जताततै मखमली, सयपत्री र गोदावरी फुलेका । देउसी र भैली गीतमा रमाइरहेकाको ‘क्याराभान’ । तिहारको रमझमले हामीलाई पनि नछोएको होइन । हामीसँग पनि भावना जीवितै थियो । भएका भावना छचल्किने नै भयो । भावनाको छाल विचारमा परिणत गर्नुपर्ने बाध्यता थियो । दिदीबहिनी, सप्तरंगी टीका र फूलमालाको सम्झनाले निथ्रुक्कै रुझायो । महान् यात्रामा सरिक हामीलाई दसैं–तिहारले बाँधिराख्न सकेन ।
सयपत्री र मखमलीरूपी सुन्दर फूलबारीमा पसेर कुरूप बनाउन साँढेहरू उद्यत थिए । तसर्थ, कतिपय दिदीबहिनीले दाजुभाइ र दाजुभाइले दिदीबहिनी गुमाए । दर्दनाक र हृदयविदारक घटना सम्झेर मन बुझाउनु त छँदै थियो । तिहारका रमझमलाई सहायक ठानेर मोर्चाबन्दीको तयारीमा थियौं । हाम्रो गलामा मखमली, सयपत्री र गोदावरी होइन, गोलीको माला सजिएको थियो । निधारमा सप्तरंगी टीकाको सट्टा सहिदको रगत र बारुदको टीका लगाएका थियौं । हामी नयाँ–नयाँ मोर्चामा लामबद्ध थियौं । तर, हाम्रो स्पेसल टास्क फोर्स (एसटीएफ)ले ठूलो मोर्चा खोल्न सकेको थिएन । जरायोटार मोर्चा खोले पनि घाइते सिंहझैं भएका थियौं । जरायोटार मोर्चा सफल पारेको भए हाम्रो सैन्य फर्मेसन गुणात्मक रूपमा विस्तार भइसक्थ्यो । केही कदम पछि परे पनि त्यही मोर्चालाई शानदार रूपमा विजय गराउन फौजी संरचना गुणात्मक रूपले विस्तार गर्नुपर्ने थियो । त्यही योजना र उद्देश्यसाथ सम्पूर्ण तयारी पूरा भएपछि ब्याटल फर्मेसनमा लामबद्ध भयौं ।
होल कारबाहीका कमान्डर तथा होल कारबाहीका कमिसार कमरेड सन्तु दराई ‘परवाना’ र क. ध्रुव पराजुली ‘सन्तोष’ले ब्याटल मोर्चाको दूरगामी महत्वबारे प्रस्ट पारे । अन्तिम निर्देशन दिए । निर्देशनपछि दृढतापूर्वक योजना सफल पार्ने प्रतिबद्धतासाथ अघि बढ्यौं । रगतको कोटा चुक्ता गरेरै भए पनि मोर्चा सफल पार्नुपर्छ भन्ने निष्कर्ष निकालेका थियौं । शरद ऋतु । भर्खरै घाम घर फर्केको थियो । त्यही समय ब्याटल फर्मेसनमा लामबद्ध थियौं ।
हामीलाई स्वागत गर्न सैलुङडाँडा हतारिँदै थियो । सिरसिरे हावामा कावा खाँदै अघि बढ्यौं । साँझपख दोरम्बातिर ओह्रालियौं । मंसिरे चिसो ओढेर ओह्रालिँदा तल देखिएको दोरम्बाको इलाका प्रहरी चौकी सुनसान देखिन्थ्यो । सबै चौकीबाहिर रहेको उनीहरूकै सेटबाट सुनिरह्यौं । उनीहरूकै सेटमार्फत सबै गतिविधि सुन्न पाउँदा त्यत्तिकै सजिलो भयो । प्रहरी चौकीभित्र कहिले पस्छन् भनेर नियालिरह्यौं ।
चौकीभित्र प्रवेश गरेपछि आक्रमण गर्ने तयारी छँदै थियो । रात छिप्पिँदै जाँदा जाडोले सताइरह्यो । जाडोले मुटुमा बरफको सिरिन्ज रोपिएझैं लाग्थ्यो । कमान्डर कमरेड पदमबहादुर गोले ‘सञ्जीव’ले ट्रिगर दाब्ने औंला न्यानो बनाइराख्नूस् भनेर सुझाइरहन्थे । रातको साढे दुई बज्दै थियो । एचक्युबाट खबर आयो, ‘सबै पुलिस चौकीभित्र पसिसके ।’ फायर खोल्नुपर्छ भन्ने कासनपछि प्रहरी चौकीतिर लाग्यौं ।
आ–आफ्नो एसल्टमा ‘सेटिङ’ भएर आ–आफ्नै आर्कबाट प्रहरीको आँखा छल्दै उसको सेन्ट्रीपोस्ट नजिकै पुग्यौं । प्रहरी हो–हल्ला गरिरहेका थिए । उनीहरूले हामीलाई देखेझैं ऊ… राँडीका छोराहरू आए… ठोक्…ठोक् भनेर कराइरहे । केही प्रहरी रातभर एलर्ट भएकाले सुतिसकेका थिए । ३ः१५ बजेको शुभसाइतमा हाम्रो एसल्टबाट मोर्चाको उद्घाटन फायर खोलियो । हाम्रो आर्क त्यत्तिकै चुनौतीपूर्ण थियो । फोर्टिफिकेसनको हिसाबले हाम्रो आर्क असाध्यै खतरा मानिन्थ्यो । हाम्रो आर्कमा हँसिया–हथौडा आकारको टनेल र मजबुत सेन्ट्रीपोस्ट पनि थियो । तसर्थ, हामीले नै मोर्चाको पहलकदमी लिनुपथ्र्याे । हाम्रो एसल्टले मोर्चाको पहलकदमी लिन सकेन भने लडाइँ हार्न सक्छौं भन्ने एचक्युको विश्लेषण थियो ।
तराईमा रातिको ड्युटी बस्दा सर्प आउँछ होला है भन्दै प्रहरीहरू कुराकानी गरिरहेकै थिए । एकछिन अघिसम्म सुनसान वातावरण छिनभरमै भीषण युद्धमा परिणत भयो । चारैतिरबाट गोली चलिरह्यो । माइन र बम पड्किरहे । हाम्रो एसल्टले आफ्नै आर्कमा रहेको टनेल कब्जा गर्दै विद्युतीय गतिमा चौकीको झ्यालमा ‘कभर’ लियो । फायर गरिरह्यौं । अन्य सबै एसल्टसमेत प्रहरी चौकीको झ्याल र ढोकामा ‘कभर’ लिँदै चौकीभित्र फायर गर्न थाले । भित्र एकै डल्लो परेर प्रहरी बसिरहेका थिए । सेन्ट्रीको एक प्रहरी ढलिसकेका थिए । हामीले फायर तीव्र पारेपछि चौकीका इन्सपेक्टर दिलिप राईले हतियार फालेर आत्मसर्मपण गर्ने कासन गरे । १० मिनेटमै चौकी कब्जा गर्यौं ।
नेकपा (माओवादी) जिन्दावाद, राजतन्त्र मूर्दावाद, वीर सहिदहरू लालसलाम, वीर जनमुक्ति सेना नेपाल जिन्दावाद भनेर नारा घन्कायौं । घाइते प्रहरीलाई उपचार गर्यौं । भएभरका युद्धसामग्री कब्जा गरेर जेनेभा कन्भेन्सनको भरपूर प्रयोग गर्दै इन्स्पेक्टर राईलाई कब्जामा लिएर मोर्चाबाट रिट्रिट भयौं । थ्रीनट थ्री राइफल २१ थान, त्यसको बुलेट ५,००० राउन्ड, टुटु राइफल एक, सटगन दुई थान, संगीन चार थानलगायत युद्धसामग्री कब्जा गरिएको सो मोर्चा तत्कालीन समयमा पूर्वकै ठूलो मानिन्थ्यो ।
सीमित स्रोत–साधनले लडेको मोर्चा उत्तिकै महत्वपूर्ण थियो । मोर्चा लड्ने समयमा हामीसँग फस्र्ट एसल्ट लड्ने योद्धासँग १७ राउन्ड बुलेटमात्रै थियो । अरू एसल्ट र स्टप ग्रुपसँग बुलेट म्याग्जिनमात्रै थियो । तर पनि १० मिनेटमै चौकी कब्जा गर्न सफल भयौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन्, ‘साम्राज्यवादी र प्रतिक्रियावादीसँग लड्ने एकमात्रै महत्वपूर्ण हतियार भनेकै बलिदान हो ।’ त्यही बलिदान र समर्पणभावले मोर्चालाई विजयको माला पहिर्याउन सघायो । सो मोर्चाले हाम्रो सैन्य संरचनालाई उकास्न सघाउ पुर्यायो ।
चौकीबाहिर निस्केर प्रहरीले ‘अलआउट’को ‘ट्याक्टिस’ अपनाए पनि टार्गेटको नजिक पुगेका हामीले धैर्यपूर्वक दुस्मनको गतिविधि नियालिरह्यौं । उनीहरू चौकीभित्र पसेपछि हमला गर्नु नितान्तै नयाँ फौजी ‘ट्याक्टिस’ थियो । जसले इतिहासको संगीन घडीमा फौजी कारबाहीको नयाँ आयाम थपेको थियो ।
(लेखक थामी, जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर हुन् ।)