अमेरिकाबाट नेपाल आएर विपश्यना शिविरमा



आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी धनबहादुर महर्जनलाई १२औं पटकसम्म विपश्यना ध्यान केन्द्र धर्मश्रृङ्ग धाउन उमेरले रोक्न सकेन ।

मौन व्रत लिएर दैनिक १७ घन्टासम्म ध्यान गर्नुपर्ने दसदिने योे कठिन साधनामा जान उमेरले साथ दिँदैन भनेर घरपरिवार र छिमेकीले सुझाए पनि ८२ वर्षीय धनबहादुरले बूढानीलकण्ठस्थित धर्मश्रृङ्ग गएर पछिल्लोचोटि सम्पन्न सो शिविरमा साधक बने । मनग्य भोजन र निद्रा नपाइने भएकाले विपश्यना ध्यान सबैका लागि दुष्करै हुन्छ । उमेरले डाँडो काटे पनि र आधा घन्टासम्म उभिन कठिन भए पनि स्वस्थ र चम्किलो अनुहार देख्दा र कुरा सुन्दा लाग्छ उनी विपश्यनाकै कारण निरोगी भएका हुन् ।

प्रायः एकादशी, शिवरात्रिलगायतका चाडमा पशुपति गएर महदेवको दर्शन गरी सेलरोटीको प्रसाद खानुपर्ने बानी भएका धनबहादुर जीवनको उत्तराद्र्धतिर विपश्यनाबाटै प्रभावित भए र अहिले उनी बुद्धका अनुयायीका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।

चारपटकसम्म विभिन्न चरणका विपश्यना ध्यान बसेका अमेरिकाको टेक्सास राज्यका भिक्षु यु सारियाले पनि भगवान् बुद्धको जन्मभूमि नेपालमा आएर एकपटक विपश्यना ध्यान शिविर बस्ने आफ्नो लालसा पूरा गरे । ध्यान बसेर आनन्दविभोर भए ।

अमेरिका प्रवेश गरेका थाइल्यान्डका शरणार्थीलाई सहयोग गर्दै आएको एक गैरसरकारी संस्थामा कुनै बेला काम गरेका उनले ती शरणार्थीले बनाएको बौद्ध मन्दिर र उनीहरूको जीवनशैलीबाट प्रभावित भएर आफूमा बौद्ध भिक्षु बन्ने सोच पलाएको उनले बताए । त्यस्तै, परिवारलाई समेत कुनै जानकारी नदिई दुई वर्षअघि श्रीलंका पुगेर भिक्षु भएका २६ वर्षीय जापानी भिक्षु दाइकी नेपालमा विपश्यना ध्यान शिविर चल्ने गर्छ भन्ने सुनेर पहिलोपटक नेपाल आएको र शिविरमा बस्न पाएर आफू धेरै नै खुसी भएको बताए । आफ्नो बाटो आफैंले रोज्नुपर्छ भन्ने मान्यता राख्ने उनी भन्छन्, ‘विपश्यनाबाट धेरै समस्या समाधान गर्न सकिने रहेछ । त्यसकारण यसबारे कुरामात्र गर्नुभन्दा निरन्तर अभ्यास गर्नु राम्रो हुन्छ ।’

के हिन्दु, के बौद्ध, के मुस्लिम, के जैन, के शिख, के इसाई सबै धर्म र सम्प्रदायका व्यक्तिको हिजोआज यसप्रति आकर्षण बढ्न थालेको छ । श्रीलंका, म्यानमार, थाइल्यान्ड, अमेरिका, इजराइललगायतका मुलुकमा समेत विपश्यनाका विभिन्न चरणका ध्यान शिविर सञ्चालन हुँदै आएका छन् । भगवान् बुद्धको जन्मभूमि भएकैले होला नेपालको बूढानीलकण्ठस्थित धर्मश्रृङ्गलगायतका स्थानमा विश्वभरिबाट थुप्रै विपश्यना साधक ध्यान गर्न आइरहेका हुन्छन् ।

चित्त निर्मल बनाउने, सुख र शान्ति पाउने, निरोगी हुने, अध्ययनलाई राम्रो बनाउने र लक्ष्यमा पुग्ने चाहना राख्ने महिला, पुरुष, युवा वा पाका व्यक्तिका लागि मात्र हैन बालबालिकाका लागि समेत छुट्टै विशेष ध्यान शिविर सञ्चालनमा छन् ।

विश्वमा धर्मकै नाममा बेलाबखत सामाजिक विग्रह र द्वन्द्व निम्तिएर युद्धजस्ता विध्वंशकारी घटना हुँदै आएकाले त्यसबाट विरक्तिएका मानिसमा सत्मार्गको खोजीमा लागेका हुन्छन् । भगवान् बुद्धको उपदेशको सार हो– धर्म सर्वदेशिक, सर्वकालीन र सर्वजनिन हुन्छ । प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो । यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन । सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु । यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन् ।

सबै ठाउँ, सबै काल र सबैका लागि धर्म समान रूपले कल्याणकारी हुन्छ । तर, धर्मका नाममा गरिने क्रियाकलापले हिजोआज विशुद्ध लोककल्याणकारी काममा भन्दा पनि साम्प्रदायिकता र रीतिरिवाजका रूप प्रकट भएको पाइन्छ । विपश्यना आजभन्दा करीब दुई हजार ५०० वर्षअघि बुद्धले स्वयम्ले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ ।
जुन जस्तो छ, त्यसलाई साक्षी भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो– विपश्यना । ध्यान शिविर चलिरहँदा कुनै धर्मको वकालत गरिँदैन र ध्यान सिकाउने आचार्यले कुनै कुरामा पनि आशक्ति नजगाउन निर्देशन दिइरहेका हुन्छन् ।

विपश्यना ध्यान गर्न चाहने साधकलाई झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रह्मचर्या पालन गर्ने र नशालु पदार्थ नखाने नियमभित्र रहेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रित गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछ । बाँकी साढे ६ दिन विपश्यना अभ्यास गर्दै अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउन लगाइन्छ । यसक्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा चेतसिक स्कन्धको छेदन गर्न सक्छन् । दस दिनको शिविरमा नौ दिनसम्म पूर्ण रूपमा मौन बस्नुपर्ने नियम छ र दसौँ दिन मात्र साधकलाई बोल्न अनुमति दिइन्छ ।
पुराना साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन् । नेपाललगायत विश्वका कुनै पनि देशमा सञ्चालित यस्ता शिविरमा शुल्क लिइँदैन । साधकको स्वेच्छाको दानबाट मात्रै यस्ता शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्