प्रदेशसभा सदस्य राजन राईले सबैभन्दा धेरै प्रेमगीत कम्युनिस्टले गाउनुपर्ने जिकिर गरेका छन् । गीतकारसमेत रहेका प्रदेशसभा सदस्य राईले सबैभन्दा धेरै प्रेमगीत कम्युनिस्ट नै लेख्नुपर्ने समेत सुझाएका छन् ।
‘तर,’ उनले थपे, ‘प्रेमगीत शिष्ट र मर्यादित हुनुपर्छ । उत्ताउलो हुनुहुँदैन ।’
‘प्रेम गरेर बिहे गर्न हुन्छ,’ उनको भनाइ छ, ‘तर, प्रेमगीत लेख्न हुँदैन, गाउन हुँदैन भनियो भने त्यो प्रगतिशील हुँदैन ।’
किन ?
‘आफ्नो व्यवहारमा प्रयोग गरिराखेको शब्दमा लेख्नुहुँदैन भनियो भने मान्य हुन्छ त ?,’ उनले प्रस्ट पारे, ‘मैले यो प्रतिप्रश्न गरिरहँदा गीत प्रेमिल भए पनि मर्यादित र शिष्ट हुनुपर्छ । विभेदरहित हुनुपर्छ । अर्थात्, मैले भनेको दायराभित्र गीत हुनुपर्छ ।’
संसार त मायाले जित्ने हो नि । ‘संसार मायाले मात्रै जितिन्छ । बन्दुकले होइन,’ उनको बुझाइ छ, ‘दुई/चार दिन त तर्साएर पनि जितिएला । तर, त्यो दीर्घकालीन हुँदैन । तसर्थ, मायाका साहित्य लेखिनुपर्छ । गीत लेखिनुपर्छ । मायाको गीत गाइनुपर्छ ।’
प्रदेश १ का प्रदेशसभा सदस्य राजन राईले ६ दर्जनजति गीत लेखिसकेका छन् । नेपाली साहित्य पढेका प्रदेशसभा सदस्य राईका दुई दर्जन बढी गीत रेकर्ड भएका छन् ।
‘किनकिन’, ‘ऐठन’, ‘अक्षर र आवाज’ नामक तीन सोलो गीतिएल्बम सार्वजनिक गरिसकेका नेकपा एकीकृत समाजवादी पोलिटव्युरो सदस्यसमेत रहेका नेता राईको ‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन, फक्रने र ओइलाउने टुंगो हुँदैन’ शीर्षाकृत गीत सर्वाधिक चर्चामा रहेको छ ।
‘गीत रेकर्डलगत्तै स्टुडियोबाट सारेर लगें,’ गायिका अञ्जु पन्तले प्रतिक्रिया दिइन्, ‘दिदीसँग पचासौंपटक सुनें । गीत सुनिसकेपछि हामी धुरुधुरु रोएका थियौं ।’