गोरखा । गोरखामा रहेको मनकामना मन्दिर दर्शन गरेर फर्कनेक्रममा एक भक्तालु केबलकार छिर्नुअघि नै ढोका बन्द भयो । ढोका बन्द भएपछि केबलकारको डब्बा अगाडि बढ्यो । तर, ती भक्तालु न भित्र छिर्न सके न फर्कन ।
यो संवत् २०६५ सालको कुरा हो । तस्बिरमा केबलकारबाहिर झुन्डिइरहेका भक्तालुको देब्रे खुट्टा केबलकार डब्बाको ढोकाले च्यापेको छ भने दाहिने खुट्टाले टेक्ने ठाउँ पाएको छैन । तस्बिरमा देखिएअनुसार भक्तालुले न्वारानदेखिको बल लगाएर ज्यान जोगाउन दुई हातले केबलकार ढोकामाथि समातिरहेको देखिन्छ ।
०५५ मंसिर ८ देखि सञ्चालनमा आएको केबलकारको यो चरम लापरबाही हो । मनकामना दर्शन प्रालिअनुसार केबलकारमा दैनिक तीन हजारले यात्रा गर्छन् । तीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय पर्यटक रहेको बताइन्छ ।