क्यानभासमा कारुणिक कथा



नाम्चे (सोलुखुम्बु) । नाम्चेबाट पूर्वतिर हेर्दा थामसेर्कु, कुसुमकंगारू, आमडब्लम र विश्वकै छानो मानिने सगरमाथा आँखै अगाडि देखिन्छन् । पश्चिमपट्टि हेरेमा थक्सेर्मु र फरिलाप्का देखिन्छन् । उत्तरतिर हेर्दा खुम्बिला र तबुचे पिक भने दक्षिणमा कोङ्दे हिमालको मनोमोहक दृश्य लोभलाग्दो देखिन्छन् ।

लोभलाग्दो ठाउँमा बसेर लोभलाग्दा दृश्यलाई रङ र कुचीको माध्यमबाट क्यानभासमा उतारिरहेका हुन्थे– भक्तबहादुर राई । राईले एभरेष्ट आर्ट ग्यालरी स्थापना गरेर खुम्बुका दृश्य क्यानभासमा उतार्थे । नाम्चेमा बसेर पाँच सयभन्दा धेरै चित्र कोरिसकेको उनले सुनाए । उनका चित्रकलामा खुम्बुका हिमशृंखला, पहाड, गाउँघर, स्थानीयका ग्रामीण जीवनशैली, कला, संस्कृति र सांस्कृतिक सौन्दर्य प्रस्टै देखिन्थ्यो । विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको तेङ्बोचे गुम्बा र पर्यटक भरियाका कारुणिक जिन्दगीमात्रै होइन, खुम्बुको ग्रामीण जनजीवनको यथार्थता पनि बोलेका हुन्थे ।

एभरेष्ट ग्यालरीमा भेटिएका अमेरिकी नागरिक भिक गौलेटको भनाइ थियो, ‘खुम्बु क्षेत्रको यथार्थता बुझ्न एभरेष्ट आर्ट ग्यालरीको चित्रकला हेरे काफी हुन्छ ।’ गौलेटजस्ता चित्रकलापारखी राईका असली ग्राहक पनि हुन् । ‘नाम्चेको मौसम गडबड हुनासाथ विदेशी पर्यटक समय सदुपयोग गर्न एभरेष्ट आर्ट ग्यालरी छिर्छन्,’ उनले थपे, ‘चित्रकलामै भए पनि खुम्बुको दृश्य हेरेर उनीहरू पुलकित हुन्छन् ।’

‘रङ र कुचीसँग खेल्न सुरु गरेदेखि पर्यटकीय स्थलमा बसेर चित्र कोर्न थालेको हुँ,’ उनले जानकारी गराए, ‘अहिलेसम्म पोखराको बीरेठाँटी, चितवनको सौराहा, मुस्ताङको जोमसोममा बसेर त्यहाँको दृश्य क्यानभास उतारिसकेको छु ।’

नेपालका विभिन्न पर्यटकीय स्थलमा बसेर त्यहाँको दृश्य क्यानभासमा उतारिसकेका भक्तबहादुर राईले चित्रकलासम्बन्धी औपचारिक शिक्षा लिएका छैनन् । सोलुखुम्बुको जुभिङ दिदमवासी राईले विद्यालय तह अध्ययन गर्दादेखि नै चित्रकलामोह भएको बताए । त्यही मोहले निरन्तरता पाइरहेको छ कि छैन होला ? नाम्चेको चिसो सिरेटोमा बसेर चित्र कोरिरहेका छन् कि छैनन् होला नि ? बाल्यकालदेखिको चित्रकलामोह व्यवसाय बनेको सुनाउने उनी हिजोआज नाम्चेमा भेटिएलान् कि नभेटिएलान् ? थाहा पाउन नाम्चे पुग्नैपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्