मकै महिमा : खाए मकै, नखाए भोकै


घुन, पतलीले नखाओस् नकुहियोस भनी खोटाङको खोटेहाङ गाउँपालिकास्थित सिम्पानीमा भण्डारण गरेर राखिएको मकै ।

पोखरा (कास्की) । मुलुकमा ठुल्ठूला परिवर्तन भए पनि कालीगण्डकी नदीकिनारमा रहेको कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वर भूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीयको अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् ।

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनुका साथै वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्तौंदेखिको दैनिकी अहिले पनि कायमै छ । ‘बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सकेमात्र भात खाने हो,’ गड्यौलीटारकी चन्द्रकुमारी कुमालले सुनाइन्, ‘नत्र यही उब्जने मास, भटमास, बोडीको दाल र मकैको ढिँडो खाने गरेका छौं ।’

गाउँमा विद्युत् छैन । ‘डिजेलबाट चल्ने कलमा कुट्दा महँगो पर्ने भएकाले परम्परागत कुटानी पिसानी गर्ने जाँतो र ढिकी प्रयोग गर्दै आएको र सिँचाइ अभावमा आकाशेपानीको भरमा खेती गर्दै आएका छौं,’ कुमालले सुनाइन्, ‘बालबालिका, युवा तथा वृद्ध जुनसुकै उमेरका हुन्, यहाँका सबैको मुख्य आहारा भनेकै मकै नै हो । विकल्प छैन । ‘खाए मकै, नखाए भोकै ।’ यहाँका गाईबस्तुलाई समेत मकैकै कँुडो बनाएर दिने गरिन्छ ।’

वैशाखको पहिलो हप्ता बारीमा लगाएको मकै साउनमा पाक्ने नयाँटारका भीमबहादुर कुमाल बताउँछन् । मकै पाकेर भाँचेपछि भदौको पहिलो हप्तामा मास, बोडीको बीउ, भटमास र फेरि मकै बारीभित्रै छर्ने कुमालको भनाइ छ । यहाँका प्रत्येक घरको आँगनमा भण्डारण गरेको मकैको सुली बाह्रै महिना देख्न पाइन्छ । उनका अनुसार गाउँपालिका–१ खुङलिङटार, जगौलीटार–४ को गड्यौलीटार र नयाँटारमा ५५० घर कुमाल परिवारका साथै आसपासका करुवाटार, पीपलटार, रूपाटार र पट्टाटारका अधिकांशको खाद्यान्नको मुख्य आधार मकै नै हो ।

उत्पादनका हिसाबले गाउँपालिकामा अन्न भण्डारका रूपमा रहेका अधिकांश फाँटमा सिँचाइ व्यवस्था गर्न सके खाद्यान्न र तरकारीमा जिल्ला आत्मनिर्भर हुनेछ । फाँटमा सिँचाइ व्यवस्था हुने हो भने कृषिबाट स्वरोजगार सिर्जना हुने भएकाले युवाशक्ति बिदेसिनु नपर्ने स्थानीयको भनाइ छ ।

आफूले लगाएको २५ रोपनी जग्गामा मकै राम्रो उत्पादन भएको र सो जग्गामा लगाएको मास बिक्रीबाट यस वर्ष ६ लाख आम्दानी गर्ने लक्ष्य रहेको गड्यौलीटारका कृषक धनबहादुर कुमालले बताए ।

प्रतिक्रिया दिनुहोस्