खीर खान नमान्ने विद्यार्थी



चितवन । चाडबाडमा मीठोचोखो खानु त परको कुरा अन्नबालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्छन् । बिहान र बेलुकाको छाक टार्न उनीहरूले निकै संघर्ष गर्नुपर्ने बाध्यता छ ।

जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत परिचालन गरिन्छन् । स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूल खोजीमा जान्छन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजा व्यवस्था गर्दै आएको छ । यसले गर्दा खाजाको लोभले विद्यार्थी बीचैमा कक्षा छाड्दैनन् ।

दिवा खाजामा विविधता दिन समय–समयमा खीरसमेत बनाइन्छ । चेपाङ बालबालिकाले खीर भने खान मान्दैनन् । कालिका आधारभूत विद्यालय निबुवाटार सिद्धिका प्रधानाध्यापक जितबहादुर भट्टराई दिवा खाजामा खीर र जाउलो खान विद्यार्थीले रुचि नदेखाएको बताउँछन् ।
प्रधानाध्यापक भट्टराईका अनुसार विद्यालयमा भर्ना भएका विद्यार्थी १७४ जना छन् । नियमित विद्यालय हाजिर हुने विद्यार्थीको संख्या १४० रहेको छ । उनले भने, ‘घरमा खीरको स्वाद नलिएकाले विद्यालयमा पनि खान मान्दैनन् ।’ खीर नचिनेकै कारण विद्यार्थीले नखाने गरेको उनको भनाइ छ ।

कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर गुरुङ विद्यार्थीले जाउलो र खीर खाजाका रूपमा दिँदा खासै चाख नदिएपछि त्यसको ठाउँमा मौसमअनुसारको फलफूल, दूध र चिउरा राखिएको बताउँछन् ।

कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले परिवारमा खीर खाने परिपाटी नहुँदा विद्यार्थीलाई दिवा खाजामा खीर खुवाउन नसकिएको बताउँछनु । यहाँ रहेका ३५ वटा विद्यालयमा १ हजार ७७८ चेपाङ समुदायका विद्यार्थीलाई खाजा खुवाइन्छ ।
नगरपालिकाले अहिले ती विद्यालयमा अध्ययन गर्ने ४ हजार ६५९ विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । दिवा खाजामा उनीहरूलाई स्थानीय उत्पादनलाई जोड दिन भनिएको छ ।

विद्यालयले खाजामा खीर, चना, अण्डा, तरकारी चिउरा, हलुवा, मासु चिउरा, जाउलोलगायतका परिकार खुवाउने गरेका छन् । विद्यार्थीले दिवा खाजामा स्थानीय रूपमा उत्पादित तरकारी र चिउरा, चना, केराउको तरकारी र चिउरा, चना र अण्डा बढी रुचाउने गरेको उनले जानकारी गराए ।

खाजा मीठो हुँदा विद्यार्थी आउने र नमीठो हुँदा कम हुने गरेपछि विद्यार्थीलाई खाजा खाने समयमा मात्र जानकारी दिइने गरेको उनले बताए । कतिपय खाजा खानकै लागि मात्र भए पनि आउन थालेपछि विद्यार्थीलाई विद्यालय आउने बानी बसेको उनले सुनाए । पुसदेखि असारसम्म दिवा खाजाका लागि नगरपालिकाले ८७ लाख २१ हजार बजेट विनियोजन गरेको थियो । खाजाका लागि नगरपालिकाले परिकारसमेत तोकेको उनले बताए । भने, ‘खाजा के खुवाउने भन्ने विषयमा हामीले तोकेका छौं । सोहीअनुसार विद्यालयले खुवाउँछन् ।’

जिल्लाको कालिका नगरपालिकासँगै राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि चेपाङ समुदायको बसोवास रहेको छ । ग्रामीण क्षेत्रमा उब्जनी कम हुने भएकाले धेरैको परिवारमा आफ्नो उत्पादनले ६ महिना पनि धान्दैन । मेलापात र कन्दमूलले परिवार पाल्नुपर्ने बाध्यता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्