पुछारे माइला गाउँकै नामी डाक्टर



दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने । जोकसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने । बोलीमा भएको मिठासले जोकोही मोहित हुन्छन्– डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटुक्कै पिलाउँछन् ।

लामो समयदेखि विभिन्न रोगले थला परेका, अस्पतालले निको पार्न नसकेका बिरामी औषधिको सेवनपछि एकाएक निको हुन्छन् । त्यही भएर होला आजकल गाउँलेले डाक्टर भनेर बोलाउँछन् । पहिले–पहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले डाक्टर पुछारे माइला भनेरै बोलाउने गरिन्छ ।

संवत् २०२५ मा गाउँको सामान्य परिवारमा जन्मेका शेर्पाले लेखपढ गर्न पाएनन् तर समय परिवेशसँगै अक्षर चिन्ने रहर चल्दै गयो । ‘बुढेसकालमा राम्ररी अक्षर चिन्न र पढ्न त के हुन्थ्यो,’ उनी भन्छन्, ‘तैपनि नातिनातिनाको सहायताले आफ्नो सही गर्न र मोबाइलका नम्बर चिन्न सक्नेसम्म भएँ । यत्तिकैमा चित्त बुझ्यो ।’

हिजोआज शरीरका विभिन्न भाग मर्किंदा, नसाको रोगले दुखाइ हँुदा, निमोनिया हुँदा, छारेरोगले थलिँदा, महिनावारी घटबढ हुँदा सबैले उनलाई गुहार्ने गरेका छन् । अस्पतालबाट फिर्ता भएका गाउँका कतिपय बिरामीको सफल उपचारपछि उनलाई घरमा बस्ने तथा आफ्नो काम गर्ने त्यति फुर्सद हुँदैन । बिहान सबेरै उठेर जंगलबाट भेला गरेका जडीबुटी पिस्ने र प्लास्टिक साथै बट्टाबट्टीमा भर्ने उनको पहिलो काम हुन्छ । त्यसपछि वस्तु बाख्रालाई घाँस पानी दिने काम हुन्छ । घरको समेत काम सकिएपछि भिर्नी झोलामा औषधि बोकेर उनी नजिकदेखि टाढाटाढासम्मका गाउँमा निस्किन्छन् । साँझ परेपछि घरमा फर्किन्छन् ।

उपचार गरेबापत उनले तोकेरै रकम लिने गरेका छैनन् । उपचारपछि कतिले दिन्छन्, कतिले दिँदैनन् । ‘म कसैलाई यति–उति देऊ भनेर भन्दिनँ । तर, हुनेले कम दिन्छन्, नहुनेले अलि धेरै दिन खोज्छन् । त्यो फिर्ता गर्ने गर्छु,’ शेर्पा भन्नुहुन्छ । यसरी जडीबुटीको मिसावट गरी सामान्य प्रकारका बिरामीलाई निको पार्ने सीप र ज्ञान अरू कसैले नसिकाएको तर विभिन्न अनुभव र अनुसन्धानबाट पत्ता लगाएको उनको भनाइ छ ।

‘घरमा कान्छो छोरो जन्मिएको सात महिनादेखि छारेरोगबाट पीडित थियो । धेरै वर्षसम्म विभिन्न उपचार गरें, निको भएन । आफैंले विभिन्न अनुमान लगाउँदै जडीबुटी खोज्न थालें, खुवाउन थालें । त्यो औषधिले पछि उसलाई धेरै सुधार आएको थियो,’ उनले सुनाए ‘तर, नौ वर्षको उमेरमै उसको निधन भयो । समयमै औषधि चिनेको भए सायद छोरोले साथ छोड्दैनथ्यो होला । अहिले त्यस्तै बिरामीलाई निको पार्ने औषधि मसँग छ । गाउँका धेरै बिरामी निको भए ।’

नभन्दै गाउँघरका धेरै बिरामी उनकै जडीबुटी सेवनले निको भएका छन् । ‘मलाई ग्यास्ट्रिकको समस्या थियो । नाश परेर हो या किन खाना रुच्दैनथ्यो,’ सान्थाक्राका निमा शेर्पाले भनिन्, ‘दिनानुदिन शरीरको तौल घट्दै गएको थियो । उहाँको औषधि सेवनपछि पूर्ण रूपमा निको भएँ ।’

यस्तै मेरिङ्देनका रोदन विकले समेत आफ्नी छोरीलाई जडीबुटीकै प्रयोगबाट बचाएकोमा खुसी व्यक्त गरे । ‘झन्डै ३६ घण्टा सम्म बेहोश बनेकी छोरीलाई दुईपटक जडीबुटीजन्य औषधि खुवाएपछि होश खुलेको थियो । फेरि त्यस्तो अवस्था दोहोरिएको छैन,’ विकले बताए । यसरी जटिल अवस्थामा पुगेका कतिपय बिरामीको औषधि उपचारपछि शेर्पालाई टाढाटाढाबाट समेत उपचारका लागि बोलाउने गरिएको छ ।

गाउँघरमा पाइने विभिन्न जडीबुटीले राम्रो काम गर्ने गरेको र थप जडीबुटीसमेत पहिचान हुँदै गएको शेर्पाले बताए । कतिपय जडीबुटीको प्रभाव निक्कै राम्रो देखिएकाले यसलाई राज्यले समेत खोज अनुसन्धान गरेर प्रशोधन गर्न सके सबैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्