रिमचिमको साखेवा रिसाउँदा पिखुवाखोला तेर्सैतेर्सो



उहिले–उहिले पिखुवाखोलासँग सुन्दर–सुन्दर झरना र थुप्रै–थुप्रै दहपोखरी थिए । पिखुवाखोलाले माझकिरातको थुप्रै जमिन सिँचेको थियो । यो क्षेत्रमा प्रशस्त अन्न उत्पादन हुन्थ्यो । आवश्यकभन्दा धेरै अन्न उत्पादन हुने भएकाले आफलफापल हुन्थ्यो ।

रिमचिम गाउँमा ठूलो पोखरी (तलाउ) थियो । त्यसैको छेउबाट पिखुवाखोला बग्थ्यो÷बग्छ । पोखरीनजिकै वाछक (केही कालो, केही सेतो ढुंगाजस्तो फल्ने चीज)को विशाल रूख थियो । त्यस गाउँको एक मानिसलाई सपनामा आदेश आयो, ‘गाउँमा साखेवा स्थापना गरी पुज्नू ।’ ती मानिसलाई ‘यस्तो–यस्तो प्रकारको ढुंगा ल्याएर साखेवा पुज्नू’ भनिएजस्तै उसले ढुंगाहरू भेट्टायो र तिनै ढुंगा ल्याएर साखेवा पुज्न थाले । त्यसपछि सालिन्दा वरिपरिका गाउँले किराती राईहरूले पनि रिमचिमको साखेवा पुज्न थाले । योक्रम चलिरह्यो । गाउँमा सुख शान्ति थियो ।

समय बित्दै जाँदा एकजना किरातीले त्यही गाउँको अर्काकी स्वास्नीलाई जारी बिहे गर्यो । ती स्वास्नी मानिसको पहिलो लोग्नले रिमचिमको त्यही साकेवाथानमा गएर भन्यो, ‘हे साखेवा, तिमी साक्षात् हौ भने मेरो स्वास्नी लैजाने जारलाई यही ल्याइदेऊ । उसलाई काटी म तिमीलाई भोग चढाउँछु ।’

साखेवा पूर्णेको दिन आयो । नभन्दै त्यो जार पनि साखेवा नाच्दै त्यही आइपुग्यो । त्यो स्वास्नी मानिसको पहिलो लोग्नेले आफ्नो जारलाई नाच्दा–नाच्दै आक्रमण ग¥यो । आफूमाथि आक्रमण भएपछि जार भाग्न थाल्यो । तर, तीन–चार कान्लामात्र के भागेको थियो, जारले गर्दनमै खुकुरी प्रहार गरी उसको टाउको छिनाइदियो । जारको टाउको र शरीर भुँइमा ढल्यो भने रगतको सिर्कोचाहिँ साखेवाथानमा पुग्यो ।
त्यति हुनासाथ ठूलो आँधीहुरी र बतास चल्यो । एकैछिनमा त्यहाँको पोखरी पनि फुट्यो र पहिरो गयो । त्यो वाछकको बोट पनि ढल्यो । त्यसपछि पिखुवाखोला पनि गहिरिएर तेर्सो एकनासले बग्न थाल्यो । यही समयदेखि साखेवाले त्यो ठाउँलाई छाडे । यसरी रिमचिमको साखेवा रिसाएर ठाउँ छोडी जाँदा पिखुवाखोला पनि तेर्सो बगेको हो । यो खोलाले आसपासका जमिनमा सिँचाइ गर्न नमिलेको किराती, बूढापाकाहरू सुनाउँछन् ।

(नोट : किरात समुदायमा जारले आक्रमण गर्दा वा जार देख्नासाथ सात कान्ला भागेपछि दोष हट्छ वा जारले हान्न (काट्न) पाउँदैन भन्ने मान्यता रहेको थियो ।)

प्रतिक्रिया दिनुहोस्