बेलायतको सुखसयल त्यागेर गाउँमै रमाइरहेका सार्जन्ट



श्रीमती, छोराछोरी बेलायतमै बस्छन् । उनीहरू स्थायी रूपमै बेलायतमा विलासिताको जीवन बिताउनका लागि प्रयास गरिरहेका छन् । तर, जीवनसंगिनी र परिवारलाई नै छाडेर उनी गाउँलाई नै स्वर्ग बनाउँछु भनेर लागेका छन् ।

लामो समयसम्म अत्यार र कष्टपूर्ण आर्मी जीवनबाट अवकाश पाएपछि बाँकी नाफाको जिन्दगी त्यतिका लामो समयसम्म विछोड भएका परिवार आफन्तसँग रहन्छु भन्ने हुन्छ धेरैलाई । तर, म्याग्दीका पूर्वबेलायती लाहुरे सार्जन्ट बागवीर पाइजा भने यी सबै कुरा के हो भन्नेसमेत थाहा नभएजस्तै देखिन्छन् । किनकि उनी करिब तीन दशक लामो जागिरे जीवन बिताएर आफ्नो परिवारलाई बेलायतमा छाडेर आफू जन्मिएको गाउँ फर्केर समाजसेवा गर्न थालेको पनि डेढ दशक भइसकेको छ । यतिखेर उनलाई सामाजिक काम गर्न भ्याइ–नभ्याइ छ ।

लामो अत्यासलाग्दो फौजी जीवनबाट अवकाश पाइसकेपछि बाँकी जीवनलाई घरपरिवार, ऐस–आराममा बिताउनुपर्छ भन्ने मानसिकताबाट टाढा रहेका पाइजा आफू जन्मेको जिल्ला म्याग्दीको शिखमा रहेका छन् ।

फौजी जीवनबाट अवकाश पाइसकेपछि सोही कार्यकालमा आफूभन्दा ठूला व्यक्तिहरूले राष्ट्र र राष्ट्रियताको विषयमा दिएको पाठकै कारण आफू नेपाल फर्केर समाजसेवामा लागेको उनको भनाइ छ । पल्टनमा रहँदा मेरै पल्टनको अफिसरले तिमीहरूले राष्ट्र र राष्ट्रियतालाई कहिल्यै नभुल्नु भनेको आग्रहले जागिरे समयभरि उनलाई बिझाएको रहेछ ।

आफू दुःखले होस् या सुःखले अरूको देशमा जागिर खानुपरे पनि उनलाई जागिरे समय काट्न निकै मुस्किल भयो । ‘त्यसैको उनैको आग्रह मनमा लागेर नै म मेरो परिवारलाई छाडेर समाजसेवालाई परिवार ठानेको छु,’ उनले थपे, ‘जिन्दगी एकचोटि मात्र आउँछ । त्यो मानिसलाई मात्र होइन सबै प्राणीलाई पनि आउँछ । त्यसैले भोलिको पुस्तालाई पनि केही हुने गर्ने धोको छ ।’

त्यसैले पनि होला उनी गाउँ फर्केदेखि अधिकांश विकास कार्य भित्र्याएका छन् । गाउँमा रहेको विद्यालय, स्वास्थ्यचौकी, प्राकृतिक क्षेत्र, वन–जंगल सबै क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाएका पाइजा वास्तवमै सबै क्षेत्रबाट परिचित रहेका छन् ।

संवत् २०११ मा उनको बुवा मनराज पाइजाले स्थापना गरेको शिख प्राथमिक विद्यालय अहिले माध्यमिक विद्यालयका रूपमा पठनपाठन भइरहेको छ । उनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेर काम गरिरहेका छन् । आफ्ना चल अचल सम्पत्तिमात्र नभएर विद्यालयलाई जीवन समर्पित गरेको पनि थुप्रै भइसकेको छ । संकटकालमा विद्यायल पूरै ध्वस्त भएपछि उनकै सक्रियतामा करोडौंको पक्की भवनसमेत निर्माण गरेका पाइजा चार वर्ष विद्यार्थीले नै खाने चमेनागृहमा खाना खाने र विद्यालयकै कोठामा सुत्ने गरेका थिए । बिहान उठेदेखि फौजी अनुशासनसरह आफैं विद्यालय सफा गर्न र व्यवस्थापन गर्न सिकाउने उनी अहिले भने शिक्षक आवास गृहमा बसिरहेका छन् ।

विद्यालयलाई सबै इन्टरनेट माध्यमबाट पठनपाठन गराउन लागेका उनले विद्यालयमा कम्प्युटर, इन्टरनेटको समेत व्यवस्था गराइसकेका छन् ।

बुवाले स्थापना गरेको विद्यालयमा आफू पनि काम गरिरहँदा उनी आश्चर्य–चकित छन् । ‘बुवाले नै स्थापना गरेको शिख प्राविमा अहिले म यस माविको अध्यक्ष भएको छु,’ उनले सुनाए, ‘संयोग भनौं या के भनौं मलाई अचम्म र गर्वको अनुभूति भएको छ ।’ बुवाको आदर्श र कामले पनि मलाई प्रभाव पारेको छ ।

यतिमात्र नभएर गाउँको स्वास्थ्यचौकीको समेत अध्यक्ष रहेर भौतिक व्यवस्थापनसँगै टेलिमेडिसिनको माध्यममा उपचारको व्यवस्था गराएका छन् । काठमाडौंका चर्चित तथा अनुभवी डाक्टरहरूबाट उपचार तथा परामर्श गराउने व्यवस्था नेपालको धेरै सहरमा समेत व्यवस्था छैन । तर, पाइजाले म्यागासेसे पुरस्कार विजेता महावीर पुनको सहयोगमा ताररहित इन्टरनेट गाउँमा लगेर काठमाडौंको मोडेल हस्पिटलका अनुभवी डाक्टरबाट उपचार गराइरहेका छन् । गाउँदेखि बजार झर्न यातायात तथा समयले घण्टामात्र नभएर दिन नै लाग्ने समस्याबाट यो व्यवस्थाले गाउँलेसमेत खुसी छन् ।

जिल्लामा मात्र नभएर, देश–विदेशमा समेत चर्चा चल्ने अन्नपूर्ण संरक्षण क्षेत्रको समेत निर्देशक रहेर दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरेका छन् । दैनिकजसो सयौं पर्यटक भित्रिने सो क्षेत्रमा उनले ताररहित इन्टरनेटको व्यवस्था, सुविद्यासम्पन्न सामुदायिक होटेलको व्यवस्था, पर्यटकलाई लोभ्याउनकै लागि बीचबीचमा आकर्षक पर्यटकीय क्षेत्र स्थापनामा समेत ध्यान दिएका छन् ।
बुढ्यौलीमा उनको काम गराइ र योजना देख्दा सामाजिक काम र पर्यटनको क्षेत्रमा काम गर्ने भनाउँदाहरू फिक्का देखिन्छन् । सामान्य पहिरनमा देखिने पाइजा दोस्रो संविधानसभामा संविधानसभाका समानुपातिक उम्मेदवारमा समेत प्रस्तावित भएका थिए । सामाजिक काममा समूह र प्रचारबाजीमा भन्दा पनि काममै ध्यान दिनुपर्छ भनेर प्रायः एक्लै हिँड्ने उनी राजनीतिक ज्ञान र पहुँचका लागि पनि राजनीतिमा छिरेको बताउँछन् । उनले राजनीतिमा कसैलाई गिराउन र गलत राजनीति गर्नका लागि पार्टीमा लाग्नभन्दा पनि लामो समयसम्म एक्लै काम गर्दा राजनीतिक पहुँचले ठूलो भूमिका राखेको थाहा पाएपछि राजनीति अपरिहार्य रहेको बताउँछन् ।

नेपालको गलत राजनीतिमा छिरेपछि यत्तिका ठूलो सामाजिक उचाइ बनाएको व्यक्ति फेरि अरूको जस्तै पहिचान बन्ला कि ? ‘त्यस्तो भयो भने मलाई राजनीति चाहिँदैन,’ उनले भने, ‘म सामाजिक काम नै गर्छु ।’

बागवीर पाइजा समाजसेवासँगै कलाकारितामा पनि उत्तिकै अब्बल देखिन्छन् । खासगरी सामाजिक विषयवस्तुमा निर्मित आधा दर्जन बढी चलचित्रमा कलाकारको भूमिका निर्वाह गरेका छन् । खासगरी मगर भाषामा छायाङ्कन गरिएको फिल्ममा गाउँको तत्कालीन शोषक मुखियाको भूमिकामा देखिएका उनी व्यवहारमा भने ठीक उल्टो छन् ।

प्रतिक्रिया दिनुहोस्