‘कान्तिपुर संवाददाता बन्न निकै पढ्नुपर्नेजस्तो लाग्थ्यो’



त्यतिबेला कम्प्युटर, इमेल, इन्टरनेट, फ्याक्स, मोबाइल थिएनन् । अनलाइन, फेसबुक, ट्वीटर, याहु, हटमेल, युट्युब हुने कुरै भएन । पत्रपत्रिकासमेत साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक र फाट्टफुट्ट म्यागेजिन प्रकाशित हुन्थे । गोरखापत्र दैनिक कहिलेकाहीं गाउँघरसम्म पुग्थ्यो । त्यो पनि धरान–चतराबाट भरियाले विद्यालयको पुस्तकालयका लागि ढाकरमा बोकेर ल्याउँथे ।
त्यसबाहेक काठमाडौंबाट संवत् २०४९ तिर सगरमाथा दैनिक र हिमालय टाइम्स दैनिक प्रकाशित हुन्थे । कान्तिपुर दैनिक अन्य पत्रपत्रिकाभन्दा निकै फरक र प्रभावकारी रूपमा प्रकाशन हुन थालेको थियो । ‘म क्याम्पस पढ्दा र पत्रकारिता सिक्दा क्याम्पस प्रमुख, उपप्राध्यापक, लेक्चररहरू कान्तिपुरका संवाददाता थिए,’ पत्रकार शाहीमान राईले भने, ‘कान्तिपुरको संवाददाता बन्न निकै पढ्नुपर्नेजस्तो लाग्थ्यो ।’

पञ्चायतकालमै काठमाडौंबाट शाहीमानको साइनोले ठूलोबुवा पर्ने भोजपुर हतुवा सिन्द्राङका घलराम राईको सम्पादन/प्रकाशनमा कोङ्पी मासिक छापिन्थ्यो । उनकै सम्पादनमा युगध्वनि साप्ताहिक पनि प्रकाशित थियो । प्रतापसिंह नाछिरिङ राईको साल्पा मासिक र माओ राई यलुङको सम्पादन/प्रकाशनमा हिमालय प्रकाशित थिए । ती अखबार म्यागेजिन आदिवासी जनजाति समुदायमा लोकप्रिय थिए ।

रेडियो नेपालका बान्तवा भाषामा पहिलो समाचारवाचक श्यामराज राईले ती पत्रिका कहिलेकाहीं ल्याउँथे, त्यसबाहेक धरानबाट क्रियाशील आदिवासी जनजाति युवा समूहले यलम्बर पत्रिका चलाउँथ्यो । तर, जिल्ला प्रशासन कार्यालयमा दर्ता थिएन । ‘यलम्बरले राजतन्त्रविरुद्ध कडा नारासहित सम्पादकीय लेख्थ्यो । भूमिगत रूपमा वितरण गथ्र्यो,’ पत्रकार राईले सम्झे, ‘यलम्बरमा वीरे चोर देश छोड, फम्फादेवीलाई फाँसी देजस्ता नारा छापिन्थे । ती पत्रपत्रिका पढेपछि मलाई पनि मनमा लागेका कुरा, भावनामा प्रस्फुटित विचार लेख्न उत्साहित हुन्थें ।’ तर, कसरी लेख्ने ? सुरुवात कसरी गर्ने ? विषयवस्तु कसरी छनोट गर्ने ? निकै कठिन लाग्थ्यो । दुई÷चारथान छोटो कविता, लेख, रचना छापिन्थे । खुसी लाग्थ्यो ।

गाउँबाट सहर घुम्न झर्दा धरानबाट प्रकाशित अखबार पत्रपत्रिकाको कार्यालय धाउँथे । ‘युगध्वनि पत्रिका भने धरानका ग्राहकको घर–घरमा पुर्याउन जान्थें,’ उनले सुनाए, ‘त्यतिबेला धरान, इटहरी, पथरी, उर्लाबारी, दमक, शनिश्चरे, केर्खा, झिलझिले, पाराजुङ्गी, विर्तामोड, भद्रपुर, अनारमनी, गरामनी, सैनिक बस्ती, पृथ्वीनगर, महेशपुर, धुलाबारी, बुट्टाबारी, सालबाडी, धाइजन, काँकडभित्ता, बाहुनडाँगीमा धेरै राई, लिम्बू, गुरुङ, मगर, तामाङ समुदायको घर–घरै पुगें ।’

धरानका भानुचोक, छाताचोक, भोटेपुल, रत्नचोकबाहेक अरू ठाउँमा पातलो बस्ती थियो । ०४९ मा पहिलोपटक धरान झर्दा सहरमा अपरिचित र एक्लो अनुभूति गर्थें । उनी सेन्टअप टेस्ट परीक्षा एसएलसी तयारीका लागि पाठ्यसामग्री किन्न धरान झरेका थिए । विजयपुर साप्ताहिक धरानमा नाम चलेको पत्रिका थियो । विजयपुर साप्ताहिकको कार्यालय धरानको चतरालाइनमा थियो ।

सम्पादक/प्रकाशक भवानी बरालसँग उनको चिनजान भयो । हातले लेखेको सामग्री थमाए । अर्को अंकमा छापियो । बरालसित चिनजान, भेटघाट, आवतजावत बाक्लिएपछि बरालले उनलाई सोधे, ‘समाचार लेख्ने हो ? पत्रकार बन्ने हो ?’ उनले भने, ‘कस्तो समाचार ? कसरी लेख्नुपर्छ ? पत्रकार कसरी भइन्छ ?’ बरालले थपे, ‘बिस्तारै लेख्दै जाने । गर्दै जाँदा पत्रकार भइन्छ । अरू पत्रिकामा छापिएको समाचार पढ्ने । मौका मिलेपछि तालिममा पठाउँला ।’ केही दिनमै उनले विजयपुर साप्ताहिक संवाददाताको परिचयपत्र पाए । ‘परिचयपत्र त पाएँ, कहाँ देखाउने ? कसलाई देखाउने ?,’ उनलाई लाग्यो, ‘पत्रकार कसरी बन्ने ? के–के गर्ने ? कहाँ–कहाँ जाने ?’ उनले अग्रज दाइहरूलाई सुनाए । अग्रजले सुझाए, ‘ओहो, धेरै राम्रो । बधाइ छ । पढ्ने, लेख्ने काम राम्रो हो । राम्रो गर्नुस् ।’

विजयपुर साप्ताहिकको परिचयपत्र गोजीमा राखे । ग्राहक रसिद झोलामा हाले । केही महिना धरान, झापा, मोरङको केही ठाउँमा डेढ/दुई सयजना ग्राहक पनि बनाए । केही समाचार पनि लेखे । ‘क्रियाशील रहेछौ । अझै राम्रो गर्नू,’ त्यतिबेला भवानी बरालले दिएको आश्वासन सम्झँदै उनले खुलाए, ‘पछि राष्ट्रियस्तरको पत्रिकामा मिलाइदिउँला ।’ एसएलसी परीक्षा पास गरिसकेपछि महेन्द्र बहुमुखी क्याम्पस धरान भर्ना भए । केही समय नियमित कलेज गए । तर, भोजपुर बहुमुखी क्याम्पस स्थानान्तरण गर्नुपर्ने बाध्यता आइलाग्यो । भोजपुरबाटै पढाइ र पत्रकारितालाई निरन्तरता दिए । नेपाल प्रेस इन्स्टिच्युट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरमार्फत पहिलोपटक संखुवासभाको खाँदबारीमा आधारभूत पत्रकारिता तालिममा सहभागी हुने मौका पाए । प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक सुरेश आचार्य, सञ्जय सन्तोषी राई थिए । उनले अन्यको नाम बिर्से ।

उनीसँगै भोजपुरबाट रमेशकुमार आले तालिममा सहभागी थिए । उनले केही समयपछि राष्ट्रिय समाचार समितिमा समाचार पठाउने मौका पाए । ‘फुलिस्केपमा लेखेर, चिरीखाममा दस पैसाको टिकट टाँसेर हुलाकबाट समाचार पठाइन्थ्यो । कहिलेकाहीं बाक्लो हुँदा तौल बढी भए बीस पैसाको टिकट टाँस्थें,’ उनले विगत सुनाए, ‘चिट्ठी पुग्न छिटोमा तीन, नत्र साता, दस दिन लाग्थ्यो ।’

पत्रकारिताबाट फाइदा नभएपछि रमेश आले निजी विद्यालय चलाउँछन् । त्यही विद्यालय अहिले करोडौंको पुँजी बनाएका छन् । हिजोआज पत्रकार बन्न आधारभूत आवश्यकताका लागि निकै लगानी गर्नुपर्छ । ल्यापटप, इन्टरनेट, मोबाइल, टेलिफोन, ट्याब, मोटरसाइकल, गाडी आदि । त्यतिबेला डायरी, डटपेन, फुलिस्केप, चिरीखाम, गम र हुलाक टिकट भए पुग्थ्यो । पहिले पारिश्रमिक पाइँदैनथ्यो । पत्रिकाको ग्राहक बनाएबापत कमिसन पाइन्थ्यो । ब्रोडसिड अखबारले स्ट्रिन्जरलाई केही रकम दिनेबाहेक अन्य व्यवस्था थिएन । हिजोआज लगानी गरेअनुसार फाइदा हुन्छ । पछिल्लो समय सञ्चारमाध्यममा राम्रो पारिश्रमिक, तलब सुविधा दिन थालिएको छ । सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । ठूला सञ्चारमाध्यमले तोकिएभन्दा बढी नै तलब सुविधा दिने गरेका छन् ।

‘पत्रकारिता मेरो रहर थिएन । न त बाध्यता नै । परिस्थिति त्यस्तै पर्यो,’ उनले वास्तविकता खोले, ‘मलाई राजनीतिमा रुचि थियो । अहिले पनि छ । राजनीति र पत्रकारिताको अन्योन्याश्रित सम्बन्ध हुँदोरहेछ । तर राजनीति चाहेजस्तो, सोचेजस्तो होइन रहेछ । राजनीतिले अर्कै मोड लियो । मैले अर्कै मोड लिएँ ।’ पत्रकारिता, अध्ययन र पेसा व्यवसाय सँगै गर्ने उद्देश्यले ०५६ मा काठमाडौं पसेका पनि उनले सोचेजस्तो थिएन काठमाडौं । काठमाडौंको बसाइ संघर्षमय थियो । काठमाडौंका नाम चलेका नचलेका साप्ताहिक पत्रिकामा लेख्न थाले ।

सेवा निःशुल्क भएकाले बाँच्न गाह्रो थियो । कोही सम्पादक/प्रकाशकले एक/दुई सयदेखि ५ सय रुपैंयाँसम्म दिन्थे । उनले दुई वर्ष निजी विद्यालयमा शिक्षण गरे । शिक्षणसँगै बिहान मिडिया प्वाइन्टमा पढ्थे । ‘०५६ तिर प्रहरी सहायक निरीक्षकका लागि प्रतिस्पर्धा गरें । वर्ष दिनपछि (०५७) उत्तीर्ण भएको नतिजा आउँदा सशस्त्र द्वन्द्व चर्कियो,’ उनको भनाइ थियो, ‘यसबीच मातृभाषाप्रतिको मोहले बान्तवा भाषा प्रतिष्ठान स्थापना गरेर मातृभाषाको पत्रिका प्रकाशन गर्ने सोच बनाएँ ।’

लेखक डिक बान्तवासित मिलेर किरात राई बान्तवा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान स्थापना गरे । उनी संस्थापक सचिव बने । त्यही संस्थामार्फत उनकै सम्पादनमा बान्तवा भाषाको ‘किरावा बुङ’ पत्रिका प्रकाशन सुरु भयो । तेस्रो अंकपछि राईहरूको बहुभाषिक पत्रिका बनाइयो ।

त्यही समय कान्तिपुर दैनिकमा संवाददाता आवश्यकताको विज्ञापन छापियो । विज्ञापन पढेपछि तात्कालिक कान्तिपुर पब्लिकेसन्स प्रालि कार्यालय पुगेरै व्यक्तिगत विवरण छाडे । केही दिनपछि लिखित परीक्षाको मिति, समय र स्थान जानकारी गराउँदै टेलिफोन आयो । ‘लिखित परीक्षा दिएँ । चिनजानका कोही थिएनन्,’ उनले भने, ‘परीक्षामा देशभरिका पत्रकार थिए ।’ केही दिनपछि अन्तर्वार्ताका लागि बोलाए । अन्तर्वार्तामा सोधिएको प्रश्नको उत्तर दिन अप्ठ्यारो थिएन । छनोटमा परेको टेलिफोनबाटै जानकारी पाइयो । अभिमुखीकरणमा खोटाङ जाने निर्णय गरे । नयाँ ठाउँ, नयाँ अनुभव, नयाँ सम्बन्ध स्थापित गर्ने र पत्रकारिताप्रति इमानदार र मर्यादित भएर काम गर्नेे चुनौती थपियो ।

काठमाडौंमा बाँच्ने आधार, उन्नति, प्रगति र शिक्षार्जनको माध्यम बनाइसकेका थिए । छोडनुपर्दा जीवनको जोखिमपूर्ण अध्याय सुरु भयो । कान्तिपुरका लागि ‘स्ट्रिन्जर’ का रूपमा खोटाङ रोजे । माओवादीको सशस्त्र द्वन्द्व चर्कंदै थियो । पूर्वी पहाडको सशस्त्र द्वन्द्व, भूमिगत समूहको गतिविधिबारे उनी जानकार थिए । परिस्थिति त्यस्तै बन्दै थियो । जानु त कतै पथ्र्यो नै । कि विद्रोहीसित जानुपथ्र्यो, कि सहरको एक कुनामा सुतिखेती गर्नुपथ्र्यो । उनले जोखिमपूर्ण यात्रा रोजे । त्यतिबेला दसवर्षे पत्रकारिता अनुभव, दसवटाजति साना अखबार र पत्रपत्रिकामा काम गरिसकेको थिए ।

दिक्तेल पुगेको चौथो दिन चिनजान सुरु भयो । पुरानो साथी सूर्य सम्बाहाम्फे दिक्तेलमै भेटिए । सम्बाहाम्फे दिक्तेलमा सोलार बेच्दारहेछन् । उनका लागि सम्बाहाम्फेले होटल खोजिदिए । होटलको बसाइ, बोकेको खर्चले धानेन । दिक्तेलमा टेलिफोन, फ्याक्स थिएन । विद्युत् पनि नियमित थिएन । सदरमुकाममा टेलिफोन, फ्याक्स नभएपछि चार घन्टा हिँडेर बुइपा बजार पुग्नुपथ्र्यो । ‘लेखेको समाचार फ्याक्स गर्न प्रतिमिनेट २५ रुपैयाँ तिर्नुपथ्र्यो,’ उनले अतीत कोट्याए, ‘पाँच पेजको फिचर समाचार पठाउन दस मिनेट लाग्थ्यो । बिल पठाएपछि टेलिफोन, फ्याक्स खर्च त पाइन्थ्यो तर ढिलो ।’

मासिक पाँच हजार रुपैयाँ फोन, फ्याक्समा खर्च हुन्थ्यो । खाना, खाजा र डेराभाडा केले तिर्ने ? दिक्तेल बसाइ तनावपूर्ण थियो । समाचार लेखेबापत होइन, छापिएबापत कति पाउने ? मासिक कमाइ कति हुने ? टुंगो थिएन । कान्तिपुर ठूलै संस्था भएकाले नामका लागि लेख्नुपर्छ भनेर कम्मर कसे । तेस्रो महिनादेखि मासिक खर्च धान्न थाल्यो । दुई वर्षको बसाइमा खोटाङका ७६ मध्ये ६० गाविस पुगे । दूधकोसीदेखि साप्सुखोला, सावाखोलादेखि रावाखोलाआसपासका ऐंसेलुखर्क, जलेश्वरी, महेश्वरी, बाकाचोल, राखाबाङ्देल, दिप्सुङ, सुङ्देल, फेदी, पाथेका, खिदिमा, खोटाङ, रतन्छा, चिसापानी बोपुङ, छितापोखरीतिरका टोल–टोल पुगे ।

समाचार लेखेको विषयमा सेना, प्रहरी, प्रशासनसित द्वन्द्व हुने नै भयो । खोटाङ रहँदा पत्रकारिता, सामाजिक काम र पत्रकारिता तालिम सञ्चालन गर्ने मौका पाए । केही साथी राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत छन् । ०६० फागुनमा माओवादीले भोजपुर आक्रमण गर्यो । टेलिफोन, विद्युत्, फ्याक्स सेवा बन्द भयो । भोजपुरमा कार्यरत सहकर्मी विराटनगर सरुवा भएपछि शाहीमान राई भोजपुर पुगे ।

समाचार लेखेर जीविकोपार्जनभन्दा सामाजिक कार्यमा भोजपुर बसाइ फलदायी बन्यो । दस पाथी कोदोमा घरबारी लिलाम गरिएका दृष्टिविहीन परिवारलाई उद्धार गर्न कान्तिपुरकै समाचार प्रभावकारी बन्यो । द्वन्द्वपीडित, आगलागी, बाढीपहिरो, भूकम्पलगायत प्राकृतिक विपत्तिमा परेकालाई उनको सक्रियताले परिवर्तन सम्भव भयो । निरंकुशता, प्रेस स्वतन्त्रताको पक्षमा शाही शासन अन्त्य गर्न पत्रकार महासंघको तर्फबाट उनकोे भूमिका अहम् थियो । पत्रकार महासंघ भोजपुर शाखाको तीन कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरेका उनको कार्यकालमा आर्थिक स्रोत जुटाएर जग्गा खरिद गरी एकतले भवन निर्माण गरे । ‘आफ्नो घर बनाउन सकिनँ,’ उनले गर्व गरे, ‘संस्थागत विकासका धेरै काम भए । महासंघको संस्थागत विकासमा लागिपर्दा आफू कार्यरत संस्थाप्रति अन्याय गरेको अनुभूति गरेको छु ।’ नेता, मन्त्री, हाकिमको चाकडी नगर्दा ठूलै सजाय पाएको उनको भनाइ छ । सहकार्य, सहअस्तित्व, समन्वयविना लम्पसार पर्ने उनको चलन थिएन ।

२५ वर्षे पत्रकारिता यात्रामा उनले तीन सय ५० जनालाई तालिम दिइसकेका छन् । त्यसमध्ये एक सय ५० जना प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामै छन् । त्यतिबेला संख्याका हिसाबले आदिबासी जनजातिअन्तर्गत राई समुदायबाट पत्रकारिता गर्ने औंलामा गन्न सकिन्थ्यो । पञ्चायतकालमा औंलामा गन्न सकिने अग्रज आदिवासी पत्रकार दाइहरू पुरानैपाराले पत्रकारिता गर्थे । समय परिवर्तनसँगै उनीहरू अझै परिष्कृत हुन सकेका छैनन् । जसले आफूलाई हाइटेक प्रविधियुक्त बनाउन सके, लगानीअनुसार उनीहरू प्रतिस्पर्धामा छन् । रोजगारी दिएका छन् । मुनाफा कमाएका छन् ।

पत्रकारितामा आदिवासी जनजातिको संख्या बढ्दो छ । क्रियाशीलता, कला, सीप र क्षमता पनि कम छैन । प्रतिस्पर्धामा पनि कमजोर देखिँदैनन् । अवसरको खाँचो छ । अवसर पाए धेरैले पत्रकारिता गर्न सक्छन् । पत्रकारिता गर्नलाई त्यही विषय अध्ययन गर्नुपर्छ भन्ने छैन । विषयवस्तु छनोट गरी भाँती पुर्याएर लेखे भइहाल्छ । समाचारमा हुनुपर्ने गुण भइदिए पुग्छ । सत्य–तथ्यमा आधारित विश्वसनीय र तार्किक समाचार लेख्न सके अखबारमा छापिन्छ । तर, आदिवासी जनजातिका छोराछोरीले लेख्न सक्दैनन् भन्ने सम्पादक/ प्रकाशकको मानसिकता परिवर्तन भएको छैन । ‘मुलुकको सामाजिक संरचना र सामाजिक मुद्दा र विषयवस्तुका कारण सञ्चार संस्थामा विभेदकारी सोचाइ छ,’ उनको दाबी छ,

‘हाम्रा सम्पादक/प्रकाशकमात्रै होइनन्, पाठक एवम् अभिजात वर्गका मानिसले होच्याउने गर्दारहेछन् । त्यस्ता धेरैको संगत गरिसकेको छु ।’

प्रतिक्रिया दिनुहोस्