सर्वस्वीकृत मान्यताअनुसार आमसमुदायलाई राष्ट्र सञ्चालनमा सर्वशक्तिमान बनाउने प्रक्रिया नै वास्तविक अर्थमा प्रजातन्त्र हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा देशका वीर सपुतले दिएको योगदान सदैव अविस्मरणीय रहेको छ । उनीहरूकै साहस, त्याग, बलिदानी र देशभक्तिका कारण हामीले यत्तिको उन्मुक्तिको सास फेर्न पाइरहेको कुरा कदापि भुल्न मिल्दैन । निरंकुश शासनविरुद्धमा हामीकहाँ धेरै चरणमा आन्दोलन भएका छन् । चाहे त्यो २००७ सालको एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्धको संघर्ष होस् कि ०१८ मा भएको सशस्त्र आन्दोलनमा होस् । ०३६ को जनमतसंग्रह होस् वा ०४६ को निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन होस् अथवा ०६२/६३ मा भएको गणतान्त्रिक आन्दोलन होस् वा ०६५ मा भएको सर्वसत्तावादी राजतन्त्र अन्त्यको आन्दोलन होस् । यी सबैमा देशका प्रजातान्त्रिक शक्तिले ठूलो योगदान दिएका छन् ।
यसरी नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि गरिएका प्रयास र आन्दोलन आफैंमा महत्वपूर्ण छन् । यिनै आन्दोलनले नेपालीलाई रैतीबाट जनतामा, पराधीनताबाट स्वतन्त्रतामा र निरभिमानबाट स्वाभिमानमा परिणत गराएका हुन् । यसका लागि देशका विभिन्न ठाउँबाट आ–आफ्नै प्रकारले संघर्ष गरिएका थिए । खोटाङबाट प्रजातन्त्रका लागि भए, गरेका प्रयास पनि कम महत्वपूर्ण छैनन् । उसले ००७ सालको आन्दोलनमा मात्र होइन, ०१७/१८ को सशस्त्र क्रान्तिमा, ०३१ को सोलु–ओखलढुंगाअन्तर्गत टिम्बुरबोटे घटनामा पनि अत्यन्त साहसिक त्याग र बलिदानी दिएका छन् । त्यस्तै ०३६/४६ देखि ०६२/६३ हुँदै ०६५ को गणतान्त्रिक आन्दोलनमा पनि खोटाङ र यहाँका योद्धाले दिएको योगदान उच्च देखिन्छ । अतः प्रजातन्त्रमाथि जहाँ कहीं खबरदारी गर्नेक्रममा यस जिल्लाबाट एकजुट भएर योद्धा जुर्मुराएका थुप्रै घटना र प्रसंग आफैंमा महत्वपूर्ण छन् ।
खोटाङको प्रजातान्त्रिक आन्दोलनको कुरा गर्नुअघि ००७ पूर्वको केही इतिहास जान्नु आवश्यक पर्छ । चौदण्डीगढीबाट सेनवंशी राजाद्वारा शासित माझकिरात खुम्बुवान नामबाट पनि प्रसिद्ध थियो । यो दूधकोसीदेखि अरुणसम्मको भू–भागभित्र खोटाङ पथ्र्याे । सेनवंशी राजा कर्णसेनका भारदार स्वरूपसिंह कार्की र खोटाङ खार्पाका हरिनन्दन पोख्रेलले इस्वी संवत् १७६९ मा नुवाकोटमा आई पृथ्वीनारायण शाहसमक्ष किरातको दबदबा स्वीकार गर्न नसकिएका कारण माझकिरातलाई नेपाल अधिराज्यमा मिलाउन अनुरोध गरेपछि पृथ्वीनारायण शाहले बाङ्ग्या बस्नेतलाई परिस्थिति बुझ्न पठाए । त्यसपछि पृथ्वीनारायण शाहको सेनाले अमरसिंह थापा र सरदार रामकृष्ण कुँवरको नेतृत्वमा २५ अगस्ट १७७२ मा कोसीपार गरे । किराती युवकसँग घमासान युद्ध भएपछि पृथ्वीनारायण शाहको सेनाले खोटाङकै रावाघाट र चिसङ्खुसम्म कब्जा गरे । त्यसलगत्तै मझुवा, कुलुङ, दिङ्ला हुँदै सन् १७७३ को फेब्रुअरीमा सम्पूर्ण माझकिरात कब्जा गरी नेपाल अधिराज्यमा मिलाए ।
राज्य सञ्चालनमा अत्यन्त चतुर पृथ्वीनारायाण शाहले सन् १७७४ मा लिम्बुवान र खम्बुवान क्षेत्र भड्किने सम्भावना देखेर ‘भूमि रहुन्जेल शाखा सन्तानका भरत सघाई भोग्गे गर’ भनी लालमोहर लगाइदिएका थिए । एकीकरणपश्चात् संवत् १९३७ सम्म खोटाङ जिल्लाको प्रशासन धनकुटा गौंडामार्फत सञ्चालन गरिएको थियो । संवत् १९६८ देखि खोटाङबजारमा बडाहाकिम रही गोश्वारामार्फत प्रशासन चलाइएको पाइन्छ । गोश्वाराको स्थापनासँगै जिल्ला विभाजन भयो । अहिले यहाँ रहेका हलेसी, रावा, खाम्तेल, मझुवा आदि ठाउँ ओखलढुंगा गोश्वाराअन्तर्गत पर्न गए भने चुइचुम्मा, रतन्छा, दिप्रुङ, खोटाङ बजार आदि ठाउँ भोजपुर गोश्वाराअन्तर्गत पर्न गए ।
२००७ सालको अवधि
००७ असोज ९ र १० गते भारतको मजफ्फरपुर जिल्लाको वैरगनियामा भएको नेपाली काँग्रेसको सम्मेलनले राणाविरोधी सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । मुक्ति सेना गठन गर्यो । जसअनुसार यस आन्दोलनमा पूर्वी पहाडका अधिकांश क्षेत्रमा राणा पक्षलाई हराएर विद्रोही पक्ष विजयी बनाएको पाइन्छ । भोजपुर छिनामखुका नारदमुनि थुलुङ (संवत् १९६५–२०४७) भोजपुर बासिखोराका रामप्रसाद राई, श्रीपाल राई, खोटाङ लामाखुका मुगाधन राईलगायतको नेतृत्व र सक्रियतामा ००७ मंसिरको सुरुदेखि नै राणाविरोधी अभियान थालिएको थियो । भारतीय सेनाबाट अवकाश भई भोजपुरमा आएर स्कुल खोल्नेलगायतका काममा लागेका नारदमुनि थुलुङले काँग्रेससँग सम्पर्क गर्दै उनले राणाविरोधी युवाहरू संगठित गर्ने काम गरेका थिए । यसैबीच भारतीय सेनाबाट निवृत्त भई राणा फौजमा लप्टन भएर खोटाङमा कार्यरत रामप्रसाद राईलाई खोटाङका दुई बाहुनको झगडामा एकजनालाई दुई/चार झापड हानेको विषयलाई लिएर बडाहाकिम भक्तबहादुर खड्काले जागिरबाट निकाला गरिदिए ।
यसबाट क्रुद्ध बनेका रामप्रसाद राईको भेट नारदमुनि थुलुङसँग भयो । यसपछि रामप्रसाद राई राणाविरोधी आन्दोलनमा सक्रिय बन्न पुगे (प्रधान र जोशी, २०५३ः३३) । मुक्ति सेनाले भोजपुर, दिड्ला, चैनपुर, तेह्रथुम र ताप्लेजुङमा विनारक्तपात कब्जा गर्यो । रामप्रसाद राईले खोटाङमा (संवत् ००५/००६) देखि बसेर राणा शासनविरुद्धको क्रान्तिमा विगुल फुक्दै त्यहाँका जनता कार्यकर्तालाई प्रशिक्षितमात्र गरेनन्, कार्यविभाजनसमेत गरेका थिए । यस क्रान्तिमा खोटाङमा हतियार उठाउने पहिलो व्यक्ति नै रामप्रसाद राई थिए (१) ।
त्यस समयको कुरा सम्झँदै बमबहादुर राई आफू रामप्रसाद राईको मुक्ति सेनाको अर्ध युवा सेनामा काम गर्दै दिक्तेलसम्म पुगी हतियार चलाउन नजान्ने समूहलाई फिर्ता पठाउँदा आफू ओखलढुंगातर्फ जान नपाएको कुरा व्यक्त गर्छन् (३) ।
००७ मार्ग २८ गतेका दिन रामप्रसाद राईको नेतृत्व र निर्देशनमा खोटाङ कब्जा भयो । यसको ठीक १३ दिनपछि ००७ पुस १२ गते ले. मोहनलाल राई चाम्लिङ हतुवा वैकुण्ठेलाई खोटाङमा अड्डा प्रमुख बनाई रामप्रसाद राईले पठाएका थिए । त्यसैगरी, खोटाङको ऐंसेलुखर्क कब्जा गर्न रामप्रसादले भोजपुर छिनामखुका रामबहादुर राईलाई लप्टन पद दिएर पठाए । त्यसबखत उनले ६ जना मुक्तिसेना भोजपुरबाट लिएर ००७ मार्ग २८ गते खोटाङको खार्मी डाँडागाउँका बमबहादुर राई, श्रीपाल राईको जेठानको घरमा बास बसी ऐंसेलुखर्क कब्जा गर्न आवश्यक सरसल्लाह गर्दै योजना बनाउन लागे । स्थानीय सहयोग जुटाउँदै ००७ पुस २ गते बिहान ले. रामबहादुर राईसहितले ऐंसेलुखर्क आक्रमण गरे । ऐंसेलुखर्क अड्डा प्रमुख सुबेदार बलबहादुर बस्नेत भाग्न सफल भए भने केही राणा मिलिसियाले मुक्तिसेनाका अगाडि आत्मसर्पण गरे । कतिलाई कैद गरियो भने कतिपय भाग्न सफल भए । उदयपुर कब्जा गर्ने जिम्मा लिएर गएका कृष्णप्रसाद भट्टराईलाई समेत राणा सेनाले लखेटेर भारतीय सीमापारि कटाए । उदयपुर सप्तरीकै बाटो क. खड्गबहादुर कार्कीलाई भोजपुरे मुक्तिसेनाले लखेटेर दिक्तेल पुर्याएका थिए । यसैबीच, रामप्रसाद राई जगेडा मुक्तिसेना लिएर २००७ साल पुस १४ गते बेलुका सात/आठ बजेतिर दिक्तेल पुगे (४) ।
रामप्रसाद राईले प्रत्येक गाउँबाट जनताले आ–आफ्नो घरेलु हातहतियार लिएर राणा शासनलाई घेरेर हमला गर्नु भन्ने निर्देशन दिएअनुसार सोला, भाला, बन्चरो, खुँडा, तरवार, कट्टी र भरुवा बन्दुक लिएर दोर्पा, डाडाँगाउँ, सोल्मा, बाम्राङ, मझुवा, लामाखुका जनतासँग मुक्तिसेनाले घेरा हाले । रातभरि गोली चलिरह्यो । मुक्तिसेनाले ढ्याम्म–ढ्याम्म भरुवा बन्दुक हान्दा जहाँ आगोको झिल्को देखिन्थ्यो, त्यहीं भर्र..भर्र.. राणाका सेनाले गोली हान्थे । डाँडा, पाखा, वन–जंगल हल्लिनेगरी जनता ठोक–ठोक र मार्–मार्, प्रजातन्त्र जिन्दावाद, रामप्रसाद राई जिन्दावाद, राणा सरकार मुर्दावाद भन्दै चिच्याउँथे । राणा सेनाहरू भोलिपल्ट ‘चाख्लास् सिस्ने किराती’ भन्थे भने मुक्तिसेना ‘भोलि बिहान खालास् गुन्द्रुके खसिया’ भन्ने गर्थे (५) ।
यसरी रामप्रसाद राईले राणाशासनविरुद्धमा क्रान्तिको विगुल फुकेर जनचेतना ल्याई मुक्तिसेनाको माध्यमबाट दिक्तेलका जनताबाट ठूलो सहयोग पाए । यता, राणा सरकारका कप्तान खड्गबहादुर कार्की र एक वैद्य दिक्तेल बजारको मणिसुन्दर श्रेष्ठ, डिल्लीमान श्रेष्ठ, खड्गबहादुर श्रेष्ठका घरमा आश्रय लिएर बसेका थिए । उनीहरूले त्यहाँबाट भेरिलाइट र ट्रेसर राउन्डले हान्थे, त्यसको उज्यालोमा अरू थप गोली बर्साउँथे भने मुक्तिसेनाबाट पनि जवाफी कारबाही हुन्थ्यो । राणाका सेना वा मुक्तिसेना कसले हानेको हो यकिन हुन नसके पनि भेरिलाइट वा टे«सर राउन्डले खरको छानोमा खसेर मणिसुन्दर, डिल्लीमान र खड्गबहादुर श्रेष्ठको घरमा आगलागी भयो । त्यसपछि राणा सेना त्यहाँबाट निस्कन बाध्य भए । मुक्तिसेनाले ती स्थानमा घेरा हाल्दै थिए तर पनि कप्तान खड्गबहादुरले आत्मसमर्पण गरेका थिएनन् ।
‘कप्तान साहेब, आत्मसमर्पण गर्नुहोस्’ रामप्रसाद राई आह्वान गरिरहेका थिए । चारैतिरबाट घेरेर हतियार छोडभन्दा छोड्दिनँ भनेर बसेकाले उनको निधन हुन पुगेको थियो । ह. जगतबहादुर राई (वाराताङ्गे माइलो भोजपुर, छिनामखु)ले पिस्तोल झिकेर कञ्चटतिर सोझ्याउँदै थिए । रामप्रसाद राईले नहान्–नहान् भन्दाभन्दै कञ्चटमा गोली हानिहाल्यो (ऐ.पृ.१४९) । यसरी बेनिबहादुर कार्कीका पिता क. खड्गबहादुर कार्कीको अहिलेको दिक्तेलको अस्पतालछेउको चौतारेमा मृत्यु भयो । त्यहाँ सातजनाले आत्मसमर्पण गरेका थिए ।
००७ को क्रान्तिमा सहदात प्राप्त खोटाङे
१. नरबहादुर खत्री, याम्खा चखेवा भन्ज्याड (भोजपुरमा राणा फौजले मारेको)
२. हिमालशेर राई, बुइपा धिवा (चरिकोटमा राणाफौजले मारेको)
३. अजितमान राई, बुइपा धिवा (मानेभन्ज्याङमा राणाफौजले मारेको)
४. कम्पसेर राई, दोर्पा (ओखलढुंगामा राणाफौजले मारेको)
५. दशरथ थापा, बाम्राङ (आफ्नै साथीले राणाफौजको कप्तानलाई हानेको गोली लागी देहान्त)
६. तुलाराम (विराटनगर संघर्षमा)
७. लालबहादुर थापा (झापा संघर्षमा)
८. कालु तामाङ
९. पदमजंग
१०. डीबी मोक्तन
११. सु. आसबहादुर राई, होर्लाङ्छा कात्तिके (सप्तरी बरमझियामा बन्दुकको कुन्दाले अण्डकोसमा हानेर हत्या)
१२. अगममणि राई, खार्तम्छा
दिक्तेलमा रामप्रसाद राई र मुक्तिसेनाले राणा तथा राष्ट्रिय सेनाविरुद्धमा लडाइँ गर्दा कार्यरत रहेका टाढाटाढाका जनताले बाँसका खपटा र भोर्लाको पातले ढाकरलाई राम्ररी छोपेर राँगा, खसी, सुँगुरको मासु र रसद ल्याइदिई ठूलो सहयोग गरेका थिए । रामप्रसाद राई दिक्तेलबाट मुक्तिसेनालाई ओखलढुंगा जाँदा भव्य बिदाइ गरी पठाएका थिए (ऐ.पृ.१६५) ।
दिक्तेलमा ५६ जना राष्ट्रिय सेना खाना खाइरहेको अवस्थामा गिरफ्तार गरी माझकिरात भोजपुर प्रधान कार्यालयमा गार्डसाथ पठाइएका थिए (ऐ.पृ.) । यसरी ओखलढुंगा कब्जा गर्न जानेक्रममा ००७ पुस १८ गते सुबेदार राजबल राई (राजबहादुर राई)को कमान्डर ह. सेलुमान राईको सहकमान्डमा २३ जना मुक्तिसेना लिएर रँभुवामा जानु र माझकिरात भोजपुरतिर बढ्ने राष्ट्रिय सेनालाई रोक्नु भन्ने रामप्रसाद राईको आदेश थियो । त्यो मुक्तिसेनाको २३ जनाको समूह रँभुवामा नौ दिनसम्म बसेर सात सय जवानले खान पुग्ने रसद, चन्दा आदि कब्जा गरेका थिए (ऐ.पृ.१६८) ।
सुबेदार राजबल राई र ह. सेतुमान राईको समूह ठोट्ने खोलैखोलाको बाटोबाट अगाडि बढेर दूधकोसीको शिरमा पुग्दा राष्ट्रिय सेनासँग भिडन्त भयो । उता, लामिडाँडा क्षेत्रबाट जमदार मानबहादुर (धितेनी) राईको कमान्डमा मुक्तिसेनाले समेत घेरेका हुनाले त्यहाँ सातजना राष्ट्रिय सेनाको मृत्यु भयो ।
भोजपुरबाट सुरु भएर सिंगो पूर्वाञ्चल र नेपालमा हलचल मच्चाउन सफल सात सालको राणाविरोधी क्रान्तिमा खोटाङका जनता यसरी सशक्त रूपमा सहभागी बने । भोजपुरबाट पछाडि हटेको राणा फौजलाई साप्सुछेउमा आइपुग्दा खोटाङको निर्मलीडाँडा, च्यानडाँडा, रतन्छा, दोर्पा (दोबेला) लगायतका खोटाङे जनताले कडा मुकाबिला गरी मुक्तिसेनालाई सघाए र राणा फौजलाई तहसनहस बनाइदिए । उता, दिक्तेलका जनताले राणा फौजलाई साथ दिएनन् । जसकारण राणा फौजको कमान्डरसमेत मुक्तिसेनाको कब्जामा परे । यसबाहेक खोटाङको छोटी अड्डा तथा उत्तरतर्फ एेंसेलुखर्कको सरकारी निकाय मुक्तिसेनाले कब्जा गर्ने काममा स्थानीय जनताको भरपुर सहयोग र समर्थन रहेको पाइन्छ । ऐंसेलुखर्कमा स्थानीय मानबहादुर राईले विशेष सहयोग गरेको कुरा इतिहासकारले उल्लेख गरेका छन् (अधिकारी, २०५८ः२८३) ।
जानकारहरूका अनुसार मुक्तिसेना आउनाअगावै स्थानीय सहासी योद्धा पदमबहादुर राईले ऐंसेलुखर्क छोटी अड्डामा गई हेर्ने निहुँले बन्दुक हातमा लिएर अड्डाका हाकिमलाई ताकेपछि उसले आत्मसमर्पण गर्यो । बाँकी रहेका मिलिसिया पनि भागे । यसको छ घण्टापछि मुक्तिसेना आइपुग्यो । योद्धा पदमबहादुर राईलाई ऐंसेलुखर्कको सर्वाेच्च कमान्डर घोषणा ग¥यो । त्यस्तै खोटाङका आदिभक्त ओझाको कमानमा गएको फौजले उदयपुरका थोपे मगरको सहयोगमा उदयपुर कब्जामा लिएको सूचना पाइन्छ (अधिकारी, २०५८ः२६१) ।
सात सालको राणाविरोधी क्रान्तिमा माझकिरात क्षेत्रको नेतृत्व गर्ने नारदमुनि थुलुङले आफ्नो संस्मरण बिर्सेका अनुहार : बिर्सन नसकेका घाउहरू कृतिमा खोटाङका ह. जगतबहादुर राई, ह. देवधन राई (खार्तम्छाली), जमदार भैमान थुलुङ (चुइचुम्माली), दोर्पाली गजुरमाखे साधु, सर्वधन राई, मुगाधन राई (लामाखु), डिल्लीसेर राई आदिको नाम उल्लेख गरेका छन् (थुलुङ, २०४५ः९२ ९४) ।
यस विद्रोहमा खोटाङ र खोटाङे जनताका सन्दर्भलाई नारदमुनि थुलुङले यसरी सम्झेका छन् । खोटाङ दिक्तेल, लामाखु, दोर्पा, नेर्पा, खार्मी, बाँसपानी, ऐंसेलुखर्क आदि विभिन्न गाउँतर्फबाट जवान, वृद्ध, ढाल, तरवार, खुँडा, खुकुरी जे हुन्छ सो बोकेर तीन÷चार दिनका लागि मकै, भटमास, सातु जे हुन्छ, बोकी ओखलढुंगा घेरा हाल्ने आदेश दिइयो । (थुलुङ, २०४५ः९१) ।
यसरी नै लडाइँको योजनाबारे भरुवा बन्दुकको माझ–माझमा हरिसको दामी बन्दुक दिएर रँभुवा र हलेसी हुँदै ओखलढुंगा जाने दुई बाटो गरी बढाइयो भनी उल्लेख गरिएको पाइन्छ (थुलुङ, २०४५ः९२) ।
पूर्वाञ्चल क्षेत्रलाई नै नेतृत्व दिने भोजपुरका रामप्रसाद राईबाटै यसबखतको खोटाङको आन्दोलन पनि निर्देशित थियो । नादरमुनि थुलुङ र ध्यानबहादुर राईसँगै खोटाङका थुप्रै क्रान्तिकारीमा सामेल हुन पुगे । यस आन्दोलनमा भोजपुरदेखि काठमाडौंसम्म विभिन्न लडाइँमा खोटाङे सक्रिय रहेको पाइन्छ । खोटाङमा जम्दार नन्दिकेशर अधिकारी (पुरानागाउँ) ले पहिलोपटक राणाविरोधी भाषण गरेका थिए । त्यसैगरी, खोटाङ मार्से बतासेका लक्ष्मीप्रसाद रेग्मी, तुलसीप्रसाद रेग्मी, खार्पाका रेवतीरमण पोखरेल, गुणराज पोखरेल, दुबेका टीकादत्त रेग्मी, लामिडाँडाका देवीप्रसाद भट्टराई, सिम्पानी बर्रेका धनप्रसाद राई, लफ्याङका बमबहादुर राई सक्रिय थिए (शिवाहाड, २०६४ः१४३ १४४) ।
यस ऐतिहासिक आन्दोलनमा खोटाङ बतासे दिनुवाका गुमानसिंह राई (१९६८–२०५४) को नेतृत्वमा कुनाहीदेखि चतरासम्मका कोसीघाटका १०/१५ नाकामा डुंगा आवागमन बन्द गरी राणाका सेनालाई मुक्त क्षेत्रमा प्रवेश निषेध गर्ने काम गरिएको थियो (रेग्मी, २०५८ : ३/४) ।
नारदमुनि थुलुङ, रामप्रसाद राईहरूको सल्लाहमा खोटाङे योद्धा गुमानसिंह राईबाट सम्पादन गरिएको यो कार्य उल्लेख्य रहेको छ । त्यस्तै, खोटाङको खाल्ले सेराका धनवर्ण राई, सर्वधन राई, लफ्याङका कम्पसेर राई आदिले पनि यस आन्दोलनमा सहयोग गरेको कुरा थाहा हुन्छ । त्योबाहेक पनि यस क्रान्तिमा खोटाङका धेरै योद्धाको अविस्मरणीय योगदान रहेको देखिन्छ । जसमा रतन्छाथुमतर्फका राजनसुर राई, सु. जफतमान, एसपी कर्णकुमार राई, धनबहादुर राई, छत्रमान राई, सुन्दरमान राई, मानदत्त राई, गौरीमान राई, खिदिमका धनप्रसाद राई, बाथला गौरीगाउँका रामप्रसाद राई, तक्मान राई, मात्तिमका वर्तमान राई, जावा राई, वाक्सुर राई, शमशेरबहादुर राई, ऐमानसिंह राई, धनबहादुर राई, शिवबकस राई रतन्छा, काजीमान राई मात्तिम सौरे हात्तिसुँडे, नरबहादुर राई रतन्छा डाडाँगाउँ, वृहस्पति अधिकारी रतन्छा मानेडाँडा आदि थिए ।
तत्कालीन चुइचुम्माथुमतर्फका कृष्णबहादुर राई रिपु, डडाकसिंह राई डाँडागाउँ, गोथमानसिंह राई रिपु, श्रीनन्द राई रिपु, मुलुकसिंह राई वारेङ, पञ्चे राई कोप्चे, वृषबहादुर राई वारेङ, कुवेरमान तामाङ, पहलमान तामाङ बोफ्लु, रणबहादुर विष्ट, रणबहादुर बस्नेत डाडाँगाउँ, रणबहादुर खत्री ओढारे, हर्कबहादुर राई खमारे, धनबहादुर राई, अम्बरबहादुर राई सुँगुरे, कीर्तिमान विष्ट जामुने, ह. मण्डलसिंह राई कोटगाउँ, पूर्णबहादुर राई कोटगाउँ, हैकमसिंह राई कोटगाउँ, पञ्चवीर राई खाम्ला आदि रहेको थाहा हुन्छ ।
दिप्रुङथुमतर्फ सुबेदार गुमानसिंह राई, कुमारसिंह राई दिनुवा, बजिरमान राई खिला, कर्णबहादुर राई बुइख्वा, अञ्चलसिंह राई दिनुवा, अग्रबहादुर भुजेल दिनुवा, बृखम्म राई वारेम्तुङ, रणबहादुर, अमलबहादुर राई वारेम्तुङ, भर्तबहादुर राई मुलाबारी, धनबहादुर राई मुलाबारी, धनजित राई छोरम्बु, पत्थरसिंह राई छोरम्बु, शुभकुमार राई याङ्सोला, डिल्लीप्रसाद राई याङ्सोला, जंगमान राई, पूर्णबहादुर राई, कमलबहादुर राई, गजुरप्रसाद राई रुवालुङ, हर्कबहादुर राई, पृथ्वीबहादुर राई नाप्तिकु आदि ।
खोटाङथुमतर्फका ऐटन शेरबहादुर राई माभे, नसपातसिंह राई माभे, कर्णबहादुर राई माभे धुसेनी, हेम्माली राई रसुवा, सुबेदार आसबहादुर राई होर्लाङ्छा कात्तिके, चन्द्रबहादुर राई होर्लाङ्छा कात्तिके, ह. कीर्तिमान राई कात्तिके, ह. मानबहादुर राई चिप्रिङ, धनसेर राई कुलागाउँ कात्तिके, वृषबहादुर राई चिप्रिङ, नरबहादुर राई चिप्रिङ, बलबहादुर राई चिप्रिङ, ह. अगमसेर राई चिप्रिङ, ह. लाखबहादुर राई चिप्रिङ, खड्गबहादुर राई चिप्रिङ, जितबहादुर राई चिप्रिङ, पहलबहादुर राई चिप्रिङ, ह. शमशेरबहादुर राई चिप्रिङ, किन्नरमान राई सावा दुम्छा, कालुमान राई दुम्छा, काजीमान राई दुम्छा, भक्तबहादुर राई दुम्छा, थामबहादुर राई रातमाटा, सु. शेरबहादुर राई निगालबास, नरेन्द्र राई दिप्लुङ आदि थिए ।
छुलवारथुमतर्फका लक्ष्मीप्रसाद अधिकारी छुलवार, दिपजित राई, भूपजित राई, रामकुमार राई, धनकुमार राई घोरिङ्खा, होमनाथ कोइराला, दुर्गाबहादुर बस्नेत खुटा, मानभागी राई सालम्बु, गंगाबहादुर राई बालम्खा, बमबहादुर राई पाङ्चा दोभान, रंगनाथ श्रेष्ठ माझखर्क, मुंगलसिंह राई दिङ्लापु, रेवतीरमण ओझा, सोमनाथ ओझा, लेखनाथ ओझा, ख. आदिभक्त ओझा खोटाङलगायतका योद्धा सक्रिय रहेको कुरा थाहा हुन्छ ।
त्यसैगरी, तत्कालीन पूर्व चार नम्बर नेपाली काँग्रेसका क्षेत्रीय कमिटीका अध्यक्षमा मध्यक्षेत्रका सु. गुमानसिंह राई, बतासे दिनुवा, दक्षिण क्षेत्रबाट वृषबहादुर राई साल्तिम इन्द्रेणीपोखरी र उत्तरक्षेत्रबाट विष्णुबहादुर राई दिङ्ला तुङ्छा थिए ।
०१७ सालपछिको अवधि
यसरी प्राप्त गरेको प्रजातन्त्रमाथि ०१७ पुस १ गते बलात् अपहरण गरिएपछि पुनः प्रजातान्त्रिक योद्धा यस व्यवस्थाविरुद्ध आवाज उठाउन थाल्छन् । पञ्चायती व्यवस्था स्थापना भएको एक वर्ष नबित्दै खोटाङे क्रान्तिकारी संघर्षका लागि जागरुक भएर कार्यक्षेत्रमा उत्रनु महत्वपूर्ण कार्य त थियो, थियो त्यो आफैंमा कम जोखिमपूर्ण कार्य थिएन । तर, यसको रत्तिभर पर्वाह नगरी ०१८ कात्तिकमा सर्वधन राई (सेरा खाल्ले), रेवामणि पोख्रेल (खार्पा), बमबहादुर राई (लफ्याङ) र कर्णबहादुर राई (खामखुवा) बीच गोप्य सल्लाह हुन्छ । जसअनुसार बमबहादुर र सर्वधन संगठन गर्न गाउँ–गाउँ जाने, रेवामणिचाहिँ कलकत्ता गएर हातहतियार र आर्थिक व्यवस्था जुटाउने सहमति हुन्छ ।
कार्यक्रम तय गरिएअनुसार रेवामणि कलकत्तातर्फ लागे भने सर्वधन आफ्ना सहयोगी लिएर खाम्तेल, बुइपा, बाम्राङ, बसेरी तथा बमबहादुर राईचाहिँ शम्भुसरस्वती श्रेष्ठ र पहलमान कार्कीलाई लिएर दोर्पा, नेर्पा, सोल्मा, बसेखातिर संगठन गर्न राति–राति हिँड्न थाले । यसरी काम गर्दै जाँदा ०१८ मंसिरको पहिलो साता बमबहादुर राई, शम्भुसरस्वती श्रेष्ठ र पहलमान कार्की दिक्तेलबजार पुग्छन्, त्यहाँको स्थिति बुझ्न । दिक्तेलबजारमा धनकुमार श्रेष्ठको घरमा पुगेपछि बमबहादुरहरू आएको कुरा अरू साथीहरूलाई पनि थाहा हुन्छ । त्यसपछि डिल्लीमान, गणेशबहादुर, मणिसुन्दर श्रेष्ठहरू त्यहाँ जम्मा भएर छलफल गर्छन् । थपिँदाथपिँदै एक/डेढ सयजति कार्यकर्ता त्यहाँ भेला भइसक्छन् । दिक्तेलको प्रहरी चौकी त्यहीँ नजिकै भएकाले त्यत्रो भीड बढेको कुरा उसलाई थाहा नहुने कुरै थिएन । तर, ठाना पनि डरले चुपचाप बसेको थियो । कार्यकर्ताहरू बमबहादुर राईलाई भन्न थाल्छन्, ‘तपाईं हामीलाई अर्डरमात्र दिनुहोस् । हामी अहिलै दिक्तेल चौकी लिन्छौं ।’
नभन्दै बमबहादुर राईले पनि सहमति दिए । सबैले चौकी घेरा हाले । राति नै चौकी कब्जामा लिए बमबहादुरको नेतृत्वमा संलग्न क्रान्तिकारीले । यसपछि सबैतिर हो–हल्ला मच्चियो । कहीं–कहीं विध्वंश पनि हुन थाल्यो । चारतारे झन्डा सिलाएर राति नै गाड्न थालियो । केही प्रहरी पक्राउ परे । केही भागे । केही थुनिए । अन्ततः उनीहरूले पनि बमबहादुरको नेतृत्वलाई समर्थन गरे । यसरी अकस्मात् र विनारक्तपातपूर्ण तरिकाले दिक्तेल चौकी कब्जा गरे, क्रान्तिकारीहरूले त्यसबखत ।
त्यसपछि बमबहादुरहरूले दिक्तेल जिल्लावासीलाई आह्वान गर्दै १६ देखि ६० वर्षसम्मका सबै व्यक्तिले हातहतियार, खुँडा, खुकुरी, बन्दुक जे छ त्यो लिएर दिक्तेलमा हाजिर हुन उर्दी जारी गरे । यसपछि केही हातहतियार जम्मा पनि भयो । अब दिक्तेलको उत्तरी क्षेत्रमा पर्ने अर्काे महत्वपूर्ण क्षेत्र ऐंसेलुखर्कलाई आफ्नो कब्जामा लिने क्रान्तिकारीको योजना थियो । यसका लागि दुई टोली निर्माण गरियो । एउटा टोलीको नेतृत्व बमबहादुर राईले गरे, जसमा भूतपूर्व सैनिकको संलग्नता थियो भने दोस्रो टोलीको नेतृत्व सर्वधन राईले गरे । बमबहादुरको टोली माक्पाको बाटो हुँदै ऐंसेलुखर्कका लागि प्रस्थान ग¥यो भने सर्वधनको टोलीचाहिँ दुबेको बाटोबाट अगाडि बढ्यो । दुवै टोली निर्दिष्ट स्थानमा पुगे । क्रान्ति सुरु भयो । तर, राति पुलिसले विद्रोहीलाई भागाभाग गराए । विद्रोही छिन्नभिन्न हुन पुगे । बमबहादुरलाई राति बाटैमा घेरामा पारेर पक्रिए । सर्बधन राई भाग्न सफल हुन्छन् । घटना भएको स्थान थियो– ऐंसेलुखर्क सदरमुकामभन्दा केही तल बेसारेडाँडा । समय थियो– ०१८ मंसिर ९ गते रातिको ।
त्यो लडाइँमा हामीसँग भरुवा बन्दुकमात्र भएकाले हामी टिक्न सकेनौँ घटनाका सहभागी स्व. बलबहादुर रुम्लादी राईले जीवित रहँदा सुनाएका थिए । उनलेचाहिँ टीकादत्त रेग्मी, कृष्णलाल दुलालसहित पश्चिमपट्टिबाट हमला गरेका थिए । यसरी दिक्तेल चौकी कब्जा गरेर उत्साहित क्रान्तिकारीको अर्काे योजना विफल भयो । ‘यो हतारको निर्णय थियो,’ क्रान्तिवाहक रेवामणि पोख्रेल त्यस काण्डबारे टिप्पणी गर्छन् । नभन्दै यस घटनामा थुप्रै योद्धा पक्राउ परे । जसमा बमबहादुर राई, धनवर्ण राई, बलबहादुर रुम्दाली राई, टीकादत्त रेग्मी, गणेशबहादुर श्रेष्ठ, उत्तरबहादुर राई, देवबहादुर राई, धनकुमार श्रेष्ठ, रक्षबहादुर राई, उत्तरबहादुर गुरुङ, मणिसुन्दर श्रेष्ठ, कर्णबहादुर राई, कृष्णलाल दुलाल, जैमलसेर राई, डिल्लीमान श्रेष्ठ, हप्दार राई, भूपध्वज राई, रत्नबहादुर थापा, जगतबहादुर राई (उनलाई कुटेर जेलमै मारियो) आदि थिए ।
पञ्चायतका आँखामा अपराधी ठहरिएका धेरै खोटाङेले पञ्चायतकालको प्रारम्भतिर लुक्दै छिप्दै रहनुप¥यो । यसैबीच काँग्रेसले सशस्त्र आन्दोलन आह्वान गर्न पुग्छ । ०२९ मा पञ्चायतविरुद्ध यसरी सशस्त्र आन्दोलन गर्ने प्रतिज्ञापत्र बोकेर काँग्रेका युवा नेता गोपाल राई, अनारसिंह कार्कीहरू खोटाङ आएका थिए । उनीहरूको आग्रहमा खोटाङका पुराना नेता देवराज ढकालले त्यसमा सही गरिदिएका थिए । यही बेला सुराकीको आरोपमा गोपाल राईहरू दिक्तेलमा पक्राउ परे । त्यही प्रतिज्ञापत्रमा सही गरेको आधारमा देवराज ढकाल पनि पक्राउ परे । पक्राउ परेका गोपाल राई, अनारसिंह कार्की र देवराज ढकाललाई राजविराज जेलमा राखियो । ०२९ देखि ०३२ सम्म यो आह्वानमा थुप्रै नेपाली क्रान्तिकारीले भाग लिँदै साहस र बहादुरी प्रदर्शन गरेका छन् । धेरै योद्धाले वीरगति प्राप्त गर्दै निरंकुशताको मुखमा झापड नहानेका पनि होइनन् ।
यसक्रममा खोटाङका क्रान्तिकारी सहभागी भएको अर्काे काण्ड हो– सोलु–ओखलढुंगा घटना । ओखलढुंगा सैनिक व्यारेक कब्जा गर्नेक्रममा क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा हिँडेको नेपाली काँग्रेसका क्रान्तिकारीको जमातमाथि टिम्बुरबोटेको जंगलमा ०३१ पुस १ गते निर्ममतापूर्वक दमन गरिन्छ । यस घटनामा थुप्रै होनहार तरुण सरकारी दमनको सिकार बन्छन् । खोटाङका थुप्रै क्रान्तिकारीले यस घटनामा वीरगति प्राप्त गरेका थिए । यसमा खोटाङको खार्तम्छा गाउँले अग्रणी भूमिका निर्वाह गरेको देखिन्छ ।
टिम्बुरबोटे काण्डमा वीरगति प्राप्त गर्ने खोटाङे
पदमप्रकाश पुरी, अर्खाैले
मदनबहादुर राई, बाक्सिला
होमनप्रसाद राई, बाक्सिला
वीरबहादुर राई, बाँसपानी
कटकबहादुर गुरुङ, दिक्तेल
माइला राई, हलेसी
कर्णबहादुर बस्नेत, मंगलटार
झांगसेर राई, खोटाङ
धामकशेर राई, दिक्तेल
होमसेर राई, खार्तम्छा
शिवकुमार राई, खार्तम्छा
श्यामकुमार राई, डुम्रे
ढाकबहादुर राई, खार्तम्छा
टीकाराम राई, खार्तम्छा
यसपछि पनि खोटाङमा विभिन्न समयमा प्रजातन्त्रको रखवारी गर्ने काममा खोटाङे अग्रसर भएका थुप्रै उदाहरण छन् । ०३६ को जनमतसंग्रहमा खोटाङमा पनि बहुदलका पक्षमा थुप्रै कार्यक्रम भएका थिए । यसक्रममा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य वीरेन्द्रकेशरी पोख्रेललाई निर्दलवादी पञ्चले मरणासन्न हुनेगरी पिटेर कालोमोसोसमेत घसेर बजार परिक्रमा गराएर अमानवीय कार्य गरेका थिए । यस समयमा जिल्लाका थुप्रै गाउँमा बहुदलको पक्षमा आमसभा र विविध काम गरिएका थिए । साबिक डुम्रेकोट गाउँ विकास समितिमा कृष्णप्रसाद दुलाल, खड्गबहादुर पोख्रेल, शिवशंकर अधिकारी, बलबहादुर राई, धनबहादुर गुरुङ, मोहन राई, चिरञ्जीवी रिजाल आदि थिए भने जिल्लाको दक्षिणी भेगमा रेवतीरमण ओझा, पेसलकुमार राई, अम्बिका लम्साल, मोतीलाल उदास, जयबहादुर राई थिए ।
त्यस्तै, यही क्षेत्रको पञ्चमी बजारमा बमबहादुर राई, पेसलकुमार राई, जसबहादुर राई, नरबहादुर राई आदि थिए । साबिक छोरम्बु गाविसमा भएको कार्यक्रममा तुलसीप्रसाद रेग्मी, डिल्लीकुमार राई, शुभकुमार राई, कुमार आचार्य, रकमबहादुर राई, जयप्रसाद राई, नरेन्द्रकुमार राई, पेसलकुमार राई आदिले विविध कार्यक्रम र आमसभा गरेर बहुदलको पक्षमा चेतना जागृति गरेका थिए । त्यसो त बलबहादुर रुम्दाली, खड्गबहादुर पोख्रेल, कोशलराज रेग्मी, विदुर पौडेल, शिवशंकर अधिकारी, रत्नबहादुर राई, ज्योतिखर आचार्य, इच्छबहादुर राई आदिको सक्रिय सहभागितामा बहुदलको पक्षमा चुनाव प्रचार–प्रसार, पर्चा, पोस्टर र विभिन्न गाउँमा सभा गरेका थिए ।
जनमतसंग्रहमा पञ्चायतको विजयपछि बहुदल समर्थकमाथि दमन सुरु भयो । हलेसी, मंगलटार, खोक्सेली, च्यास्मिटार आदि गाउँमा बहुदलमाथि आतंक मच्चाउने काम गरियो । खोक्सेलीका बयोवृद्ध कृष्णप्रसाद दाहाललाई मरणासन्न हुनेगरी पिटिएको थियो (आचार्य, २०४२ः८०१) ।
जिल्लाबाहिर रहेर पनि कतिपय खोटाङेले यस समयमा अनेकौं योगदान दिएका थिए । काठमाडौं अध्ययनक्रममा रहेका छोरम्बु गाविसका विष्णुकुमार राई पोस्टर टाँस्नेक्रममा काठमाडौंको नयाँसडकबाट पक्राउ परेका थिए भने डाँडागाउँका अशोक अविरल राईले पनि त्यसताका काठमाडौंमा बसेर महत्वपूर्ण योगदान दिएका थिए ।
०४६ को जनआन्दोलनमा खोटाङका प्रजातन्त्रवादी नेता तथा कार्यकर्ताले सगरमाथा अञ्चलको एउटा अति दुर्गम र विकट जिल्ला खोटाङमा प्रजातन्त्र प्राप्तिका लागि यत्तिका घटना हुनु तथा यत्तिका योद्धाले ज्यान गुमाउनु चानचुने कुरा होइन । प्रजातन्त्र प्राप्तिपछि समेत लगभग चर्चा प्रसंगबाट टाढा र झन्डै बिर्सनै लागेका यस्ता घटना र सहयोद्धाको कुनै खोजखबर र सम्मान हुन नसक्नु झनै दुःखद विषय हो । यी घटनामा ज्यान अर्पने सहिद परिवार तथा प्रजातान्त्रिक योद्धामध्ये कत्तिको अहिले निधन भइसकेको छ भने कोही मुग्लान पस्न बाध्य छन् । अझ कति त सुकुम्वासी जीवन बिताइरहेका छन् । अतः उनीहरूको खोजी र अभिलेखसम्म मात्र राख्न सकिए पनि एउटा सानो सम्मान दिएको ठहर्छ । हुन त केही समय अगाडि देशभरिका जीवित प्रजातन्त्र सेनानीलाई आमन्त्रण गरेर नेपाली काँग्रेसले जुन सम्मान दियो, त्यसको सर्वत्र प्रशंसा गरिएको छ । यस्ता कामलाई निरन्तरता दिइरहनुपर्ने देखिन्छ ।
सन्दर्भ–सामग्री
(क) पुस्तक सूची
अधिकारी, शास्त्री हेमराज (२०५८), आजको नेपाल, काठमाडौं ः श्रीमती चन्द्रकला अधिकारी ।
आचार्य, गिरिराज (२०४२), जनमतसंग्रह दर्पण, धरान ः इन्द्रनाथ बास्तोला ।
थुलुङ, नारदमणि (२०४५), बिर्सेका अनुहार ः बिर्सन नसकिएका घाउहरू, काठमाडौं ः प्रतिनिधि प्रकाशन ।
नेपाल, ज्ञानमणि (२०४०), नेपाल निरूक्त, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, नेपाल ।
प्रधान, परशुराम र जोशी, कृष्णप्रसाद (२०५३), २००७ सालको क्रान्ति र नारदमुनि थुलुङ
स्मृति परिषद् ।
भट्टराई, तीर्थराज (२०६९), नेपाली काँग्रेस र भ्रातृ संस्था, सहिद कालुमान गुरुङ स्मृति प्रतिष्ठान नेपाल ।
रेग्मी, नगेन्द्रराज (२०५३), खोटाङ जिल्लाको साहित्यिक रूपरेखा, खोटाङ जिल्ला विकास समिति ।
सुवेदी, धनप्रसाद (२०६६), खोटाङ जिल्ला : विगत र वर्तमान, रावा–सावा प्राज्ञिक समाज काठमाडौं ।
शिवाहाङ, जय (२०६४), जननायक सहिद रामप्रसाद, भुवनकुमारी राई, कृष्णकुमारी राई
(ख) पत्रिका सूची
रेग्मी, नगेन्द्रराज (सं) (२०५८) खोटाङ पुकार, (वर्ष ३, अंक १) पृ. ३–३८ काठमाडौं ।
भट्टराई, विशाल, प्रजातान्त्रिक आन्दोलनमा खोटाङ, खोटाङ पुकार, वर्ष ३, अंक १ ।
(ग) स्रोत व्यक्ति
तुलसीप्रसाद रेग्मी, मार्से, बतासे खोटाङ । हाल : गाईघाट, उदयपुर ।
देवराज ढकाल, छिप्ती, बुइपा खोटाङ ।
बमबहादुर राई, लफ्याङ, खोटाङ ।