आठ लाख हेक्टर जमिन सिँचाइबाट वञ्चित


हेटौंडा । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमिन सिँचाइबाट वञ्चित रहेको छ ।

नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमिन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमिन सिँचाइ भइरहेको सरकारी तथ्यांकले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाइ गुरुयोजना २०७५ मा सिँचाइ समस्याबारे उल्लेख गरिएको छ ।

सिँचाइविज्ञ शिवकुमार शर्माद्वारा तयार पारिएको उक्त गुरुयोजनामा प्रस्तुत तथ्यांकमा भूमिगत जलस्रोतबाट ४ लाख ९३ हजार ८४१, विभिन्न कुवा, नहर नदीका स्रोतबाट ९ लाख ६० हजार ७७६ हेक्टर जमिनमा सिँचाइ हुने गरेको उल्लेख छ । सिँचाइ समस्या समाधानका लागि उक्त गुरुयोजनामा जलधारको वर्गीकरणसमेत गरिएको छ । वर्गीकरणमा कर्णाली, नारायणी र कोसी क्षेत्रलाई सिँचाइको जलाधारका रूपमा समेटिएको छ ।

यसैगरी, गुरुयोजनामा सिँचाइ विकासको अवधारणासमेत समेटिएको छ । उक्त अवधारणामा विद्यमान सिँचाइ प्रणलीको सबलीकरण, आधुनिकीकरण एवम् व्यवस्थापन सुधार र सिञ्चित क्षेत्रको विस्तार उपलब्ध प्रविधिको अत्यधिक प्रयोग गरिनुपर्ने बताइएको छ ।

गुरुयोजनाअनुसार नेपालमा पाँचवटा निर्माणाधीन वृहत् योजना छन् । महाकाली सिँचाइ योजना तेस्रो चरण, रानी जमरा गुलरिया सिँचाइ योजना, बबई सिँचाइ योजना, सिक्टा सिँचाइ योजना तथा वड्कापथ सिँचाइ योजनालाई वृहत् योजनाका रूपमा समावेश गरिएको छ । सो गुरुयोजनाबारे प्रदेशस्तरमा पनि छलफल एवम् परामर्शको कार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्