ब्लड प्रेसरपीडितलाई ‘ॐ’ उच्चारण फलदायी



‘ॐ’ अथवा ‘ओम’ संस्कृत शब्द हो । नेपाली वृहत् शब्दकोशअनुसार ‘ओम’ क्रमशः विष्णु, शिव र ब्रह्मा बुझाउने अ, उ र म मिलेर बनेको शब्द हो । ‘ॐ’ वेद पाठ गर्दा मन्त्रका रूपमा ऋचाका अगाडि उच्चारण गरिने पवित्र ध्वनि हो । यसलाई प्रणव ध्वनि पनि भनिन्छ । पूर्वीय दर्शनअनुसार ब्रह्माण्डमा भौतिक निर्माण तथा जीवन अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ‘ॐ’ को गुञ्जन थियो । ‘ॐ’लाई ब्रह्माण्डको प्रथम ध्वनि भनिन्छ ।

हिन्दु धर्ममा जीवनको उत्पत्ति आधार यही ‘ॐ’लाई मानिदै आएको छ । ‘ॐ’ वैदिक सनातन धर्मावलम्बीले हरेक शुभकार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ‘ॐ’लाई महामन्त्र पनि भनिन्छ । यस ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहने मान्यता छ । ‘ॐ’ शब्द हिन्दु धर्ममा मात्र होइन बौद्ध, जैन, सिखलगायत अन्य धर्ममा पनि उत्तिकै श्रद्धापूर्वक प्रयोग भएको पाइन्छ । ‘ॐ’ को उच्चारण गर्दा लयबद्ध कम्पनको निर्माण हुन्छ । त्यसैले ‘ॐ’लाई शब्दका रूपमा भन्दा पनि ध्वनिका रूपमा ग्रहण गरिन्छ ।

‘ॐ’ को अर्थ

धार्मिक विश्वासअनुसार ब्रह्म (अ), विष्णु (उ) र महेश्वर (म) को संयुक्त रूप हो । कतिपयले ‘ॐ’ को (अ) सुरुवात, (उ) मध्य र (म) अन्त्यका रूपमा पनि अथ्र्याएको पाइन्छ । ‘अ’ को अर्थ हुन्छ– उत्पन्न हुनु, ‘उ’ को अर्थ हुन्छ, उठ्नु वा विकास हुनु र ‘म’ को अर्थ हुन्छ– मौन हुनु वा ब्रह्मलीन हुनु । ॐ को ‘अ’, ‘उ’ र ‘म’ले क्रमशः इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउने बताइएको छ । यसैगरी, ॐ ले हिन्दु धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउँछ । श्रीमद् भागवत गीतालगायत विभिन्न उपनिषद्मा ‘ॐ’ लाई ब्रह्माण्डीय ध्वनि, दिव्य ध्वनि, रहस्यमय शब्द तथा दैवीय प्रतिज्ञानका रूपमा व्याख्या गरिएको छ । ‘ॐ’लाई विभिन्न शास्त्रमा यसरी पनि व्याख्या गरिएको छ :

अ– तमस (अन्धकार, अज्ञान), उ– रजस (उत्साह, गतिशीलता), म– सत्व (शुद्धता, प्रकाश)

अ– ब्रह्मा (निर्माता), उ– विष्णु (परीरक्षक), म– शिव (विध्वंशक)

अ– वर्तमान, उ– भूत, म– भविष्य

अ– जागृत स्थिति, उ– सपना देखेको स्थिति, म– गहिरो निद्राको स्थिति आदि

‘ॐ’ उच्चारणको लाभ

पृथ्वीमा रहेका हरेक सजीव तथा निर्जीव वस्तुले विभिन्न किसिमको आवाज निकालिरहेका हुन्छन् । तर, हामी ती आवाजमा त्यति ध्यान दिइरहेका हुँदैनांै । हावा बहँदा, पानी पर्दा, समुद्रमा छाल आउँदा, बाढीपहिरो जाँदा, भूकम्प जाँदा, शंखभित्र, गुफाभित्र, अर्थात् प्रकृतिमा हुने हरेक गतिविधि वा चालमा ‘ॐ’ को ध्वनि उत्पन्न भइरहेको हुन्छ । हामी पनि यस ब्रह्माण्डको एक अंश हौं । हाम्रा हरेक गतिविधि ब्रह्माण्डको चालसँग सम्बन्धित छ । जब हामीले लामो सास लिएर ‘ॐ’ को उच्चारण अर्थात् जप गर्छौं, हामी पनि ब्रह्माण्डको चालमा जोडिन पुग्छौं । हाम्रो शरीरको हरेक भित्री बाहिरी अंग कम्पन हुन थाल्छन् । हरेक कोष तथा मांसपेशीमा अक्सिजनको उचित प्रवाह हुन्छ । जब हाम्रो शरीरमा अक्सिजनको उचित प्रवाह हुन्छ, तब हाम्रा भित्री अंगले समुचित कार्य गर्न थाल्छन् । हामीलाई एककिसिमको ऊर्जा प्राप्त हुन्छ । जुन ऊर्जाले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

नियमित ‘ॐ’ को उच्चारणबाट आरोग्य प्राप्त हुन्छ नै यसको उच्चारणबाट मन र आत्मालाई पनि शान्ति प्राप्त हुन्छ । हामीले शारीरिक तथा मानसिक समस्याबाट मुक्ति पाउन सक्छौं । ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले मस्तिष्कलाई शान्त राख्न सहयोग पु¥याउँछ । ‘ॐ’ को पहिलो खण्ड ‘अ’ को उच्चारण गर्दा शरीरको बीचभाग ‘मणिपुर क्षेत्र’ अर्थात् पेटको वरिपरि कम्पन हुन्छ । यसले हाम्रोे छाती, फोक्सो र पेटमा धेरै राम्रो प्रभाव पार्छ । त्यस्तै दोस्रो खण्ड ‘उ’ को उच्चारण गर्दा अनाहत क्षेत्र अर्थात् फोक्सो तथा हृदय क्षेत्र कम्पन हुन्छ भने तेस्रो खण्ड ‘म’ को उच्चारण गर्दा सहस्रा र क्षेत्र अर्थात् मस्तिष्कमा कम्पन हुने गर्छ । यसले दिमागका सबै स्नायु खोल्छ । यसले हाम्रोे स्मरण शक्ति तथा ध्यान केन्द्रित गर्ने क्षमतामा सुधार्छ । लामो सास लिएर ‘ॐ’ को उच्चारण गर्दा घाँटीमा कम्पन र घर्षण दुवै हुने भएकाले ‘ॐ’ को उच्चारण थाइराइड समस्या समाधानमा लाभदायक हुन्छ ।

नियमित ॐ उच्चारण गर्दा चिन्ता, डर, मानसिक तनाव, थकान समाधानार्थ प्रभावकारी हुन्छ । फोक्सोको कार्यक्षमतामा वृद्धि गर्छ । उच्च रक्तचाप कम हुनुका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । ‘ॐ’ को उच्चारण गर्दा गालाको छाला कम्पन हुने हुँदा अनुहार चम्किलो हुनुका साथै चायापोतो हटाउन सहयोग गर्छ । शरीरमा विशेषकिसिमको कम्पन हुने भएकाले शरीरलाई ऊर्जाशील बनाउँछ । सासको माध्यमबाट शरीरमा भएका विजातीय, विषालु तथा दूषित तत्व एवम् ग्यास बाहिर निस्कन्छ । पाचन प्रक्रियामा सहयोग गर्दै पेटसम्बन्धी समस्या नियन्त्रण गर्नसमेत मद्दत गर्छ ।

ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाँटीको मांसपेशीमा कम्पन हुने भएकाले गायक–गायिकालाई स्वरमा निखार ल्याउन ‘ॐ’ को उच्चारण उपयोगी हुन्छ । ‘ॐ’ को उच्चारण ‘स्पीच थेरापी’ अर्थात् तोतेबोली, भकभक गर्नेजस्ता बोलीको उपचारमा पनि निकै प्रभावकारी मानिएको छ । सुत्ने बेला ‘ॐ’ उच्चारण गर्दा निद्रा नलाग्ने समस्या पनि समाधान हुन्छ ।

विधि

‘ॐ’ को उच्चारण गर्नु भनेको जप गर्नु हो । ‘ॐ’ को जप गर्दा सुखासन, सिद्दासन, पद्मासन, वज्रासन वा आफूलाई सहज हुने कुनै पनि आसनमा बस्न सकिन्छ । बस्दा ओछ्याउने चकटी कुचालक हुन जरुरी हुन्छ । बस्दा ढाड, कम्मर, मेरुदण्ड तथा गर्धन सिधा हुनुपर्छ । ध्यानमुद्रामा बसी आँखा बन्द गरी दुवै आँखाको बीचभाग अर्थात् आज्ञाचक्र÷भृकुटीमा ‘ॐ’ को आकृति बनाएर त्यसै माध्यमलाई केन्द्रित गर्नुपर्छ । सासलाई सकेजति लामो समयसम्म तान्ने, सास भरिएपछि रोकिने र ‘अ’…, ‘ऊ’… र ‘म’… को शैलीमा उच्च आवाज निकालेर उच्चारण गर्नुपर्छ । ‘अ’ लाई ५० प्रतिशत, ‘ऊ’ लाई २५ र ‘म’लाई २५ प्रतिशतको अनुपातमा उच्चारण गर्नुपर्छ ।

‘ॐ’ को जप गर्दा सुरुमा नाभी क्षेत्रमा ‘अ’ आवाजबाट हुने कम्पन महसुस गर्दै त्यसलाई क्रमशः माथितर्फ बढेको अनुभूति गर्नुपर्छ । त्यसपछि ‘ऊ’ को कम्पन मुटु हुँदै गलाबाट माथि बढेको अनुभूति गर्नुपर्छ । जब कम्पन गलाको क्षेत्रमा पुग्छ, तब ‘म’ एक गहिरो ध्वनिमा परिवर्तन गर्दै कम्पन तबसम्म अनुभूति गर्नुपर्छ, जबसम्म त्यो शिरसम्म पुग्दैन । ‘ॐ’ को जपपश्चात् पनि आसनमा स्थिर भएर बसौं र पूरा शरीरमा ‘ॐ’ ध्वनिको कम्पन भइरहेको अनुभूति गरौं । ‘ॐ’ को जप जतिपटक पनि गर्न सकिन्छ । तथापि आवश्यकताअनुसार दैनिक तीनदेखि ११ पटकसम्म गरे पुग्छ ।

समय

‘ॐ’ को जप गर्न बिहान ४ बजेदेखि ६ बजेसम्मको समय उपयुक्त हुन्छ । यो समयलाई शुभबेला, अमृत बेला वा ब्रह्म मुहूर्त भनिन्छ । यो समयमा वायुमण्डलको तल्लो सतहमा अक्सिजनको मात्रा प्रचुर हुने गर्छ । बिहान र बेलुका नियमित ‘ॐ’ को जप गर्दा फाइदा दोब्बर प्राप्त गर्न सकिन्छ ।

स्थान

‘ॐ’ को जप गर्ने स्थान खुलाचौर, बगंैचा, जंगलछेउ वा नदीकिनार उपयुक्त हुन्छ । शान्त वातावरण हुन पनि उत्तिकै जरुरी हुन्छ । बाहिरी हल्लाखल्ला आउनुहुँदैन । घरको पिँढी वा छतमा पनि ‘ॐ’ को जप गर्न सकिन्छ । तुलसीको मोठनजिक वा पीपलको रूखमुनि बसेर ओमको जप गर्न सकिन्छ । कुर्सी, सोफा आदिमा बसेर ‘ॐ’ को जप गर्नु राम्रो मानिदैन ।

प्रतिक्रिया दिनुहोस्