दाइजो होइन, असल बुहारी भए पुग्छ


गंगा पोखरेल

आजदेखि हजुरकी छोरी, हाम्री छोरी हुन् । यिनी हाम्रो घरकी लक्ष्मी हुन् । हामीलाई चाहिएको असल बुहारी हो । दाइजो केही पनि दिनुपर्दैन । यो सुन्दा खुसीले दंग हुन्छ छोरीका आमाबाबुको मन । छोरी राम्रो घरमा पर्ने भइन् भनेर अनुहारमा एककिसिमको आनन्द देखिन्छ ।

बिहेको दिन निश्चित भयो । फूलमालाको विधि पनि सम्पन्न भयो । औंठी साटासाटसँगै एउटा सानो विवाह उम्कियो । अब सुरु भयो– विवाहको तयारी । कुराकानीकै क्रममा सम्धी–सम्धीबीच छ्लफल हुन्छ । केटाको बाबुले भन्छन्, ‘धेरै दुःखले पाँच बहिनी छोरीमुनि जन्मिएको छोरा हो हजुर । हाम्रो इज्जत राखिदिनुहोला । सबैलाई यसको बिहेको ठूलो रहर छ । सबैले यसलाई सुनको टुड्कोजस्तै माया गर्छन् । जन्ती छुटाउनै नहुने १००/१५० भन्दा धेरै हुँदैनन् । बाजा पनि ल्याउनुपर्यो । एउटा छोरा हो, जन्तीलाई राम्रो गरिदिनुहोला ।’

केटीका आमाबुवालाई पनि कुरा राम्रै लाग्यो । इज्जत ठूलो रहेछ भन्ने भो । बोल्ने कुरै भएन । फेरि केटीकी आमाले कुरा थपिन्, ‘पाँच बहिनीमुनिको भाइ दिदिबहिनी ज्यानै दिन्छन् । भाइ भनेपछि छोरी–ज्वाईं र भान्जाभान्जीलाई पनि राम्रै गरिदिनुहोला । हामी बाहरू चार भाइ छम् । आमाहरू पनि भइहाले । दाइभाइ र बुहारीहरुलाई पनि छुटाउन भएन चित्त दुखाउँछन् । एक्लो विवाह हो । सबैको रहर । मामा दुई भाइ । माइजू पनि भइहाले ।’ मैले खाइनखाई हुर्काएको छोरो हो हजुर भनेर केटाकी आमा भक्कानिइन् । यो देखेर केटीकी आमालाई पनि कटक्क मन भो ।

छोरीको विवाह आमाबाबुका लागि एउटा ठूलो जिम्मेवारीको कुरा हुन्छ । आफ्नी प्राणभन्दा प्यारी छोरीलाई अरूको घरमा दिँदा कस्तो व्यवहार हुने हो ? भन्ने डर नै आमाबाबुको मुख्य कमजोरी भइदिन्छ । बाबुको शिक्षकको जागिर २० वर्ष जागिर खाए पनि खान, बस्न ठिक्क । बचतको नाममा अलिकति सञ्चय कोषको रकम थियो । यो पनि छोराछोरीको पढाइका लागि चुँड्दाचुँड्दै केही रकममात्रै बाँकी छ । त्यसैबाट बिहेखर्च जुटाउनुपर्छ । केटातिरकाले पनि धेरै त मागेका होइनन् । इज्जत त राखिदिनैपर्यो । बडो असमन्जसको स्थिति आइलग्यो । घर–खानदान राम्रो छ । बिहेको तयारी खर्च हिसाब गर्न एउटा कापी कलम लिएर बसे केटीका बुवा । आमा पनि छेउमै बसिन् ।

केटालाई शिरपाउ, औंठी, सिक्री एक तोलाभन्दा सानो त हेर्नै नहुने हुन्छ । केटाकी आमालाई शिरपाउ, माइली तिलहरी, मुख देखाउने सारी, सम्धीभेट । बालाई शिरपाउ, औंठी आधा तोलाको त दिनैपर्यो । पाँच दिदीबहिनीलाई केही दिन नसके पनि पाँचवटा चन्द्रमा र सारी त दिनुपर्यो । ससुरा, सासुहरु, भान्जाभान्जी ज्वाईं, छोराछोरी सबै गरेर कपडा दिनुपर्ने ४५ जना देखिए । जन्तीलाई ५००/– भन्दा कम त राख्न भएन । खान्दानी इज्जतको कुरा छ । भोज पनि राम्रो गर्नुपर्यो । सजावट पनि राम्रो गर्नुपर्यो ।

यसरी टिप्दै जाँदा लामो सूची तयार भो । बजेट पनि धेरै माथि गयो । छोरीका बाआमा रातभर निदाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्