उनीविनाको यात्रा नुन नहालेको तरकारीजस्तै



काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा पहिलोपटक हाम्रो भेट भएको हो । यो २०५८ तिरको कुरा हो । सो क्याम्पसमा पत्रकारिता पढ्न जाँदा रात्रि कक्षामा हाम्रो भेट भएको थियो ।

गाउँबाट राजधानी अध्ययन गर्न आउने आफ्ना आफन्तजन नहुने हरेक विधार्थीले झैं हामी दुवैलाई रहर भए पनि पढाइलाई भन्दा राजधानीमा टिक्न सक्ने वातावरण बनाउनु मुख्य विषय थियो । त्यतिबेला हामीसँग मोबाइल, इमेल इन्टरनेटजस्ता सम्पर्क गर्ने माध्यम थिएन । त्यति घनिष्ठ नभइसकेको हाम्रो सम्बन्ध एक्कासि टुट्यो ।

२०६५ मा सोही क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्नेक्रममा पुनः हाम्रो भेट भयो । सुरु–सुरुमा त हाम्रो पुरानो चिनजानी र पुरानो मित्रता केलाउनमा ध्यानै भएन तर दिन बित्दै जाँदा प्रसंगवश त्यो अवस्था जुर्यो । त्यसको साथै पेसाकर्मीकै हैसियतले हाम्रो सम्बन्ध घनिष्ठमात्र बनेन, हामी यति नजिक भयौं कि कुनै दिन हाम्रो भेट भएन भने पनि फोनमा कुरा नगरेसम्म चित्तै बुझ्दैनथ्यो ।

यसरी नजिक हुनुका कारण हाम्रो घनिष्ठतामात्र नभएर हामीलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत केही आदिवासी जनजाति पत्रकार मिली आदिवासी जनजातिको दबिएर रहेको आवाज बुलन्द गर्न सञ्चार गृह सञ्चालन गर्ने भन्ने उद्देश्यले एथ्निक मिडिया फाउन्डेसन सञ्चालन गरी केही पहलसमेत गरेका थियौं । एफएम रेडियोका साथै अनलाइन रेडियो सञ्चालन गर्न, द एथ्निक भ्वाइस बुलेटिन प्रकाशन, स्रोत केन्द्र स्थापना गर्ने आदि पहलकदमीमा उनको योगदान अविस्मरणीय छ ।

तुलनात्मक रूपमा आदिवासी जनजाति आन्दोलनमा निकै समयदेखि लागेकाले होला आदिवासी जनजातिको मुद्दा र सवालमा निकै दख्खल राख्ने उनले पत्रकारितामै रहेर जीवनभरि आदिवासी जनजाति सवालमा काम गर्ने प्रण गरेका थिए । उनले झैं सोच राख्ने हामी केही पेसाकर्मी जमात एकैठाउँमा भेला भएका थियौं । तर, उनको अनुपस्थितिमा अबको यात्रा नुनविनाको तरकारीजस्तै भएको छ । मेरा लागि लिम्बूजी नजिकको मित्रमात्र होइन, कतिपय अवस्थामा प्रेरक र पथप्रर्दशक थिए ।

म खुसीको बेलामा मात्र होइन, जब–जब तनावमा हुन्थें, उनीसँग भेट्दा कुरा गर्दा हौसला मिल्थ्यो । पत्रकारिता पेसाका सुरुका दिनमा आफूले गरेको संघर्ष अनुभवले हुन सक्छ, पेसामा प्रवेश गर्न चाहने र गर्ने नयाँ पुस्तालाई उत्पे्ररणा दिनेमात्र होइन, सम्भव भएसम्म उनले अवसर जुटाइदिन्थे । सानोभन्दा सानो उपलब्धिमा खुसी हुने, जुनसुकै कुरालाई सकारात्मक रूपमा हेर्ने, जुनकुनै बेलामा ख्यालठट्टामै रमाइरहने, सादा जीवन उच्च विचारका लिम्बूजी हामी धेरैको सम्झनामा सदा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्