अनुहारले व्यक्तित्व झल्काउँछ । अनुहार सुन्दर छ भने सम्बन्धित व्यक्तिको आत्मविश्वास बढ्छ । आफू सुन्दर देखिन मानिसको पहिलो रोजाइमा पर्छ । हिजोआज सहर–बजार होस् या गाउँघरका मानिस । मानिस सुन्दरताप्रति त्यत्तिकै सजक र सचेत छन् । सुन्दर देखिन भद्दा मेकअप गर्न आवश्यक छैन । सामान्य र आफूलाई सुहाउँदो मेकअपले पनि उसको सौन्दर्यमा निखार ल्याउँछ ।
मेकअप गर्दा आफ्नो ‘स्किन टोन’अनुसारको ‘व्युटी प्रडक्ट’ छनोट गर्न अति आवश्यक छ । अनुहारको समस्याका रूपमा देखिने ‘पिम्पल’ अथवा डन्डिफोर पनि एक हो । यसको समाधानार्थ घरेलु उपाय यस्ता छन् ।
ताजा फलफूल र हरियो सागसब्जी दिनहुँजसो खाने ।
दैनिक नियमित हल्का व्यायाम गर्ने ।
कम्तीमा दैनिक आठ/दस गिलास पानी पिउने ।
सकेसम्म चिन्ता नलिने ।
धेरै गुलियो, चिल्लो तथा मसलेदार खानेकुरा नखाने ।
आफ्नो छालाको सरसफाइ तथा स्याहार गर्ने ।
अनुहारमा आउने चिल्लोपन रोक्न कोसिस गर्ने ।
अनुहारको छिद्र बन्द गर्न ‘प्याक’ र ‘टोनर’ प्रयोग गर्ने ।
समयअनुसार मेकअप गर्न जरुरी हुन्छ ।
गर्मी मौसमको मेकअप
गर्मी मौसममा धेरै पसिना आउने भएकाले मेकअप गर्दा सचेत हुनुपर्छ । गर्मीमा यात्रामा निस्कँदा आफ्नो छाला र मेकअपलाई घाम तथा धूलोबाट जोगाउन सावधानी अपनाउन जरुरी हुन्छ । त्यसका लागि अनुहारमा सनक्रिम लोसन प्रयोग गर्नुपर्छ । यसले छालालार्ई सूर्यको किरणबाट बचाउँछ । गर्मीमा सकेसम्म बाटरप्रुफ मेकअप गर्दा प्रभावकारी हुन्छ । यो चाँडै बिग्रँदैन । लामो समयसम्म टिकिरहन्छ । प्रचण्ड घाममा बाहिर निस्कनु छ भने स्कार्फले टाउको छोप्नुपर्छ । छाता पनि प्रयोग गर्न सकिन्छ । आँखालाई धूलोबाट जोगाउन चस्मासमेत लगाउन सकिन्छ ।
जाडो मौसमको मेकअप
जाडो मौसममा छालाको हेरचाह गर्न अत्यन्त आवश्यक हुन्छ । जाडोमा ‘ओयल बेस्ड मोस्चराइजर’ प्रयोग गर्नुपर्छ । यसले छालालाई कुनै पनि क्रिम वा लोसन लगाउँदाभन्दा बढी नरम बनाउँछ । जाडोमा चिसो हावा चल्नाले छालामा चिल्लो पदार्थ कम हुन्छ । जसले छालामा सुख्खापन हुन्छ । त्यसबेला मनतातो पानीले अनुहार धोएर मोइस्चराइजरयुक्त क्रिम प्रयोग गर्नुपर्छ ।