नेपालमा पहिलोपटक मुटुको कृत्रिम भल्ब प्रत्यारोपण



काठमाडौं । नेपालमा पहिलोपटक मानिसमा मुटुको कृत्रिम भल्ब राखिएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्ब राखेको हो ।

केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्ब साँधुरो भएपछि उक्त भल्बको स्थानमा कृत्रिम भल्ब राखिएको जानकारी दिए । डा. अधिकारीले नेपालमा पहिलोपटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी)’ विधिबाट सफलतापूर्वक महिलाको भल्ब प्रत्यारोपण गरिएको जानकारी दिए ।

यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यरोपण गरिएको भल्बले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै आराम अनुभूति हुन्छ । केन्द्रले महिलाको गत सोमबार भल्ब प्रत्यारोपण गरेर शुक्रबार डिस्चार्ज गरेको थियो । मुटुको एओर्टिक भल्ब साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोश हुने र रिङ्गटा लाग्छ । उक्त एओर्टिक भल्ब बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धावस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्ब नै प्रत्यारोपण गर्नुपर्छ ।

मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्ब साँघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस्ता रोग लागेमा बिरामीकोे पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुन्छ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्ब प्रत्यारोपण गरिने विधि हो । तर, वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुन्छ ।

दुई महिनाको अथक प्रयासपछि महिलाको भल्ब केन्द्रले प्रत्यारोपण सफलतापूर्वक गरेको हो । ‘ दुई महिनाको नियमित परीक्षणपछि बिरामीको प्रत्यारोपण गर्न सफल भएका हौं,’ उनले भने, ‘भल्बको सिटिस्क्यान गरेर कम्पनीमा पठाऔं र सोहीको आधारमा भल्ब बनाई नेपाल पठाइएको हो । लामो सल्लाहपछि भल्ब प्रत्यारोपण गर्न हामी सफल भयौं ।’

बिरामीको मुटुमा २३ एमएमको भल्ब राखिएको छ । बिरामीलाई २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका भल्ब राख्ने गरिन्छ । उनले नेपालमै उक्त भल्बको सफल प्रत्यरोपण गरेपछि अब भल्ब परिवर्तन गर्न भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने बताए ।

केन्द्रका निर्देशक डा. अधिकारीका नेतृत्वमा रहेको २२ जनाको चिकित्सकसहित टोलीले भल्बको सफल प्रत्यारोपण गरेको हो । कृत्रिम भल्ब नेदरल्यान्डबाट खरिद गरी ल्याइएको हो । ‘भल्ब प्रत्यारोपण सफल गराउनु ठूलो चुनौती थियो । मैले यसभन्दा अघि पनि नेपालमा पहिलोपटक हुने ठुल्ठूला शल्यक्रिया गरेका थिएँ,’ उनले सुनाए, ‘भल्ब प्रत्यारोपण गर्न म आफैं एक/दुई दिनदेखि कसरी सफल गराउने भन्नेमा थिएँ । प्रत्यारोपण सफल भयो । म खुसी छु ।’

यस्तो प्रत्यारोपण नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने उनले बताए । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्ब फ्रान्समा पहिलोपटक गरिएको थियो । कृत्रिम भल्ब प्रत्यारोपण भारतमा ६० देखि ८० लाख रुपियाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा. अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्