मेयर पनि पत्रकार


जीवन अनुभवहरूको सँगालो हो भनेर अथ्र्याउनेको कमी छैन । बुझिल्याउँदा हो पनि । प्रत्येक मानिसले बाँचुन्जेल जीवन भोगाइ र सिकाइका अनुभवहरूको संग्रह गर्छन् । कत्तिका अनुभवहरूको संग्रह सार्वजनिक हुन्छन् । कत्तिका अनुभवहरूको संग्रह प्रयोग गरिँदै गएको किताबको गाताजस्तै थोत्रिँदै र च्यातिँदै जान्छन् । च्यातिँदै र थोत्रिँदै गएपछि सम्बन्धित व्यक्तिको अनुभव, अनुभूतिले अर्थ राख्दैन ।

हलेसी तुवाचुङ नगरपालिका खोटाङकी मेयर बिमला राईले समेत जीवनलाई अनुभवहरूको सँगालो हो भनेर मान्न तयार छिन् । ‘आफूले हिँडिसकेको बाटोमात्रै सम्झने हो भने जीवन भनेको अनुभवहरूकै सँगालो त रहेछ,’ हलेसी तुवाचुङ नगरपालिका खोटाङकी मेयर राईले सुनाइन्, ‘आफूले हिँडिसकेको बाटो सम्झँदा पत्रकारितालाई बिर्सन सक्दिनँ । मैले पनि वर्ष दिनजस्तो पत्रकारको भूमिका निर्वाह गरेकी थिएँ ।’

त्यतिबेला जिल्ला विकास समितिमा जिल्ला परिषद् हुन्थ्यो । ‘परिषद्मा जोकोहीले प्रवेश पाउँदैनथे । त्यहाँ राजनीतिक दलसम्बद्ध नेता, कर्मचारी र पत्रकारबाहेकले प्रवेश पाउँथेनन्,’ उनले अतीत सम्झिन्, ‘मलाई विकास र योजना निर्माणमा विशेष रुचि थियो । त्यतिमात्रै होइन, बैठकको प्रक्रिया, बैठकमा राजनीतिक दलसम्बद्ध नेता र कर्मचारी कसरी प्रस्तुत हुन्छन् भनेर बुझ्ने खुल्दुली हुने नै भयो । त्यसैले सञ्चारमाध्यमसँग जोडिएर काम गर्न लालायित भएँ ।’

नभन्दै हिमाल एफएम सोलुखुम्बुसँग जोडिएर रहर पूरा गरें । ‘पत्रकारिताको सामान्य विद्यार्थी भएर भूमिका निर्वाह गर्दाको अनुभव मेरो जीवनको संग्रहमा संग्रहनीय बनेको छ,’ उनले खुसी व्यक्त गरिन्, ‘जीवनको अर्को अर्थ सिकाइ र भोगाइको संग्रह पनि रहेछ । मैले फरक स्वार्थका लागि पत्रकारिता गर्नु भनेको त्यसकै प्रतिफल हो ।’

हुन त आफूसम्बद्ध सञ्चारमाध्यमकै प्रेस कार्ड देखाएर उनले धेरै कार्यक्रम तथा बैठकमा सहभागी हुन परेन । ‘जिल्ला (खोटाङ)का गैरसरकारी संघ संस्थामा जोडिएकै थिएँ । म अपग्रेड भएँ । मतलब अन्तरपार्टी जिल्ला सञ्जाल खोटाङको अध्यक्ष भएँ,’ उनले जानकारी गराइन्, ‘गैरसरकारी संघ संस्थाबाट विभिन्न बैठकमा सहभागी हुने ढोका खुलेपछि पत्रकारितालाई प्राथमिकतामा राखिनँ ।’

तर, गरुन्जेल कामको पूजा गरिन् । कामको पूजा गर्दा धेरै कुरा सिकिन् । समाचार संकलनको प्रक्रिया थाहा पाइन् । समाचार लेखनको प्रक्रियाबारे बुझ्ने मौका पाइन् । एक पत्रकारले समाचार संकलनदेखि समाचार प्रकाशनसम्मको प्रक्रिया थाहा पाउनु पनि ज्ञानै हो भन्ने उनको ठम्याइ छ । ‘पत्रकारितामा समाचार स्रोतको महत्वबारे थाहा पाएँ,’ उनले थपिन्, ‘आफू अप्ठ्यारोमा परे पनि समाचार स्रोतलाई जोगाउनुपर्छ भनेर पनि जान्न पाएँ । पत्रकारको धर्म र मर्मबारे जानकार छु । म राजनीतिक नेता भएकाले नेता र पत्रकारको रिलेसन अनि दू्रीबारे अनभिज्ञ छुइनँ । त्यतिबेला मैले रिपोर्टरका रूपमा गरेको कर्म र धर्मले मलाई प्लस नै गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्