थारूको पहिचान ‘ढकिया’ लोप



दाङ । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समय लोप हुँदै गएको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेसा नअँगाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए ।

‘ढकिया थारूको पहिचानसँग जोडिए छ,’ चौधरीले भने, ‘तर, नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा पुगेको हो ।’ नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान जोगाउनतर्फ ध्यान नदिँदा लोप हुने अवस्थामा रहेको उनको भनाइ छ । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर ढकिया निर्माण गर्नतर्फ प्रेरित गर्नुपर्नेसमेत उनको तर्क छ ।

पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानका रूपमा ढकिया दिने थारू समुदायको चलन रहेको थारू अगुवा रूपलाल चौधरीले जानकारी गराए । दाङमा औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि यसको प्रयोग गर्ने गरिन्छ । अतिथिलाई उपहारका रूपमा ‘ढकिया’ दिने चलन नयाँ होइन ।

लोप हुन लागेको ‘ढकिया’ संरक्षणका लागि नयाँ पुस्तालाई यससम्बन्धी तालिम दिन आवश्यक रहेको उनको बुझाइ छ । ‘ढकियाले थारूको पहिचान झल्काउँछ,’ रूपलाल चौधरीले थपे, ‘तर, थारू समुदायका युवाले ढकिया बुन्न ध्यान नदिएकाले उनीहरूलाई तालिम आवश्यक छ ।’
थारू समुदायको बाहुल्य रहेको जिल्ला दाङ भए पनि स्थानीय थारू समुदायले ढकिया बुन्न छाडेको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारले समेत चासोसाथ हेर्नुपर्ने अर्का थारू अगुवा सीता चौधरीले बताइन् । ‘ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘प्रदेश र स्थानीय सरकारको समन्वयमा ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्छ ।’

दाङ थारूको ऐतिहासिक भूमि भएकाले थारू कला, साहित्य र संस्कृतिको प्रतीकका रूपमा रहेको ढकियालाई व्यावसायिक स्वरूप दिनुपर्नेमा थारू अगुवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्