रिपोर्टिङमा निस्कँदा केटाहरूले ढुंगा हान्दै, जिब्रो पड्काउँथे



विज्ञानको चकचकीले संसार एउटा गाउँमा परिणत भएको छ । ‘अबको युग भनेको अनलाइन म्यागेजिनको हो,’ मोफसलमा बसेर पत्रकारिता गर्दै आएकी धादिङकी सरिता श्रेष्ठले भनिन्, ‘अपवादबाहेक दस वर्षपछि मुलुकमा प्रिन्ट मिडिया एकादेशको कथा बन्नेछ ।’

मोफसलमा बसेर पत्रकारिता गर्दै आउनुभएको छ । मोफसलमा बसेर पत्रकारिता गर्दाको मुख्य समस्या के–के हुन् ?

सर्वप्रथम राज्य मोफसलका मिडियामैत्री बन्न नसक्नु नै मुख्य समस्याजस्तो लाग्छ । मोफसल त्यत्तिकै मोफसल बनेको होइन, राज्यले गरेको विभेदपूर्ण कामबाटै मोफसल बनाइएको हो । राज्यको नीति त एक ठाउँमा छँदै छ, त्यसको अलावा राजधानीमा रहेका सञ्चारकर्मी, सञ्चारमाध्यमले पनि मोफसलका सञ्चार माध्यमप्रति सकारात्मक दृष्टिकोण नराख्नाले मोफसल मोफसल बनेको हो । सञ्चारमाध्यमलाई राज्यको चौथो अंग भनिए पनि मोफसलका पत्रकार राज्यले दिने सेवा–सुविधाबाट वञ्चित छन् । खासगरी पत्रकार महिलामा बढी चुनौती छन् । समयमै पारिश्रमिक नदिइनु, नियुक्तिपत्रविना काममा लगाइनु, सञ्चार संस्था महिलामैत्री बन्न नसक्नुलगायतका समस्याले गर्दा मोफसलका पत्रकार महिला विस्थापितसम्म हुनुपरेको छ ।

समस्या समाधानको बाटो के हुन सक्छ ?

राज्यले सञ्चार संस्था तथा पत्रकारको बीमा अनिवार्य व्यवस्था गर्नुपर्छ । अहिले पत्रकार महासंघको समन्वयमा पत्रकार दुर्घटना बीमा गरिएको छ । तर, जिल्लामा रहेर काम गर्ने पत्रकारले सूचना विभागको परिचयपत्र बनाउन नसक्दा दुर्घटना बीमाबाट वञ्चित हुनुपरेको छ । धादिङको हकमा भने नेपाल पत्रकार महासंघ धादिङको सहयोगमा सूचना विभागसँग समन्वय गरी प्रायः पत्रकारको सूचना विभागको परिचयपत्र बनिसकेको छ । यसले गर्दा धादिङका बढीभन्दा बढी पत्रकारले बीमा गर्ने अवसर पाएका छन् । पत्रकारलाई तालिमको व्यवस्था, प्रोत्साहनका लागि सम्मान गर्नेलगागतका विषयमा विशेष जोड दिनुपर्छ । सञ्चार संस्थाको विज्ञापन दर–रेटका विषयमा पनि विशेष ध्यान दिएर काम गर्नुपर्छ । सञ्चार क्षेत्रमा बनेका ऐन, कानुनलाई कडाइसाथ पालना गर्नुपर्छ ।

पत्रकारितालाई दुखिया पेसा भनिन्छ । दुःखमै रमाउने साहस कसरी गर्नुभयो ?

त्यो त मान्छेको सोचाइ हो । अनि हेर्ने दृष्टिकोण । तर, यस क्षेत्रमा अलिकति जोखिम पनि हुने गर्छ । जोखिमलाई सजिलै पार लगाउन सक्यौं भने दुःखमा होइन, सुखमा रमाउन सकिन्छ । थोरै आफ्नै कुरा गरौं । मैले पत्रकारिता सुरु गरेको पाँच वर्ष भयो । यो पेसामा आउनु मेरो रहर थियो । रेडियो सुन्दै गर्दा आफू पनि रेडियोमा बोल्नेले जस्तै बोल्ने रहर हुन्थ्यो । टीभी हेर्दा टीभी स्क्रीनमा आफूलाई उभ्याउने रहर हुन्थ्यो । त्यसैले यो पेसा मैले रोजें । पत्रकारिताको अर्थ बुझ्दै जाँदा, काम गर्दै जाँदा यसमा रहेका बोक्रा केलाउँदै गएँ, गुदी पत्ता लगाउँदै गएँ । त्यसैले आजसम्म असफल हुनुपरेको छैन । यो सफलतामा मेरा अग्रज पत्रकारको समेत सहयोग छ, त्यसैले पनि मैले जस्तोसुकै कठिनाइमा पनि रमाउने साहस गरेकी हुँ ।

 दुःखको पापड बेलिरहनुभएको छ । दुःखमा समेत सुखानुभूति गरिरहनुभएको छ नि ?

गर्दै जाँदा उत्साह बढिरहेको छ । भनिन्छ– केही पाउन संघर्ष गर्नुपर्छ । त्यसरी नै उत्साह, उमंगसाथ लागिपर्यौं भने दुःखको पापड सजिलैसँग बेल्न सक्छौं ।

रेडियो, टीभी, अनलाइन म्यागेजिन र प्रिन्ट मिडियामा समेत काम गरिसक्नुभएको छ । चारमध्ये कुनमा काम गर्दा ‘इन्जोए’ लिइरहनुभएको छ ?

आफूले जुन सञ्चार संस्थामा काम गर्यो त्यसमै इन्जोए लिइरहेकी छु । मैले अहिले अनलाइन म्यागेजिनमा काम गरिरहेकी छु । यसमै सन्तुष्ट छु । हुन त रेडियो, टीभी, पत्रिका सबै आफ्ना क्षेत्रमा उत्कृष्ट छन् । पहिले–पहिले पत्रपत्रिका धेरै प्रभावकारी मानिन्थ्यो । रेडियो नेपाल स्थापनासँगै मानिसमा सूचना प्रविधिको जागृत हुन थाल्यो । त्यसपछि टेलिभिजन सञ्चालनमा आयो । संसारका मुहारचित्र देखाउन थालिएपछि मानिसको मोह टेलिभिजनप्रति बढ्यो । त्यसपछि इन्टरनेटको विस्तारसँगै अनलाइन म्यागेजिनको पहुँच बढ्न थालेको छ । छिटो र सजिलै सूचना, जानकारी पाउन सकिने भएकाले अनलाइन म्यागेजिनमा बढी ‘इन्जोए’ गर्ने गर्छु ।

अपवादबाहेक अबको १० वर्षपछि ‘प्रिन्ट मिडिया’ नरहने सञ्चारकर्मीहरूले नै लख काट्दै आएका छन् । तपाईं सहमत हुनुहुन्छ ?

अहिले नयाँ–नयाँ प्रविधि विकास हुन थालेको छ । मानिसले पत्रिका किनेरभन्दा पनि मोबाइल, कम्प्युटरमार्फत पढ्ने अभ्यास गर्न थालिसकेका छन् । त्यसैले त्यस्तो लख काट्नु अस्वाभाविक होइन ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजसँग पनि सम्बद्ध हुनुहुन्छ । मिडियामा जनजाति पत्रकारका अवस्था कस्तो छ ?

राज्यका हरेक प्रगतिगामी आन्दोलन, रचनात्मक काममा आदिवासी जनजातिको रगत बगेको छ । सञ्चार क्षेत्रमा क्रान्ति त्यत्तिकै आएको होइन । तर, ती सबैलाई बेवास्ता गरिएको छ । नेपालका सञ्चारमाध्यमले आदिवासी जनजातिका मुद्दालाई उचित स्थान दिन सकेको छैन । पछिल्लो समयमा मोफसलका मिडियामा जनजाति पत्रकारले सानोतिनो ठाउँ पाए पनि सम्बन्धित सञ्चारमाध्यमको ‘डेस्क’ मा बसेर आफ्ना मुद्दा बुलन्द बनाउने अवसर पाएका छैनन् ।

त्यसो भएर कसरी सच्याउने त ?

सबैभन्दा पहिले आफ्नो अधिकारका लागि आफैं सचेत हुनुपर्यो । जागरुक हुनुपर्यो । आवाज बुलन्द बनाउनुपर्यो । नेतृत्व तहमा पुग्न विशेष योजना बनाउन जरुरी छ । जनजाति पत्रकारका विषयमा दैनिक रूपमा कम्तीमा पनि एउटा समाचारजन्य सामग्रीलाई स्थान दिन सक्नुपर्छ भने जनजातिका सवालमा सचेतना कार्यक्रम बाक्लै गर्न सकिन्छ । प्रोत्साहनका लागि पुरस्कार, सम्मान तथा सीपमूलक तालिम अपरिहार्य छ । पछिल्लो समयमा आदिवासी जनजाति पत्रकार महासंघ फोनिजसमेत आफ्ना हक–अधिकार र मुद्दा स्थापित गर्न लागिपरेको छ । त्यसलाई निरन्तरता दिँदै जातीय पत्रकार संघले समेत आवाज बुलन्द बनाउन सघाउनुपर्छ । ‘आवाजविहीनहरूको आवाज’ भन्ने भनाइ आत्मसात् गर्नुपर्छ ।

पत्रकार महिलाको चुनौतीचाहिँ ?

वास्तवमा पत्रकारिता गर्नु नै समग्रमा गम्भीर चुनौती हो । कसैको भारी बोक्नु हो, बोझ बोक्नु हो जस्तो लाग्छ । तर, आफूले जुन लक्ष्य, उद्देश्यसाथ यस क्षेत्रमा प्रवेश गरेका हुन्छौं, त्यसलाई पूरा गर्नुपर्छ । खासगरी सञ्चार संस्थाको परिभाषा नबुझेकाले पत्रकार महिलाको पीडालाई बुझ्न सकेको छैन । सञ्चार संस्थामा पत्रकार महिला र पुरुषलाई फरक–फरक पारिश्रमिक दिने गरिन्छ, पत्रकार महिलाले लेखेको समाचारलाई कम प्राथमिकता दिनेलगायतका समस्या ज्यूँका त्यूँ छन् । रिपोर्टिङक्रममा हिँडिरहेको समयमा जिस्क्याउने, जिब्रो पड्काउने, ढुंगा हान्नेलगायतका अशोभनीय क्रियाकलाप भोग्न पत्रकार महिला बाध्य छन् ।

पुरुष पत्रकारले महिलामाथि हेर्ने दृष्टिकोण फरक हुनु नै मुख्य चुनौती हो । भर्खरै पत्रकारितामा लागेकालाई निरुत्साहित गर्ने पत्रकार महिलाका लागि चुनौतीको महाभारत बनाइएको छ । त्यतिमात्रै होइन, पत्रकार महिलालाई रिर्पोटिङमा जान नदिनु अर्को चुनौती हो ।

अनलाइन पत्रकारिताको भविष्य कस्तो देख्नुहुन्छ ?

सार्वजनिक रूपमा सूचना प्रवाह गर्न, पत्रपत्रिका पढ्न, रेडियो सुन्न, टेलिभिजन हेर्न वा म्युजिक भिडियो हेरेर रमाउन वेबसाइटले सजिलो बनाइदिएको छ । विश्वका जुनकुनै घटना, सूचना सन्देश सजिलैसँग इन्टरनेटमार्फत हेर्न/खोज्न सकिने भएकाले अनलाइन पत्रकारिताको भविष्य उज्ज्वल देखेकी छु । त्यसैले अनलाइन पत्रकारितालाई छापा, रेडियो र टेलिभिजन पत्रकारिताभन्दा प्रभावकारी ठानेकी छु । सूचना प्रवाह गर्ने हकमा छिटोछरितो माध्यम पनि यही हो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, गुगलमार्फत समाचार पोस्ट गर्नाले इन्टरनेट प्रयोगकर्ताको ध्यान सम्बन्धित समाचारमा पर्ने हुन्छ । त्यसैले अनलाइन पत्रकारिता प्रभावकारी र छरितो माध्यम बन्न पुगेको छ ।

धादिङको छापा एवम् विद्युतीय सञ्चारमाध्यमको अवस्था कस्तो छ ?

धादिङमा एक टेलिभिजन, पाँच रेडियो, एक दैनिक पत्रिका, पाँच साप्ताहिक पत्रिका र एक मासिक पत्रिका प्रसारित एवम् प्रकाशित छन् । तर, बजार सानो छ । सञ्चारमाध्यम धेरै छन् । दिनप्रतिदिन नयाँ–नयाँ सञ्चारमाध्यम जन्मनेक्रम जारी छ । पत्रिका किनेर पढ्ने पाठकले अभ्यास गर्न थालिहालेका छैनन् । रेडियो तथा टेलिभिजनमा विज्ञापन प्रसारित गरिए पनि रकम उठाउन दसपटक धाउँदासमेत सम्भव छैन । मोफसलका सञ्चारमाध्यममलाई बचाउन कठिन छ ।

प्रतिक्रिया दिनुहोस्