बंगुरपालनमा लोभिएकी सञ्चारकर्मीको वार्षिक आम्दानी ६ लाख


तनहुँ । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत सर्मिला विक व्यावसायिक रूपमा बंगुरपालनमा लागेकी छन् । बंगुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चारकर्मसँगै उक्त व्यवसायतर्फ आकर्षित बनेकी हुन् ।

तीन वर्षअघि दुई–तीनवटा बंगुर मासुका लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उनले बताइन् । तीन माउले एकपटकमा १५/१६ का दरले पाठापाठी दिँदा वर्षमा ६ लाखबराबर आम्दानी लिन सकिने उनले सुनाइन् ।

आफूलाई फुर्सद नभएको समयमा पति विजयले रेखदेख र दाना चोकर दिन सहयोग गर्ने गरेको उनले बताइन् । बंगुर छ/छ महिनामा वर्षमा दुईपटक ब्याउँछ । हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छन् । उनले भनिन्, ‘पैंतालिस दिन पुगेपछि प्रतिपाठापाठी ६ हजार ५०० का दरले बिक्री गर्ने गरेकी छु ।’ बिक्रीका लागि बजारको समस्या नभएको र मागअनुरूपको पुर्याउनसमेत नसकिएको उनले बताइन् ।

अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो, धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागिरु १५ हजार अनुदान पाएको विक बताउनुहुन्छ । सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बतयो । बङ्गुरका लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उहाँहरूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्