कुनै बेला बन्दुक बोकेका पूर्वनेकपा माओवादीका नेता एवम् पूर्वमन्त्री लोकेन्द्र विष्टमगरका हातमा हिजोआजले बिहानदेखि बेलुकासम्म कुटो, कोदालो देखिन्छन् । ५६ वर्षीय विष्टमगर चार वर्षदेखि कृषिमा रमाइरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उनले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दंग पर्छन् । माटोमै रातदिन टहलिरहने विष्टले वर्षौंदेखि खाली र उजाड जमिन हरियाली बनाउँदै छन् ।
जिल्लामै पहिलोपटक भित्रिएको ड्रागन खेतीले छोटो समयमै उनलाई सफल किसानका रूपमा स्थापित गरेको छ । उनको ड्रागनबारी तुलसीपुर घोराही सडकखण्डमा पर्छ । त्यसैले तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दूरीका यातायात साधनबाट यात्रा गर्ने हुन् वा निजी मोटर, कार तथा मोटरसाइकलमा यात्रा गर्नेले समेत यातायात साधन रोकेरै ‘पूर्वमन्त्रीले गरेको खेती’ हेर्ने गरेका छन् ।
पूर्वमाओवादी नेता विष्टको राजनीतिक यात्रा चार दशकपछि विराम लागेको छ । यतिखेर उनको पहिचान पनि किसान बनेको छ । विष्टले सांसदमात्रै होइन, दुईपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
पूर्वमन्त्रीले यहाँको ५६ कठ्ठा जमिन भाडामा लिएर ड्रागन खेती थालेका हुन् । सेतो र रातो जातका सात हजार बिरुवा लगाएका छन् । निकै फस्टाएका ती बिरुवाले आगामी साउनबाट फल दिन थाल्ने उनले जानकारी गराए ।
भियतनामबाट ल्याएर बिरुवा रोपेको बताउने विष्टले जिल्लावासीलाई भियतनामबाटै फलसमेत ल्याएर चखाइसकेका छन् । केही समयपहिले आयोजित तुलसीपुर महोत्सवमा उनले सो फल तथा बिरुवाबारे आमनागरिकलाई जानकारीका लागि स्टल राखेका थिए । त्यस फल र यसको खेतीबारे सोधपुछ गर्नेलाई उनले विस्तृत जानकारी गराएका थिए ।
स्थानीय बजारमा यो फल प्रतिकेजी ७ सय ५० देखि १ हजार ५०० रुपैयाँमा बिक्री हुने गर्छ । ड्रागन सिउँडी जातको फल हो । नेपालमै उत्पादन सुरु भएको यो फल ठूला होटलहरूमा डेजट (खानापछिको फलफूल)का रूपमा प्रयोग गरिन्छ । यसबाट फेसवास, वाइन, जाम, चक्लेट, बिस्कुट र पाउडर बनाउन सकिने उनले बताए । उनका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा पाँचदेखि सातपटकसम्म फल्ने गर्छ । रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर चिनिन्छ ।
यसको बकोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल, त्यसमाथि मोटरसाइकलका पुराना टायर राखिन्छ । यसको खेती तराईदेखि भित्रीमधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ । यो फल विदेशबाट ९५ प्रतिशत नेपाल ल्याउने गरिन्छ । उनीसहित तीनजनाले एक करोड लगानीमा यसको खेती थालिएको हो ।
मन्त्री विष्टले यस खेतीबाट फाइदा देखेका छन् । भन्छन्, ‘करिब १५ वर्षमा जनही चार करोड रुपैयाँ फाइदा बाँड्न सक्ने अवस्थामा पुग्ने हाम्रो लक्ष्य छ ।’ आफू राजनीतिमा नफर्कने उनले दाबी गरे ।
किसानका रूपमा व्यवसाय थालेकाले बाँकी जीवन कृषिकर्ममै बिताउने उनले बताए । राजनीति छोड्नुका कारण राजनीतिमा फोहोरी खेल बढेको, षड्यन्त्र मौलाएको र राजनीति महँगो हुँदै गएको उनले टिप्पणी गरे । उनले पछिल्लो समय राजनीतिमा अपराध हुन थालेकोसमेत बताए ।
नेपालमै कृषिकर्ममा राम्रो सम्भावना देखेको पूर्वमन्त्री विष्टको भनाइ छ । त्यसमा पनि ड्रागन खेती नेपालजस्तो देशका लागि कमाइ हुने खेती भएको उनको ठम्याइ छ । यस्तो महँगो फल खेती गरी विदेश निर्यात गर्न सकेमा देशको गरिबी कम गर्न ठूलो सहयोग पुग्ने उनको जिकिर छ ।
ड्रागन खेती भित्री तराई–मधेसमा उपयुक्त हुन्छ । अहिले रोपेको बिरुवाले २०/२५ वर्षसम्म फल दिन्छ । एक बोटमा ३ देखि ५ किलोसम्म फल लाग्छ । एक मौसममा करिब ५० क्वीन्टलसम्म फल्छ । यो फल १८ वर्षअघि नेपाल भित्रिएको जानकारी दिँदै उनले विश्वका कैयौं देशमा यसको माग बढी मात्रामा रहने गरेको अनुभव सुनाए । ‘अहिले संसार ड्रागन फ्रुटमय भएको छ,’ उनी भन्छन्, ‘यसमा विभिन्न रोगसँग लड्न सक्ने तत्व पाइने भएकाले पनि संसारमा यसको महत्व बढ्दै गएको हो ।
नेपालमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्न ठूला कृषि फर्म सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । ‘कृषि आफैंमा पर्यटकीय गन्तव्य भएकाले नेपालका बाँझो जमिनमा नयाँ–नयाँ खेती गर्न सके उत्पादकत्व बढ्नेमात्र नभएर, पर्यटकीय गन्तव्य विकास हुने उनको बुझाइ छ ।
धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउने उनले नेपालमा खेती एवम् कृषिकर्म गर्ने किसानलाई सरकारले विनाधितो सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताए । सरकारले विनाधितो ऋण प्रवाह गर्न सके सानोतिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै पर्दैनथ्यो । देशको अर्थतन्त्र मजबुत बनाउन सरकारले कृषि कर्मलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।