पानीमै संसार देख्ने, पानीमै रमाउने बोटेको पेसा संकटमा



तनहुँको व्यास नगरपालिका–१० बोटेटारका स्थानीय बोटे जातिको पेसा संकटमा पर्दै गएको छ । नदीको पानीलाई जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा प्रयोग गर्दै आएका बोटे जाति अहिले पेसा नै संकटमा परेपछि रनभुल्लमा छन् ।

समयको विकासक्रमअनुसार नदीमा पुल बनेपछि उनीहरूले डुंगा चलाउने पेसाबाट अलग्गिनुपर्यो । सुन छान्ने काममा लाग्ने समय र त्यसबाट प्राप्त हुने प्रतिफलबीच निकै अन्तर पर्न थालेपछि उनीहरूलाई गुजारा चलाउन गाह्रो परेको हो ।

‘जीविकोपार्जनका लागि अपनाइएको माछा मार्ने काम पनि नदीमा विष हाल्ने, करेन्ट लगाउन थालियो,’ स्थानीय सोमबहादुर बोटे भन्छन्, ‘प्राकृतिक स्रोत अव्यवस्थित रूपमा ठेक्का लगाउने गर्दा पेसा संकटमा पर्न थालेको हो ।’

पानीमै संसार देख्ने र पानीमै रमाउने उनीहरू हिजोआज जीविकोपार्जनकै लागि नजानेका वा थाहा नपाएका पेसामा होमिन बाध्य छन् । कोही बालुवा संलकन गर्ने, कोही इँटाभट्टामा काम गर्ने गर्छन् भने केही महिला सामूहिक रूपमा कुखुरापालनमा लागेका भेटिन्छन् । बोटेको मुख्य पेसा संकटमा पर्न थालेपछि कतिपयले वैकल्पिक पेसा अपनाएका हुन् ।

यहाँका तीनजना वैदेशिक रोजगारीमा छन् । अरू तीनजना नेपाल प्रहरी र एकजना सरकारी सेवामा छन् । यहाँका नौजनाले एसएलसी उत्तीर्ण गरेका छन् । तर, स्थानीय विद्यालयमा उनीहरूले रोजगारीको अवसर पाएका छैनन् ।

बोटेटारमा बस्दै आएका बोटेको पुख्र्याैली थलो तनहुँ सदरमुकाम दमौली हो । २०२५ मा बन्दीपुरबाट जिल्ला सदरमुकाम दमौली सर्ने भएपछि सरकारले उनीहरूलाई अन्यत्र सारेको ६५ वर्षीय सोमबहादुर बोटेले जानकारी गराए । दमौली छाड्दा १६ घर थिए । अहिले बोटेटारमा मात्र ३२ घर पुगेका छन् ।

३२ घरमा १५० जना छन् । दमौली छाड्ने बेला तत्कालीन जिल्ला विकास समितिले उनीहरूलाई बस्ने ठाउँ रोज्न आग्रह गरेको थियो । पानीसँग सधैं खेल्ने जाति भएको हुँदा उनीहरूले नदीकिनारको समथर टार रोजे । त्यही टार उनीहरू बसेपछि बोटेटार भयो । दमौली छाड्दा सरकारले उनीहरूलाई क्षतिपूर्तिस्वरूप प्रतिपरिवार १३ रोपनी जग्गा उपलब्ध गराएको थियो । विडम्बना, आज यो बस्तीमा तीन÷चार रोपनीभन्दा बढी जग्गा भएका कुनै बोटे पाइँदैन ।

‘नदीमा माछा कम हुँदै गए । सुन पनि पहिलेजस्तो पाइन छाड्यो । त्यसैले खानकै लागि जग्गा बेच्नुको विकल्प रहेन,’ उनले वास्तविकता बताए, ‘त्यतिमात्र होइन, दमौली छाड्ने बेला सरकारले तत्काल खर्चस्वरूप उपलब्ध गराएको प्रतिघर ६०० रुपियाँ पनि घर खर्चमै सकियो ।’
दमौलीलाई सदरमुकामका लागि खाली गर्न बोटे समुदायलाई नदीकिनार सारियो । प्रत्येक घरलाई जीविकोपार्जनका लागि जग्गा पनि दिइयो । तर, भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, सिँचाइलगायत सेवा उपलब्ध गराइएन । आखिर जग्गाले मात्र खान दिने त थिएन । त्यसैले जीविकोपार्जनका लागि बाध्य भएर उनीहरूले आफूलाई दिइएको जग्गा नै बिक्री गरे ।

घर–व्यवहार चलाउन आफूहरूले पहिला निकै सस्तो मूल्यमा जग्गा बेच्नुपरेको तर अहिले नगरपालिकाले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधार व्यवस्था गरेपछि त्यस्ता जग्गा घडेरी बन्दा आफूहरूलाई निकै घाटा परेको स्थानीय जितबहादुर बोटेले बताए ।

बोटेको मुख्य पेसा माछा मार्ने र नदीमा बालुवा चालेर सुन खोजी गर्नु हो । त्यसैका भरमा उनीहरू जीविकोपार्जन गर्छन् । उनीहरूको कामै त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी र कालीगण्डकीकिनारामा बालुवा चालेर सुुन निकाल्नु हो । त्यसबाहेक घरनजिकको मादी नदीमा माछा मार्नु दोस्रो प्राथमिकताको काम हो ।

नदीमा करेन्ट लगाइदिने र विष हालिदिनाले माछा पाइन छाडेको स्थानीय सुकबहादुर बोटेले बताए । त्यसका साथै बाटोघाटो र पुल निर्माण भएसँगै डुंगा खियाउने पेसासमेत लोप हुन पुगेको उनको भनाइ छ, ‘विगतमा मानिसलाई नदी वारपार गराएबापत राम्रै आम्दानी हुन्थ्यो । मोटर चल्ने बाटो र झोलुंगेपुल बनेपछि हाम्रो पेसा पनि लोप भयो ।’

२०६८ को जनगणनाअनुसार देशभरि बोटेको जनसंख्या १० हजार छ । तनहँुमा २९६ परिवारका १ हजार ७१७ जना बसोवास गर्छन् । त्यसमध्ये महिलाको जनसंख्या ८२२ छ भने पुरुष ८८९ छन् ।

तनहुँमा पानी बोटे र पाखे बोटे छन् । व्यास नगरपालिका–५ को कुमालटारीस्थित बोटेटारमा बस्नेहरू आफूलाई पानी बोटे भन्न रुचाउँछन् । तनहुँबाहेक चितवन, मकवानपुर, उदयपुर, पाल्पालगायत जिल्लामा पनि बोटेको बसोवास छ ।

बोटेहरू आफूलाई पानीसँगै खेल्न जन्मिएको ठान्छन् । पानीसँग नजिकको सम्बन्ध भएको, नदीकिनारमा बस्ने, फरक पहिचान, फरक भाषा भएको जनजातिका रूपमा उनीहरू परिचित छन् । अन्य जनजाति समुदायझैं उनीहरूको पनि आफ्नै छुट्टै मातृभाषा छ । उनीहरू आफ्नो भाषालाई बोटे भाषा नै भन्छन् । तर, हिजोआज भने उनीहरूको भाषा पनि संकटमा परेको छ । पछिल्लो समयमा उनीहरूका अग्रजले आफ्नो भाषा बोले पनि बालबालिका भने बोल्दैनन् ।

मातृभाषामा अध्ययन गराउने विद्यालय नभएको र केही बालबालिका नजिकैको बोर्डिङ स्कुलमा समेत अध्ययन गर्न थालेका कारण बोटे भाषा अँगाल्नेक्रम घट्दै गएको हो । यद्यपि, उनीहरूका पुरुष किरिया बस्दा भने आफ्नो भाषा अनिवार्य बोल्नैपर्ने संस्कारचाहिँ जीवितै देखिन्छ ।

लोपोन्मुख हुनेक्रममा रहे पनि भाषा र संस्कृति संरक्षणका लागि कुनै पहल भने भएको छैन । न यो समुदायबाट न त सरकारी तवरबाटै । जसले यो समुदायका अगुवालाई चिन्तित बनाएको छ । उनीहरूको आफ्नै मुख्य चाड छैन । हिन्दु धर्मावलम्बीले मान्ने दसैं, तिहार र तीज नै उनीहरूको पनि चाड हो । हिन्दु धर्मावलम्बीका अन्य समुदायले झैं उनीहरू ती चाडमा शुभकामना आदान–प्रदान गरी रमाइलोसँग मनाउँछन् । त्यसबाहेक उनीहरू वैशाख पूर्णिमामा बलि दिएर मनाउँछन् । उनीहरूको आफ्नै कुल पूजा पनि हुने गर्छ । यस्तो पूजामा आफ्नो कूल देवतालाई सेतो भाले चढाउँछन् । ठूलो रूखको फेदमा ढुंगा राखेर त्यसैलाई देवता मानी पूजा गर्छन् । त्यस्तै वैशाखमा झाँक्री पूजा गर्छन् भने भदौमा वाई पूजा पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्