गोर्खाली गिरीको गतिलो गतिविधि



काँडेतारले घेरिएको क्षेत्रभित्र एउटा सुन्दर भवन । अनि भर्खरेै तोतेबोली बोल्दै गरेका स–साना बालबालिका । चुकुल लगाइएको भवनभित्र उनीहरू आ–आफ्नै तालमा छन् । जोकोहीलाई भित्र पस्न मनाही गरिएको त्यस भवनमा पटक—पटकको आग्रहपछि एउटी महिलाले मुस्कानसहित ताला खोलिन् । बालबालिकाले एक स्वरमा नमस्कार गरे ।

इन्द्रेणी शिवालय बालविकास केन्द्र, दमेकको कक्षा कोठाको दृश्य हो, यो । उक्त केन्द्रको बालबालिकालाई सिकाउने प्रक्रिया प्रभावकारी र रमाइलो लाग्ने खालको छ ।

पढाइमात्रै होइन, सानै उमेरदेखि उनीहरूलाई अनुशासन पनि सिकाइँदै छ । आपसमा राम्ररी मिलेर बस्ने गरेका ती उनीहरूलाई अरूसँग झगडा नगरी मिलेर बस्नुपर्छ र असल मान्छे बन्नुपर्छ भन्ने राम्ररी हेक्का गराइएको छ ।

बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र व्यवस्थित शिक्षण प्रदान उद्देश्यले ब्रिटिस सेनामा कार्यरत सार्जन्ट गिरीबहादुर बहिकको पहलमा उक्त बालविकास केन्द्र स्थापना गरिएको हो । बहिकको पहलमा १४ लाख रुपैयाँ संकलन गरी उक्त केन्द्रको भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि बहिकले पाँच लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए भने कालापातल गाउँबेंसी, क्रेन ट्रस्ट र पहार ट्रस्ट नेपालले सहयोग गरेका हुन् । त्यस्तै, ह्यारी विन्डसर/मारियन विन्डसर, क्याथरिन सर्ले/आयन देभी, ट्रिक्स देभी÷कारोल देभीलगायतको पनि सहयोग रहेको बताइन्छ ।

केन्द्रमा भण्डार कोठाको साथै नुहाउने कोठा र शौचालयसमेत व्यवस्थित तरिकाले बनाइएको छ । पारिवारिक वातावरणमा बालबालिकालाई सिकाइ गरिन्छ ।

शिवालय विद्यालयका प्रधानध्यापक प्रेमबहादुर छन्त्याल उक्त केन्द्रको स्थापनाले बालबालिकालाई पढाउन महत्वपूर्ण सहयोग पुगेको बताउँछन् । केन्द्रमा आधारभूत शिक्षा पाएपछि विद्यालयमा भर्ना गरिने उनी बताउँछन् ।

केन्द्र निर्माण हुनुअघि बालबालिकालाई सिधै विद्यालय लगाइन्थ्यो । जसकारण बालबालिकालाई पढाउन समस्या हुन्थ्यो । केन्द्रलाई समुदायद्वारा सञ्चालन गरिएको छ । भवन निर्माण हुनुअघि केही समय बाललालिकालाई सामुदायिक भवनमा पढाउने गरिएकोमा आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि पढाउन निकै सहज भएको केन्द्रकी सहजकर्ता खगी बहिक बताउँछन् ।

मोटरबाटो नपुगेको उक्त गाउँमा केन्द्रको भवन बनाउन आवश्यक ढुंगा, गिटी, बालुवा, रड, कर्कटपाता आदि स्थानीयको सहयोगमा लगिएको थियो । ‘गाँउमा विद्यालय जान बालबालिकालाई धेरै समस्या थियो । भाइले गाँउमै बालविकास केन्द्र निर्माण गर्ने सल्लाह माग्यो । हामीले सजिलै स्वीकारी सहयोग ग¥यौं,’ बहिकका दाइ गंगबहादुरले भने ।

अरूको भलाइका लागि काम गर्दा आनन्दको अनुभूति गर्ने मानिस कमै हुन्छन् । आफू विदेशी नोकरीमा भए पनि आफ्नो गाउँका लागि बहिकले गरेको योगदान वास्तवमै स्वागतयोग्य र सराहनीय भएको स्थानीय सुरेश पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्