‘भ्युटावरजस्तै लाग्यो,’ भुम्जुमा भेटिएका हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले भुम्जुको बयान गरे, ‘एकैठाउँ बसेर सात जिल्ला देख्न पाउनु भनेको भ्युटावरजस्तै त हो नि ।’
भुम्जु पुग्नेलाई हलेसी सूचना केन्द्र प्रमुख राईको भनाइ मान्न करै लाग्छ । भुम्जुबाट चारै दिशा हेर्दा जोकोही आनन्दित हुन्छन् । दूधकोसी र सुनकोसीले अँगालो हालेजस्तै देखिने भुम्जुको उत्तरपट्टि दूधकोसी र दक्षिण–पश्चिमबाट सुनकोसी अविरल बगिरहेका छन् । दूधकोसी र सुनकोसीको गलबन्दी लगाएर भुम्जु गमक्क परेजस्तो देखिन्छ ।
खोटाङका वाम्बुले राई समुदायले भुम्जुलाई सांस्कृतिक स्थलका रूपमा स्वीकारेका छन् । भुम्जुको नाम लिनासाथ लिब्जु र दिब्जुको प्रसंग आउँछ । लिब्जु र दिब्जु मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगामा पर्छ । ‘भुम्जुमा बादल लाग्यो भने लिब्जुमा पानी पर्छ,’ वाम्बुले राई समाज (वाम्रास) खोटाङ अध्यक्ष विनोद वाम्बुलेले जानकारी गराए, ‘लिब्जुमा बादल लाग्यो भने भुम्जुमा पानी पर्छ ।’
वाम्बुले राई समाज (वाम्रास) खोटाङ अध्यक्ष वाम्बुलेको भनाइसँग पत्रकार गणेश राई सहमत छन् । ‘मेरो घर सोक्माटार, ओखलढुंगाबाट लिब्जु देखिँदैन । भुम्जुचाहिँ देखिन्छ,’ पत्रकार राईले सुनाए, ‘भुम्जुले बादलको पगरी गुथ्यो भने लिब्जुमा पानी पर्छ ।’ भुम्जु पुगेकालाई यस्तो अचम्मलाग्दो वास्तविकता सुनाइँदा जोकोही तीनछक पर्छन् ।
भुम्जुको कुइरेथुम्कामा कालिका देवीथान छ । कटुसको फेदमा कालिका देवीथान रहेको छ । कालिकाथानसँगै रहेको कटुसको रूखलाई सालिन्दा फन्को मारेर कर्याङकुरुङ वैशाखे पूर्णिमा उँभो र मंसिरे पूर्णिमा उँधो लाग्छन् । देवीथानमा सालिन्दा वैशाखे पूर्णिमामा बलि चढाइन्छ । ‘कुइरेथुम्काको एउटै डाँडामा २४ वटा देवीथान छन्,’ स्थानीय टीकाबहादुर खत्री बोले, ‘तीमध्ये कतिपय देवीथानमा दूध चढाइन्छ । धुप बालिन्छ भने कतिपयमा बलि दिइन्छ ।’
खोटाङका वाम्बुले राईले आफ्नो समुदायको उद्गम स्थल भुम्जु हो भनेर गौरव गर्छन् । सांस्कृतिक स्थलमात्रै भनियो भने भुम्जुको परिचय अधुरो हुन्छ । भुम्जु सम्भावना बोकेको पर्यटकीय स्थल पनि हो । ‘यहाँबाट सोलुखुम्बु, ओखलढुंगाका दक्षिण–पश्चिम र उदयपुरका पहाडी भू–भाग देखिन्छन्,’ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा भुम्जुका महलबहादुर राईले जानकारी गराए, ‘त्यतिमात्रै होइन, यहाँबाट खोटाङबाहेक सिन्धुली, रामेछाप र भोजपुरका केही भू–भाग पनि देखिन्छन् ।’
एकैठाउँ बसेर हिमाल र पहाड नियाल्नुको आनन्द अरूसँग तुलना गर्न सकिँदैन । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य नियाल्न पाउँदाको बयान शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐंसेलुखर्कनिवासी किशोर चाम्लिङ जीवनमा पहिलोपटक भुम्जु पुगेका थिए । ‘यहाँबाट सूर्यास्तको दृश्य नियालें,’ भुम्जुबाट घर फर्कंदै गर्दा भेटिएका तुवाचुङ टीभीका निर्देशक चाम्लिङको भनाइ थियो, ‘यहाँबाट देखिएको सूर्यास्तको लोभलाग्दो दृश्य संसारको अन्य ठाउँबाट देख्न सायदै पाइएला ।’
चारैतिर जंगलले घेरिएको भुम्जु हलेसी तुवाचुङ नगरपालिकाको उचाइमा रहेको पर्यटकीय स्थल हो । कटुस, लालीगुराँस, चिलाउने, पात्ले, सल्ला र काफलले सिँगारिएको भुम्जुमा घाँस–दाउरा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी अध्यक्ष सुरेन्द्रकुमार राईलाई हिजैजस्तो लाग्छ ।
‘पहिले–पहिले घना जंगल थियो । गाईबस्तु चराउँदै, बाँसुरी बजाउँथ्यौं । हिजोआज त बाँसुरी बजेको सुन्न छाडियो,’ स्थानीय महलबहादुर राईले सुझाए, ‘जंगल पातलिँदै गएको छ । भुम्जुलाई पहिलेकै अवस्थामा फर्काउन एउटा रूख काट्नेले दुई बिरुवा रोप्न ढिला गर्नुहुँदैन ।’
नेपाली नयाँ वर्षमा सालिन्दा भुम्जुमा भीडभाड लाग्छ । ‘माघ, फागुन र चैतमा विदेशी नागरिक भुम्जु टेक्छन्,’ स्थानीय नारायण खत्रीले सुनाए, ‘र्याफटिङमा आएका विदेशी नागरिक डिकुवाबाट हिँड्दै आउँछन् । कहिलेकाहीं त टेन्ट टाँगेर रात बिताउँछन् ।’
भुम्जु वनभोजका लागि त्यत्तिकै उपयुक्त मानिन्छ । बाहुनीडाँडा, डिकुवा र च्यास्मिटारवासीका लागि वनभोज खाने रोज्जा ठाउँ भुम्जु नै हो । एकताकाको भैंसीर्खक भुम्जुमा चहलपहल बढेपछि फोहोर देखिन थालेको छ । वनभोज खानेले गरेको फोहोर यत्रतत्र देखिन्छन् । शौचालय अभाव छँदै छ । ‘भुम्जु सानोतिनो भ्युटावर नै भए पनि भ्युटावर बनाउन पाए पलासको फूलमा सुगन्ध भेटेसरह हुन्थ्यो,’ स्थानीय तेजबहादुर खत्रीले आह्वान गरे, ‘भुम्जु आउन सजिलोका लागि सिमलचोरबाट सिँढी निर्माण भइरहेको छ । च्यास्मिटारबाट आउनेलाई सालचौतारा र दाम्लीबाट आउनेलाई भन्ज्याङबाट सिँढी निर्माण आवश्यक छ ।’
रात बिताउनेगरी भुम्जुमा पर्यटक पुगेका छैनन् । रात बिताउनेगरी पाहुना आइहालेमा व्यवस्थापन गर्न सक्छौं भन्ने स्थानीयको दाबी छ ।
खोटाङे वाम्बुले राईले लिब्जु र भुम्जुलाई दिदीबहिनी भन्ने गर्छन् । तर, ओखलढुंगाका वाम्बुले राईले लिब्जु, भुम्जु र दिब्जुलाई आदिम पुर्खा (पुरुष)का रूपमा श्रद्धा गर्ने किरात राई यायोक्खा केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष जीवन हाताचो राईले जानकारी गराए । ‘हामीले लिब्जु जेठो, भुम्जु माइलो र दिब्जुलाई कान्छा बाजेका रूपमा श्रद्धा गर्छौं,’ किरात राई यायोक्खा केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष राईले थपे, ‘वाम्बुले समुदायले कुलपित्र गर्दा लिब्जु र भुम्जुको उच्चारण गर्छन् । दिब्जुको नाम लिइँदैन ।’
मानेभन्ज्याङ गाउँपालिका–२ ओखलढुंगामा लिब्जु, मानेभन्ज्याङ गाउँपालिका–४ मा दिब्जु र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा खोटाङमा भुम्जु रहेको छ । ‘लिब्जु, भुम्जु र दिब्जु प्राकृतिक राजा थिए । त्यसमध्ये पनि लिब्जु जन्मँदै राजा हुन्,’ मानेभन्ज्याङ गाउँपालिका–३ वडाध्यक्ष मेडल राईले वास्तविकता खोतले, ‘लिब्जुपछि भुम्जुले राज्य गरे पनि दिब्जुले राज्य गर्न पाएनन् ।’