बेलायती सेनामा भर्ती भएर अरूको भन्दा उच्च शैलीमा जीवन बिताउने रहरले थुपै्रले देखेका हुन्छन् । बेलायती सेनामा भर्ना हुन पोखराबाट गेटपास पाउनुपर्छ । बेलायती सेना र सिंगापुर पुलिस बन्ने सपना सँगालेका उनीहरू पोखराका चोकचोक र डाँडाकाँडामा शारीरिक अभ्यास गर्ने गर्छन् ।
एसएलसी उत्तीर्ण १७ वर्ष ६ महिनादेखि २१ वर्षबीचका युवा ब्रिटिस लाहुरेका लागि हुने उमेर हदबन्दी हो । ५ फिट ३ इन्च उचाइ र ५० किलो वजन शारीरिक रूपमा न्यूनतम योग्यता हुन् । शारीरिक÷शैक्षिक योग्यता र अन्य कागजातसँगै छाती नफुलाउँदा ३१ र फुलाउँदा ३३ इन्च भएको, १२ पटक भिम, ७० पटक सेटअप, त्योबाहेक उम्मेदवारको डोकोमा २५ किलो भारी बोकेर दुई माइल उकालो ४८ मिनेटमा पूरा गर्नुपर्छ । यो परीक्षामा सफल हुने डिस्ट्रिक रिक्रुट अफिसर (डीआरओ) को परीक्षामा सहभागी हुन्छ । डीआरओ परीक्षाको नतिजा टाँसिएकै दिनदेखि युवा पोखराको ब्रिटिस क्याम्पमा बस्न थाल्छन् र त्यही दिनदेखि उनीहरूको सम्पूर्ण खर्च बेलायतले बेहोर्छ । त्यसको एक महिनापछि अन्तिम छनोट हुन्छ । यसरी भर्ती गरिएकामध्ये केहीलाई सिंगापुर पुलिस र बाँकीलाई ब्रिटिस सेनामा लगिन्छ ।
हरेक वर्ष देशैभरिबाट भर्तीको तयारी गर्ने युवाको संख्या ८० हजारदेखि एक लाखको हाराहारीमा हुन्छ । तर, तीमध्ये बेलायती सेना र सिंगापुर पुलिस बनेर जानेको संख्या भने तीन सय १० को हाराहारीमा मात्रै हुने गरेको छ । तीमध्ये प्रत्येक वर्ष ८० जना सिंगापुर पुलिस र बाँकी ब्रिटिस सेना हुन्छन् ।
सामान्यतया असारमा लाहुरेका लागि आवेदन खुला हुने भए पनि केही युवा वैशाखदेखि नै पूर्वतयारीमा जुटिसकेका हुन्छन् । पूर्वतयारीका लागि पूर्वदेखि पश्चिमसम्मका युवा पोखरामै बस्छन् । ब्रिटिस सेनामा भर्ती हुनका लागि सालिन्दा हजारौं युवाले प्रतिस्पर्धा गर्छन् । सुरुका दिनमा गाउँघरमै गल्ला लिने, त्यसकोलगत्तै धरान, काठमाडौं र बुटवलमा समेत छनोट हुने गरेकोमा अहिले पोखरामा मात्र छनोट हुन्छ । उम्मेदवारको संख्या बढ्दै जाँदा प्रतिस्पर्धा पनि निकै चर्को हुने गरेको छ । यही मौकाको फाइदा उठाउँदै नेपालका विभिन्न सहरमा लाहुरे बन्न प्रशिक्षण दिने तालिम केन्द्र फस्टाएका छन् ।
सबै केन्द्रमा युवालाई जुडो कराते, तेक्वान्दो, जिम, फुटबल, बास्केटबल, भलिभबल, अंग्रेजी भाषाको ज्ञान दिने गरिएको छ । त्यतिमात्र हो र ? लाहुरे बन्न आवश्यक शारीरिक तयारीसँगै भाषाको ज्ञान तथा चम्चाकाँटाले खानेदेखि ट्वाइलेट पेपर चलाउनेसम्म सीप सिकाइन्छ ।
दोसो विश्वयुद्ध चलिरहेका बेला नेपाली युवाले भर्ती हुन प्रतिस्पर्धा नै गर्नुपर्दैनथ्यो । घरघरबाटै फकाएर लगिने त्यो समयमा १४–२९ वर्ष उमेर समूहका नेपाली युवा सजिलै भर्ती हुन सक्थे ।