खोटाङको उत्तर–पश्चिममा साबिक सल्ले गाउँ विकास समिति रहेको छ । हलेसी तुवाचुङ नगरपालिकाको ११ वडामध्ये सल्ले पनि एक हो । साबिक सल्ले गाविस अहिले हलेसी तुवाचुङ नगरपालिकाको ९ नम्बर वडा भएको छ ।
जिल्ला सदरमुकाम दिक्तेलबाट १५ किलोमिटर उत्तर–पूर्वमा रहेको सल्लेको नाम कसरी रहन गयो होला ? यसबारे थुप्रै किंवदन्ती छन् । त्यसमध्ये प्रचलित किंवदन्तीअनुसार सल्लाका रूख प्रशस्तै पाइने भएकाले यस ठाउँको नाम सल्ले रहन गएको हो ।
सल्लेको कुल क्षेत्रफल १६०४.६७ हेक्टर वा १६.०५ वर्गकिलोमिटर रहेको छ । समुद्री सतहबाट ६०० देखि २००० मिटर उचाइमा रहेको सल्ले २७ डिग्री १२ मिनेट १५ सेकन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री १४ मिनेट ४० सेकेन्ड दक्षिणी अक्षांशसम्म र ८६ डिग्री ३५ मिनेट ४० सेकेन्ड पूर्वी देशान्तरदेखि ८६ डिग्री ४० मिनेट १५ सेकेन्ड पश्चिमी देशान्तरसम्म फैलिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–९ नम्बर वडाका सिमाना पूर्वमा हलेसी तवाचुङ नगरपालिकाको १० नम्बर वडा अर्खौले, पश्चिममा दूधकोसी नदी ओखलढुंगा, उत्तरमा लामीडाँडा गाउँपालिका र दक्षिणमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार र ७ नम्बर वडा महादेवस्थान पर्छ ।
सल्लेको भूबनावट उत्तर–दक्षिण खुम्चिएको छ भने पूर्व–पश्चिम लम्बिएको छ । बेंसी, डाँडापाखा, पखेरा, खोलाखोल्सी, भीरपहरा, नदीनाला, झरना, पखेराले सल्लेको शान बढाएको छ । ४,४२५ कित्ता नम्बर रहेका जग्गाको कुल क्षेत्रफल १ करोड ४४ लाख ८३ हजार ६७० वर्गमिटर जमिन खेतीयोग्य रहेको छ । यसैगरी, ६७ लाख ७४ हजार ८५५ वर्गमिटर जंगल र १ लाख ५६ हजार ८५० वर्गमिटर जमिन सार्वजनिक गौचरनमा रहेको छ । यहाँको माटो कालो, रातो, फुस्रो, सेतो, बलौटे, पहेंलो र खैरो रङको रहेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा महिला ८१८ र पुरुष ६९७ गरी कुल जनसंख्या १ हजार ५०७ रहेको छ । घरधुरी सर्भेक्षण २०७३ अनुसार महिला १ हजार १०१ र पुरुष १ हजार १५४ गरी कुल जनसंख्या २ हजार २५५ रहेको छ । यस वडामा राई, मगर, नेवार, बाहुन, भुजेल, विश्वकर्मा, क्षेत्री, दमाई, माझी, सार्की र सन्यासी जाति बसोवास गर्छन् । विविध जातजातिको बसोवास भए पनि सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावमा बाँधिएका छन् ।
भौगोलिक विकटताको बाबजुद पनि सल्लेमा पर्याप्त हरियाली भएकाले व्यावसायिक पशुपालन गरी आयआर्जन बढाउन सकिन्छ । पशुपालन हुने भएपछि दुग्ध व्यवसाय गरेरसमेत जीविकोपार्जन गर्न सकिन्छ । तर, जाँगर चाहिन्छ । यहाँ महादेवबेंसी, हात्तीटारजस्ता बेंसी, चक्कुखोला, तिर्पाखोलासँगै सल्लेको काखैमा बग्ने दूधकोसीबाट आधुनिक प्रविधि प्रयोग गरी सिञ्चाइ सुविधा लिन सकिन्छ । सिञ्चाइ भएपछि कृषि उत्पादन बढाउन सकिने नै भयो । भूबनावट तथा हावापानीअनुसार यहाँ विभिन्न जातका फलफूल र मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी आयआर्जन गर्न सकिन्छ । उत्पादित उत्पादन कृषि संकलन केन्द्रमा संकलन गरी हाटबजारसम्म लगेर बिक्री गर्न सकिन्छ ।
सल्लेमा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थल धेरै भएकाले पर्र्यटन व्यवसायको सम्भावना त्यत्तिकै छ । यहाँ १९ रोपनी क्षेत्रफल ओगटेको सल्ले पोखरीको धार्मिक र ऐतिहासिक महत्व कम्ती छैन । किंवदन्तीअनुसार ५ सय वर्षअघि नै अस्तित्वमा रहेको सल्लेपोखरीलाई दूधकोसीको नाइटो भन्ने गरिन्छ । पोखरीवरिपरि रहेको रूखबिरुवाको पात पोखरीमा खस्दा चराले टिपेर फ्या“क्ने र पोखरी सफा गथ्र्यो । पोखरीको चारैतिर रिङ र पार्किङ स्थल बनाई अन्य भौतिक संरचना विकास गर्न सके पर्यटक लोभ्याउन सकिन्छ ।
पछिल्लो समय त्रिधार्मिक हलेसी आइपुगेका तीर्थालु सल्लेपोखरीसम्म आउन लोभिएका छन् । यहाँबाट उत्तरतिर मनोरम दृश्य हेर्न सकिन्छ । सल्ले आइपुगेकाले धार्मिक मान्यताअनुसार दूधकुण्डबाट बगेर आएको दूधकोसी नदीमा स्नान गरी पुण्य कमाउन सक्छन् । यसैगरी, यहाँ भीमसेन मन्दिर, शिवदुर्गा मन्दिर, किरात राई समुदायको उद्गमस्थल मानिने प्राकृतिक सौन्दर्यता बोकेको सोलेमपाखा, खोचिलिपा धारा, थुम्की भूमेथानजस्ता धार्मिक तथा प्राकृतिक स्थलले सल्लेलाई सुन्दर बनाइदिएको छ । उल्लिखित धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सके पर्यटन व्यवसाय अँगालेर सल्लेवासी आत्मनिर्भर बन्ने नै छन् । त्यसैगरी सल्लेलाई समृद्ध वडा बनाउन सकिन्छ ।
(लेखक हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष हुनुहुन्छ ।)