वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । आसन्न निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दलसम्बद्ध सातजनाले उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवारी दिएकामध्ये काँग्रेसबाट बिमला राईको उम्मेदवारी परेको छ । पूर्वउपमेयरसमेत रहेकी उनी ‘हेभी वेट’को मेयरका उम्मेदवार हुन् । आफू निर्वाचित भएपछि उनले प्राथमिकताका आधारमा १० काम गर्ने प्रतिबद्धता जनाएकी छन् । प्रतिबद्धताअनुसारको काम गर्दा हलेसी तुवाचुङ नगरपालिका समृद्ध बन्नेछ । तर, नगरलाई समृद्ध बनाउने बिमला राईलाई मतदान गर्नैपर्नेछ ।
उत्पादनमुखी कृषिमा जोड/कपास खेती पहिलो प्राथमिकतामा
हलेसी तुवाचुङ नगरपालिकावासी निर्वाहमुखी कृषिभन्दा माथि उठ्न सकेका छैनन् । ‘अब यत्तिमै सीमित हुनुहुँदैन । किसान व्यावसायिक बन्नैपर्छ,’ हलेसी तुवाचुङ नगरपालिकाको काँग्रेसतर्फ मेयरका उम्मेदवार बिमला राईले जोड दिइन्, ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक अर्थात् धेरैभन्दा धेरै उत्पादनमुखी बनाउनुपर्छ ।’
सरकारले हलेसी तुवाचुङ नगरपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाग्रस्त क्षेत्र भए पनि निराश हुनुपर्दैन । इच्छा भए उपाय कति–कति । ‘सुनकोसी र दूधकोसीकिनार आसपासका भू–भागमा सजिलै लिफ्टिङ गरेर उत्पादनमुखी कृषिलाई बढवा दिन सकिन्छ । दुई कोसीका पानी सदुपयोग गर्न नसकेको प्राविधिक स्रोत अभावले हो,’ हलेसी तुवाचुङ नगरपालिकाका पूर्वउपमेयरसमेत रहेकी राईले सुनाइन्, ‘नगरका अन्य ठाउँका किसानलाई हावापानी र माटोअनुसारको फलफूल खेतीमा आकर्षित गर्नुपर्छ । यसपटक रोपेको फलफूलले तीनदेखि पाँच वर्षसम्ममा उत्पादन दिन थाल्छ । पराम्परागत खेतिपाती गर्नु त छँदै छ ।’
कपास खेतीका लागि हलेसी तुवाचुङ नगरपालिकामा अथाह सम्भावना रहेको छ । कपास खेती झन्झटिलो भए पनि यसलाई प्रवद्र्धन गर्नैपर्छ । नगरमा कपास खेती बेजोड हुन्छ ।
उत्पादनमुखी खेतिपातीलाई प्रभावकारी बनाउन तीन उपाय छन् । जुन उपाय आत्मसात् गर्दा सिंगो नगरवासी लाभान्वित हुन्छन् ।
चिस्यान केन्द्र स्थापना
चिस्यान केन्द्र स्थापना गर्नु पहिलो सर्त हो । नगरका ११ वटै वडामा चिस्यान केन्द्र स्थापना गर्नुपर्छ ।
संकलन केन्द्र स्थापना
चिस्यान केन्द्र स्थापना गरेरमात्रै पुग्दैन । सँगसँगै संकलन केन्द्र स्थापना गर्नुपर्छ । प्रत्येक वडामा उत्पादित उत्पादनलाई मूल्य निर्धारण गरेर संकलन केन्द्रमा संकलन गर्नुपर्छ । त्यसो गरिएन भने सम्बन्धित किसानले उपभोग गरेर रहेको उत्पादन बिक्री गर्नै सक्दैनन् ।
११ हजार महिलालाई महिला कृषि सहकारीमा जोडिने
नेपाली काँग्रेस १ नम्बर प्रदेश सदस्य बिमला राईले उपमेयरको भूमिकामा रहँदा आठवटा वडामा महिला कृषि सहकारी स्थापना गरिन् । तीन वडामा स्थापना गर्न बाँकी छ । बाँकी रहेको वडामा आफू निर्वाचित हुनासाथ स्थापना गर्ने प्रतिबद्धता जनाइन् ।
‘तीनवटा वडामा महिला कृषि सहकारीको आरसीटी भवन निर्माण भइसकेको छ,’ उनले जानकारी गराइन्, ‘कम्तीमा ११ हजार महिलालाई कृषि सहकारीमा जोड्न सकिन्छ । ११ वडामा एक/एक हजारलाई मात्रै जोड्दा पनि त्यति हुन्छ ।’
महिला कृषि सहकारीलाई कृषि उत्पादनमा जोड दिइन्छ । सहुलियतमा बीउविजन र कृषि सामग्री उपलब्ध गराउनुपर्छ । ११ हजारमध्ये तत्काल चार हजारजना महिलालाई उत्पादनमा जोड्न सकिन्छ । गाउँ पस्नुभयो भने उस्ताउस्तै उमेर समूहका सासूबुहारी, नन्द, आमा देखिन्छन् । उनीहरूलाई महिला कृषि सहकारीमा जोड्दा परिणामुखी नतिजा आइहाल्छ ।
२०७ आमा समूहमा १७ सय घरधुरीका महिला
नगरमा २०७ वटा आमा समूह गठन भइसकेका छन् । गठित आमा समूहमा १७ सय घरधुरीका सदस्य छन् । ‘एक आमा समूहलाई एक लाख रुपैयाँबराबरको बीउ पुँजी अनुदान दिने कार्यक्रम छ,’ उनको भनाइ छ, ‘अहिलेसम्म ३५ आमा समूहले अनुदान लिइसकेका छन् । म निर्वाचित भइसकेपछि सबै आमा समूहलाई अनुदान उपलब्ध गराउनेछु । अनुदान पाउन थालेपछि आमा समूहमा आबद्ध हुने बढ्दै गएका छन् ।’
छोरी जन्मनासाथ ‘बालिका बचत’अन्तर्गत ३ वर्षसम्म वार्षिक ४ हजार
हलेसी तुवाचुङ नगरपालिकाले छोरी जन्मनासाथ बैंकमा खाता खोलेर तीन वर्षसम्म निरन्तर वार्षिक चार हजार रुपैयाँका दरले खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ । यसलाई निरन्तरता दिन उनी प्रतिबद्ध छन् ।
ज्येष्ठ नागरिक, एकल महिला/पुरुष र शारीरिक अशक्तलाई निःशुल्क स्वास्थ्य बीमा
‘बाँच्न पाए हाँस्न सकिन्छ’ भन्ने नेपाली उखान प्रचलित छ । प्रचलित उखानले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । स्वास्थ्यसँग सम्झौता गर्न सकिँदैन । ‘गुणस्तरीय अस्पताल निर्माण गर्नैपर्छ । त्यतिले मात्रै पुग्दैन । स्वास्थ्य बीमा कार्यक्रमलाई जोड दिनुपर्छ । ज्येष्ठ नागरिक, एकल महिला, एकल पुरुष र शारीरिक रूपमा अशक्तलाई नगरले नै पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ,’ चुनावी अभियानमा रहेकी मेयरका उम्मेदवार बिमला राईले अर्खौलेको पामेबाट टेलिफोनमा भनिन्, ‘हिजोआज पनि बीमा सेवा लिन जिल्ला सदरमुकाम दिक्तेल वा ओखलढुंगासम्म पुग्नुपर्ने बाध्यता छ । म निर्वाचित भएपछि हाम्रै नगरमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने वातावरण मिलाउनेछु । स्वास्थ्य सेवाका लागि नगरवासीले दुःख पाउने छैनन् ।’
हलेसी तुवाचुङ नगरपालिका बर्थिङ सेन्टरयुक्त नगर हो । ‘तत्काल एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ,’ नेतृ राईले थपिन्, ‘ज्येष्ठ नागरिक, सुत्केरी र शारीरिक रूपमा अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ ।’
प्राविधिक/प्रयोगात्मक शिक्षामा जोड
हामीले हासिल गरेको शिक्षा व्यावहारिक भएर भनेर भन्नेको कमी छैन । र, हो पनि । त्यसो भए के गर्ने होला ? ‘नगरका प्रत्येक विद्यालयमा प्राविधिक र प्रयोगात्मक शिक्षा पठनपाठन गरिनुपर्छ,’ उनको ठम्याइ छ, ‘अहिलेका विद्यालय प्रमाणपत्र संकलन केन्द्रमात्रै बन्यो । नगरका प्रत्येक विद्यालयमा कृषि र भेटेनरी शिक्षा पठनपाठन व्यवस्था मिलाउनैपर्छ ।’
प्राविधिक शिक्षासँग जोड्नासाथ नतिजा देखिहालिन्छ । प्रत्येक शिक्षकलाई सीप विकासमा जोड दिनुपर्छ । शिक्षासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरेर ‘प्याकेजमै प्रोग्राम’ सञ्चालन गरिनेछ । सीपयुक्त शिक्षक भएपछि विद्यार्थी जान्ने भइहाल्छन् । त्यसका लागि सर्वप्रथम तालिम र पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
१ हजार युवालाई तत्काल रोजगारी
एक हजार युवालाई लघुउद्यमसँग तत्काल जोड्न सकिनेछ । वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै राखेर उद्यमी बनाइनेछ । विदेशमा सिकेको सीप गाउँघरमै सदुपयोग गर्दै अन्य युवालाई लघुउद्यमसँग जोडेर रोजगारी दिइनेछ ।
युवालाई खेलकुदसँग जोडिनेछ । अहिलेका खेल प्रशिक्षकलाई निरन्तरता दिइनेछ । आवश्यक परेमा थपिनेछ ।
पर्यटनलाई कृषिसँग जोडिने
हलेसी तुवाचुङ नगरपालिका, १ नम्बर प्रदेशको मात्रै नभएर, हलेसी मुलुककै आयआर्जन गर्ने प्रमुख स्रोत मानिन्छ । हलेसी सगरमाथापछि सम्भवतः १ नम्बर प्रदेशककै आजआर्जन गर्ने मुख्य स्रोत हो ।
तर, हलेसी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीले बाहिरकै खानेकुरा खानुपर्ने बाध्यता छ । यहाँ आइपुगेकालाई हलेसीमै उत्पादित खानेकुरा खुवाउने प्रबन्ध मिलाउनुपर्छ । यहाँका प्रत्येक होटलका ‘मेनु’मा स्थानीय अर्गानिक खानेकुरा समेट्न ढिला गर्नुहुँदैन । ‘हाम्रो पालिका पर्यटक आकर्षण गर्ने नमुना ठाउँ हो,’ उनको बुझाइ छ, ‘यहाँ त्रिधाम हलेसीबाहेक सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक पर्यटकीय स्थल छन् । नगरको ११ वटै वडामा रहेका त्यस्ता पर्यटकीय स्थलको सम्बद्र्धन तथा प्रवद्र्धन गरेर हलेसी आइपुगेका पर्यटकको बसाइ लम्ब्याउनुपर्छ ।’
हलेसीलाई संस्कृति, प्रकृति र इतिहाससँग जोड्नसाथ यो काम प्रभावकारी हुनेछ ।
नगर कार्यपालिकासहित ११ वडामै प्रशासनिक भवन
भौतिक पूर्वाधारअन्तर्गत नगर कार्यपालिकाका प्रशासनिक भवन निर्माण त्यत्तिकै आवश्यक छ । प्रशासनिक भवनले सेवाग्राहीलाई सरल तरिकाले सेवा लिन सक्छन् । नगर कार्यपालिकाको मात्रै नभएर, ११ वटै वडामा वडा कार्यालय स्थापना गर्नुपर्छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा वडा कार्यालय निर्माण भइसकेको छ । बाँकी रहेका वडामा पनि वडा कार्यालय भवन निर्माण पहिलो प्राथमिकतामा राखिनेछ ।
अन्तरपालिका/अन्तरजिल्ला जोड्ने सडक स्तरोन्नति
हलेसी तुवाचुङ नगरपालिकालाई अन्तरपालिका र अन्तरजिल्लासँग जोड्न मुख्य–मुख्य सडकको स्तरोन्नति गर्नु पहिलो प्राथमिकता हो । साथै नगरभित्रका सडकमा मुस्किलले ६ महिना यातायात साधन गुड्छन् । नगरका सबै सडक बाह्रै महिना सञ्चालनमा ल्याउने पहल प्राथमिकतासाथ गर्नैपर्छ ।