुँगुरको मासु अनिवार्य आवश्यक हुन्छ । साइँलाखुइँका लागि सुँगुरकै मासु चाहिन्छ । तर, हिजोआज जनसंख्या बढेकाले राम्रो मासु अभावमा भैंसी र राँगाको पनि चलाइन्छ । तर, बेहुलाबेहुली, छेवर हुने व्यक्तिलाई सुँगुरको मासु अनिवार्य दिनैपर्छ । कार्जेमा सुँगुरको मासु सगुन मानिन्छ ।

साइँलाखुइँ बनाउन चाहिने सामग्री र तरिका :

सुँगुरको मुटु, कलेजो, मिर्गौला, फोक्सो, पेटको मासु, फलमासु र रगत आदि तयार गर्ने । आगोमा भाँडा तताएर मासु हाल्ने, त्यसपछि चलाइरहने, नुन हाल्ने, मासु खरिनेगरी भुटेपछि रगत हाल्ने । पाकेपछि उतार्ने । अनि भोर्लाको पातको टप्रीमा पस्केर फिँजाइराख्ने । कार्जेमा आउने प्रत्येक पाहुनालाई टप्रीबाट दुई/तीन चौटा साइँलाखुइँ र सरवा हातैमा दिई सायारेम्मा गर्ने काम साइने–सुइध्यले गर्छन् । भोर्लाको पातको टप्रीको सुगन्धसहितको साइँलाँखुइँको स्वाद र सरवाको स्वाद जिब्रोमै झुन्डिन्छ ।

सरवा :

कुनै पनि कार्जे गर्ने मनसाय भएपछि कोदो फलिन्छ । जाँड बनाइन्छ । त्यसलाई सातदेखि नौ महिनासम्म माटोको घैलामा राख्नुपर्छ । कार्जे गर्ने दिन उक्त जाँडमा पानी लगाएर घैलाको पिँधबाट सङ्लो पहेंलो, रसिलो, बासिलो, गुलियो चुहाइएको जाँडलाई सरवा भनिन्छ । यो मिहिनेतसाथ बनाइने हुनाले शुभकार्जेमा मात्र पिउन पाइन्छ । साइँलाँखुइँसँग यो मगमगाउँदो सरवा दिएर सायारेम्मा गरिन्छ । स्वाद थाहा हुनेको जिब्रो अति रसाउँछ ।

साइने–सुइध्य :

एउटा अस्थायी छाप्रो बनाइन्छ । जसमा दिछिम (माटोको दुईवटा घैला राख्ने चाङजस्तो) बनाई जाँड भरेको दुईवटा माटोको घैला राखिन्छ । यो कार्जेको अघिल्लो दिन स्थापना गरिन्छ । यो दुई वा चार दिनमा मात्र भत्काइन्छ । घैलाको घाँटीमा सुँगुरको ह्याकुलोको माला लगाइदिइन्छ । यो अनिवार्य छ । यो ठाउँलाई सायारेम्मा अर्थात् स्वागत गर्ने ठाउँ भनिन्छ । यहाँको सम्पूर्ण काम गर्न खटाइनेलाई साइने–सुइध्य भनिन्छ । यसमा दुई छोरा मानिसको नियुक्ति गरिन्छ । काम सकेपछि मात्र उनीहरूको बिदाइ गरिन्छ । साइने (साइँलाखुइँ बाँड्ने), सुइध्य (जाँड बाँड्ने र सहयोग गरिरहने)लाई भाइ–सल्लाह हुँदा जिम्मेवारी तोकिन्छ । यसको नियम, कानुन र विधि उनीहरूले नै पालना गर्छन्/गराउँछन् । पाहुना र दरदाजुभाइलाई साइँलाखुइँ र सरवा दिइन्छ । सायारेम्मा गरिन्छ । साइने–सुइध्यको शिर उभ्याई बिदा गरिन्छ ।

साइँलाँखुइँको महत्व :

किरात संस्कारमा आफूभन्दा अरू (पाहुना)लाई प्राथमिकता दिइन्छ । संस्कृतमा एउटा उक्ति छ, ‘अतिथि देवो भवः ।’ यस्तो संस्कृति किरात संस्कारमा १०० प्रतिशत नै देखिन्छ । हो, यो संस्कृति विकास गर्न हजारौं पुर्खाले हजारौं वर्ष, हजारौं अनुभवजन्य प्रयास र प्रयोग गरेका थिए । आधुनिक युगमा भएको विकासका आधार यिनै हुन् । सिकारी र कृषियुगका विभिन्न चरणको अनुभवले खारिएको पुर्खाले विभिन्न चीजको स्वाद जानेका कारण पाहुनालाई स्वागत गर्न मासुको पकवान बनाउन सुँगुरको छनोट गरी साइँलाखुइँ बनाए । यसमा मनैदेखिको आत्मीय, सरल र समान सहकार्य व्यवहारमै देखाए ।

राजनीतिक महत्व :

संसार चलाउने संस्कार र संस्कृतिले हो । घर, समाज र देश चलाउँदा कुन व्यक्ति कुन संस्कार र परिवेशाट आयो, त्यो व्यवहार उसको प्रत्येक काममा झल्कन्छ । हालसम्म एउटै संस्कार र संस्कृति अँगालेका व्यक्तिले राज्य चलाएकाले भनेजस्तो गति लिन सकेन । यो किरात राई समुदायको विवाह, छेवर संस्कारलाई मात्र अनुशरण गरेमा देश सफल बन्नेमा म त ढुक्क छु । समान व्यवहार, उच्च सम्मान, सल्लाहअनुसार काम, अर्थपूर्ण स्वागत र बिदाइ गरिनेमात्रै होइन, यस समुदायमा लोकतन्त्र, समावेशी, स्वायत्तता, सहकार्य, संघीयता, सुशासन, लैंगिक समानता आदि भेटिन्छन् । त्यसैले घर, समाज र देश विकास गर्न किरात राई चाम्लिङ समुदायको संस्कार र संस्कृति एउटा खाँबो बन्न सक्छ ।

टुंग्याउनी :

प्रत्येक जातिको संस्कार र संस्कृतिको गहिरो अध्ययन गर्न जरुरी छ । कुन समुदायको कुन संस्कार र संस्कृतिमा के वैज्ञानिकता भेटिन्छ, त्यो खोज्न आवश्यक छ । पाइएको तथ्यलाई समाज रूपान्तरण गर्न समावेश गरे समृद्ध नेपाल टाढाको कुरा होइन । राज्यसत्ताको तालाचाँबी बोकेकाले गम्भीर भएर सोच्नैपर्छ । तर, कस्तूरी (आफ्नै बिना नचिन्ने) प्रवृत्ति भएकाले पनि बिना चिनेर, कुरा बुझेर राज्य सत्ताको बागडोर सम्हाल्न जरुरी छ । अनेकतामा एकता कायम गरी यिनै र यस्तै संस्कार र संस्कृतिले देश बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्