दिक्तेल रूम नगरपालिका मेयरका उम्मेदवार तीर्थ भट्टराईको राजनीतिका तीन घुम्ती



पहिलो घुम्ती

‘फागुनदेखि १६ वर्ष लाग्दै थिएँ । मंसिरमै भारत पुगें,’ काँग्रेस खोटाङ उपसभापति तीर्थ भट्टराईले विगत सम्झे, ‘नेपालमा पहिलो जनआन्दोलन सुरु हुँदा त्यसको प्रभाव भारतमा रहेका नेपालीमा पनि पर्यो । २०४६ सालको जनआन्दोलनमा गोरखपुरबाट आचार्य पूर्णचन्द्र ढुंगेल, पूर्वमन्त्री ढुण्डीराज शास्त्रीसहित म पनि नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास घेराउ गर्न पुगें ।’

अध्ययनक्रममा भारत रहँदा गोरखपुरमै नारायण योगीसँग भेट भयो । योगीसँग भेट भएपछि राजनीतिक यात्रामा डोरिए । परिस्थिति र परिवेशले १६/१७ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघमा जोडिए । भारतमा रहँदा नेविसंघ र अन्य संघ संगठनले दिएको भूमिका जिम्मेवारपूर्वक निर्वाह गरे ।

नेता भट्टराईले नेपाल विद्यार्थी संघ शाखा गोरखपुर, भारत सचिव (०४५), नेविसंघ विदेश क्षेत्र भारत, सहसचिव (०४८), नेविसंघ शाखा गोरखपुर, भारत अध्यक्ष (०५१), नेविसंघ विदेश क्षेत्र, भारत उपाध्यक्ष (०५१), नेविसंघ विदेश क्षेत्र, भारत अध्यक्ष (०५५) र बीपी चिन्तन प्रतिष्ठान, भारत अध्यक्ष (०५६) जस्तो गरिमामय भूमिका निर्वाह गरे । अध्ययन र राजनीति दुवैले समान प्राथमिकता पाएकै थियो ।

दोस्रो घुम्ती

नेपाल विद्यार्थी संघ केन्द्रीय समिति नेपाल, सदस्य भएपछि उनको राजनीतिक यात्राको दोस्रो घुम्ती सुरु भयो । केन्द्रीय तहको विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि ६ महिना नेपाल र ६ महिना भारत बसोवास गर्न थाले । ०४५ देखि ०६५ सम्म नियमित रूपमा भारत बसेका उनले राजनीतिलगायत विभिन्न शीर्षकमा त्यहाँका १७/१८ प्रान्त टेके । नेविसंघ केन्द्रीय समिति नेपाल, सदस्य हुँदा गोविन्द भट्टराई अध्यक्ष थिए । २७ सदस्यीय नेविसंघ केन्द्रीय समितिमा खोटाङे नेता तीर्थ भट्टराई पनि समेटिए । यो संवत् ०५६ को कुरा हो ।

त्यसपछि ?

दोस्रोपटकका लागि नेविसंघ विदेश क्षेत्र भारत, अध्यक्ष (०५७)को भूमिका सम्हाले । ०६१ मा पुनः नेविसंघ केन्द्रीय समिति नेपाल, सदस्यको जिम्मेवारी पाए । गोविन्द भट्टराईपछि विश्वप्रकाश शर्मा नेविसंघ अध्यक्ष भए । शर्मा र भट्टराईले पाँच/पाँच वर्ष एउटै कोठामा बिताए । गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे, विनोद बान्तवालयात तात्कालिक नेविसंघ केन्द्रीय नेतृत्वसँग कहिले अघि त कहिले पछि गरेर सहकार्य बाक्लियो ।

तेस्रो घुम्ती

०६२/६३ को दोस्रो जनआन्दोलन सुरु हुँदा उनको राजनीतिक यात्राको तेस्रो घुम्ती सुरु भएको थियो । दोस्रो जनआन्दोलनमा उनी खोटाङमै भेटिन्थे । त्यतिबेला नेपाली काँग्रेस जिल्ला कार्यसमिति खोटाङ सचिवको जिम्मेवारी पाएका उनलाई पार्टीको जिल्ला सचिवभन्दा नेविसंघ केन्द्रीय समिति सहमहामन्त्रीको भूमिकाले आकर्षित गर्यो । पार्टी जिल्ला सचिवको भूमिका छाडेर नेविसंघ केन्द्रीय समिति सहमहामन्त्रीको जिम्मेवारी सम्हाले । यो संवत् ०६४ को कुरा हो । केन्द्रीय समितिकै पदाधिकारी रहेर पाँच वर्ष काम गरे ।

रानीतिक यात्राले मूलबाटो समातिसकेको थियो । ०७० मा नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भए । दुई कार्यकाल क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिसकेका युवा पुस्ताका दिग्गज नेता तीर्थ भट्टराईको राजनीतिक यात्रा हिमालसरी अग्लिँदै छ । राजनीतिक यात्रा हिमालसरी अग्लिँदै रहेको बखत नेता भट्टराई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको काँग्रेसतर्फ मेयरको उम्मेदवार बनेका छन् । ३४ वर्षदेखि निरन्तर राजनीतिमा लागेको उनी काँग्रेस खोटाङ उपसभापति हुन् ।

मेयरमै उम्मेदवारी किन ?

‘जनताकै सेवा गर्न त हो मेरो उम्मेदवारी । नगरको समृद्धि र विकासका लागि पनि हो,’ चुनावी अभियानमा रहेका उनले टेलिफोनमा भने, ‘निष्ठापूर्वक समाज रूपान्तरण गर्ने अभिप्रायले उम्मेदवारी दिएको हुँ ।’

भन्न त उम्मेदवार सबैले त्यसै भन्छन् । तर, कसरी विश्वास गर्ने होला ? ‘मैले आजको मितिसम्म लाभको पद लिएको छैन । भ्रष्टाचारको ‘भ’ गरेको छैन । कुनै उपभोक्ता समितिमा बसेर काम गरेको छैन । नजानेर, नसकेर होइन । नचाहेर पो त,’ उनले विश्वस्त तुल्याए, ‘लोकसेवा नै तयारी गरेको भए अहिलेसम्म सचिव भइसक्थें । व्यक्तिगतभन्दा सामूहिक लाभमा कल्याण हुन्छ भन्ठानेर राजनीतिमै भविष्य देखें । यसले निष्ठाको राजनीति गर्छ । सरल र इमानदार पनि छ भनेर चिन्नेले चिनेकै छन् । नचिन्नेका लागि पनि उदाहरण पेस गर्न मेयरको उम्मेदवारी दिएको हुँ ।

साहित्सँगको सम्बन्ध

नेता तीर्थ भट्टराई साहित्यकार पनि हुन् । ०४८ बाट साहित्यमा संलग्न भट्टराई नेपाली साहित्यमा परिचित अनुहार हुन् । साहित्यकार भट्टराईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा कविता, गजल र आलेख प्रकाशित छन् ।

सक्षम सम्पादक

नेविसंघ शाखा गोरखपुर, भारतले ०४८ मा ‘सिंहनाद’ नामक मुखपत्र प्रकाशन गथ्र्यो । तीर्थ भट्टराई मुखपत्रको सम्पादक थिए । ०५१ मा भने सोही मुखपत्रको प्रधानसम्पादक बने ।

नेविसंघ विदेश क्षेत्र, भारतले प्रकाशित गर्ने प्रवास गुञ्जन (०५६) को प्रधानसम्पादकको भूमिका निर्वाह गरेका उनले नेविसंघ केन्द्रीय समितिले प्रकाशन गरेको ‘संक्रान्ति’ (०५७) र (०५८) मा सम्पादक, ०६० मा सोही मुखपत्रको प्रधानसम्पादक रहेर सम्पादकीय कला प्रस्तुत गरे ।

रेडियो, हलेसी खोटाङका निर्देशक उनी ‘इतिहासका जिउँदा पात्रहरू’ नामक लोकप्रिय कार्यक्रमका प्रस्तोता हुन् । नेपाल पत्रकार महासंघ खोटाङ (०६०) का केन्द्रीय पार्सदसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्