काठमाडौं । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ । माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको होे ।
स्थानीय तह निर्वाचन सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाबीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ ।
नेपालमा स्थानीय तहको पहिलो निर्वाचन विक्रम संवत् २००४ जेठ २९ गते काठमाडौं म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी भएपछि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वयन समिति नाम कायम गरिएको छ । यसअघि, स्थानीय तहलाई म्युनिसिपालिटी, नगरपालिका, गाउँ पञ्चायत, नगर पञ्चायत, गाउँ विकास समिति, नगरपालिका, जिल्ला पञ्चायत, जिल्ला विकास समिति आदि नामले चिनिँदै आएको निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ ।
संवत् ००४ मा भएको काठमाडौं म्युनिसिपालिटीको निर्वाचनपछि मुलुकमा नगरपालिका निर्वाचन ०१० भदौ १७ गते भएको थियो । त्यसैगरी, स्थानीय निर्वाचन ०१४ माघ ७ गते, गाउँ पञ्चायत निर्वाचन ०१८ फागुन ७ देखि विभिन्न मितिमा सम्पन्न भएका थिए । काठमाडौं
म्युनिसिपालिटीको ०१० मा भएको निर्वाचनमा वडा नम्बर ८ बाट साधनादेवी प्रधान प्रथम निर्वाचित जनप्रतिनिधि बन्न सफल भएकी थिइन् ।
आयोगका अनुसार, नगर पञ्चायत निर्वाचन ०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन ०१९ देखि विभिन्न मितिमा, अञ्चलसभा र अञ्चल पञ्चायत निर्वाचन ०२० देखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।
स्थानीय तह निर्वाचनका रूपमा ०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगर पञ्चायत, ०३९ असार २ गते जिल्ला पञ्चायत, ०४३ चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगर पञ्चायत एवम् ०४४ वैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।
मुलुकमा प्रजातन्त्रको पुनः स्थापनापछि स्थानीय तहको निर्वाचनका रूपमा ०४९ जेठ १५ र १८ गते गाउँ विकास समिति तथा नगरपालिका निर्वाचन, ०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, ०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा ०५४ असार २७ गते जिल्ला विकास समितिको निर्वाचन भएको थियो । ०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन भयो ।
अघिल्लो स्थानीय तह निर्वाचन
मुलुकमा ०६२/६३ को जनआन्दोलनको उपलब्धिका रूपमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन तीन चरणमा भएको थियो । ०७४ वैशाख ३१, असार १४ र असोज २ गते सो स्थानीय तहको निर्वाचन भएको हो ।
सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पुर्याउने उद्देश्यसहित भएको निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएकामा १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो ।
स्थानीय तह निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ अर्थात् ७४.५३ प्रतिशत मतदान भएका थियो । निर्वाचनमा राजनीतिक दलबाट ८३ हजार ८३६ पुरुष, ५६ हजार ४२७ महिला, २ तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६८२ पुरुष, एक हजार ४१५ महिलासहित एक लाख ४८ हजार ३६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।
उक्त स्थानीय तह निर्वाचनमा सबैभन्दा सानो १८ लहर र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र कायम गरिएको थियो । आयोगले उक्त निर्वाचनका लागि १७ स्थानीय भाषामा निर्वाचन सूचना सामग्री बनाइएका थिए । मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ तह र ६ हजार ७४३ वडा कायम छ । लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमा निर्वाचनलाई लोकतन्त्रको प्राणवायु भन्ने गरिन्छ ।