रातमाटे (दुर्छिम) । फुपुकी छोरीलाई दुव्र्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटे गैराटोल खोटाङका रुद्रबहादुर राई पक्राउ परेका छन् । प्रहरी चौकी हलेसी तुवाचुङका असई छत्रबहादुर कटवालले अभियुक्त राईलाई सोमबार साँझ घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय हलेसीमा बुझाएका थिए ।
पीडित महिलाले ठाडो निवेदन दिएपछि अभियुक्त राईलाई सोधपुछका लागि २४ घन्टा राखिने इलाका प्रहरी कार्यालय हलेसी प्रमुख दिनेश खरेलले जानकारी गराए । इलाका प्रहरी कार्यालय हलेसी प्रमुख खरेलका अनुसार पीडितको निवेदनका आधारमा अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढ्नेछ ।
गाउँमा सुब्बा भनेर चिनिने रुद्रबहादुर राईले सहोदर फुपूकी छोरीमात्रै होइन, गाउँका महिलालाई बारम्बार दुव्र्यवहार गर्दै आएको नाम उल्लेख नगर्ने सर्तमा स्थानीयले बताए । श्रीमान्को कुकृत्यबारे गाउँलेले थाहा पाएपछि अभियुक्तकी श्रीमती आजित भएर उदयपुरको गाईघाट बस्दै आएकी छन् ।