ओप–एड पेजको थालनी, लेख्ने तरिका


पत्रपत्रिकामा सम्पादकीय छापिन्छ । कुनै पत्रपत्रिकाले एक त कुनैले दुईवटा सम्पादकीय प्रकाशित गर्छन् । सम्पादकीय भनेको सम्बन्धित पत्रपत्रिकाको विचार वा दृष्टिकोण हो । सम्पादकीय प्रकाशित भएको पृष्ठमा अन्य समसामयिक लेख–रचना पनि प्रकाशित भएका हुन्छन् । यस पृष्ठलाई ओप–एड पृष्ठ भनिन्छ । ओप–एडको अर्थ हो– अपोजिट टु एडिटोरियल ।

आधुनिक पत्रकारिता सुरु हुँदा सम्पादकीय लेख्ने चलन थिएन । सन् १७०४ मा सर्वप्रथम लन्डनबाट प्रकाशित हुने द रिभ्युमा ओप–एड पृष्ठ राख्ने चलन चलेको हो । यसको श्रेय डानियल डेफोईलाई जान्छ ।

यसैगरी सम्पादकीय भनेर छुट्टै स्तम्भ राख्ने चलन नोए वेब्सटरले सुरु गरे । उनले एस्ट हेडमाथि सम्पादकीय छापेका थिए ।
अखबारले नियमित रूपमा प्रकाशित गर्ने औपचारिक भनाइ वा लेखलाई सम्पादकीय भनिन्छ । सार्वजनिक महत्वको सन्देशलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्नका लागि सम्पादकीय छापिन्छ । भनिन्छ– शिक्षित मानिसले सर्वप्रथम अखबार वा पत्रिकामा सम्पादकीय पढ्ने गर्छन् । सम्पादकीय कम पढिने भए पनि यसको प्रभाव अन्य सामाग्रीकोभन्दा बढी हुन्छ ।

सम्पादकीय भन्नाले सम्बन्धित पत्रिकाका सम्पादकले आफ्नो पत्रिकाको तर्फबाट कुनै विषयमाथि विश्लेषण गर्दै उपयुक्त सुझाव दिनेगरी लेखिने एक नियमित लेखन हो । सम्पादकीयलाई पत्रिकाको आधिकारिक अभिव्यक्ति मानिन्छ ।

सम्पादकीयको भाषा स्तरीय र विश्लेषणात्मक हुनुपर्छ । सम्पादकीयका लागि सधै एक निश्चित स्थान तोकिएको हुन्छ । कुनै पत्रिकाले सप्ताहान्तका दिन सम्पादकीय नलेख्ने पनि गरेका छन् । सामान्यतः सम्पादकीय दुई सय ५० देखि तीन सय शब्दमा लेखिन्छ ।

सम्पादकीय लेख्नका लागि एउटा समूह नै परिचालन गरिएको हुन्छ । सम्पादकीयको पहिलो अनुच्छेदमा विषय प्रवेश, दोस्रो अनुच्छेदमा विषय विश्लेषण र तर्क र तेस्रो अनुच्छेदमा निष्कर्ष र सुझाव प्रस्तुत गरिन्छ । सम्पादकीयले महत्वपूर्ण विषयमा मार्गनिर्देशनसमेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्