उड्ने झरना



पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जंगल । जंगलको माथिपट्टि विशाल भीर । त्यही भीरको मुख्य पहाड काटिएर अंग्रेजी अक्षर ‘भी’ आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक बन्दै गएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ ।

म्याग्दीखोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरना हेर्दै दुई किलोमिटरको यात्रापछि पुगिन्छ– कोप्रे र उडाइनो झरनामा । करिब २०० मिटर उचाइ रहेको कोप्रे छहरा र २५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छ ।

दैनिक करिब १०० देखि २०० सम्म युवकयुवती पुग्ने गर्छन् । यहाँ दुईवटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै झरना युवकयुवतीका लागि खुसीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित भएका युवकयुवती आए आएर रमाइलो गर्दै दिन बिताउने गरेका बेनी नगरपालिका–३ का वडा सदस्य गेमबहादुर घर्तीमगरले बताए ।

बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्छन् । पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्छ ।

बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा भने सुक्छ । पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउँछन् । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

रमणीय जंगलबीचमा रहेको झरनावरिपरि जंगली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरूप नबिग्रनेगरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

अन्य दिनभन्दा छुट्टीका दिनमा यहाँ घुम्न आउनेको संख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयको भनाइ छ । यी दुई झरना पर्यटकीयस्थल लब्ली हिलपछिको दोस्रो बढी तस्बिर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवि आचार्यले बताए ।

पैदल वा सवारी दुवै प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचार–प्रसार गर्न सकेमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारा विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटको संख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

रमणीय जंगलबीचमा रहेको झरनावरिपरि जंगली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरूप नबिग्रनेगरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्