काठमाडौं । राष्ट्रियसभा पूर्वसांसद एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मस्तिष्काघातका कारण ७७ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि पूर्वसांसद पौडेललाई मस्तिष्काघात भई उपचारका लागि सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।
काँग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्यसमेत रहेका पौडेल पछिल्लो समय भतिज परमेश्वर पौडेलका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेनिवासी अविवाहित पौडेल ६ जना दाजुभाइमध्ये जेठा हुन् । वृहत्तर हलेसी गुरुयोजनाका सल्लाहकारसमेत रहेका स्व. पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
सदाचार एवं इमानदार नेताको छवि बनाएका उनले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । प्राध्यापनपछि उनी राष्ट्रियसभा सांसद बनेका हुन् । पूर्वीय दर्शनका जारकार सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवम् पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।