मलेसियाबाट फर्केर कागती खेतीमा रमाउँदै रुकुमका खड्का



बिजौरी (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा एक युवाले व्यावसायिक कागती खेती थालेका छन् । रुकुम खारा स्थायी घर भई बिजौरी बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती थालेका हुन् ।

वार्षिक ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय थालेका खड्कालाई सुरु–सुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले स्थानीय कागती किन्न र हेर्न आउन थालेका छन् ।

दुई वर्ष पहिले लगाएको कागतीले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्वीन्टल कागती प्रतिकेजी १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिए । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् । गाउँघरमै सानोलाई प्रतिगोटा १० र ठूलोलाई १५ दरले बिक्री भइरहेको छ ।

घरपरिवारका पाँचजनाले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार÷पाँच कामदार लगाउनुपर्छ ।
कागतीको बिरुवा भारतबाट प्रतिबोट २५० मा किनेर ल्याएका खड्काले आफूले लगाएको कागतीको प्रजाति थाहा नभएको बताउँछन् । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरक–फरक नाम भन्ने गरेको उनले बताए ।

रोजगारीका लागि दुईपटक मलेसिया र एकपटक अफगानिस्तान पुगेर फर्केपछि उनले व्यवसाय थालेका हुन् । ६ वर्ष विदेश बसेर कमाएको पैसा लगानी गरेर व्यवसाय थालेका उनले कागती व्यवसायमा ७५ लाख लगानी गरेका छन् ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म रोजेको उनले सुनाए । उनले दाबी गरे, ‘नेपाली बजारमा सधैं प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ ।

बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन सुरु भएपछि उनले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन सुरु गरेका छन् । कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैंसी र बाख्रासमेत पालेका छन् ।

व्यवसाय सुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । ‘बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा–जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ,’ उनले भने । कृषिबाट मानिस पलायन भएर अन्य पेसा अपनाइरहेका समयमा उनले गरेको कृषिले सबैको मन लोभ्याएको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषिमा आकर्षण बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्