मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा गाडी हुइँकिँदै थियो । सवारी पातलो भए पनि सदाझैं सडकपेटीमा बटुवाको आवतजावत बाक्लै थियो । त्यही भीडमा घाँसको भारी बोकेका दुई महिला सिंहदरबारको मूलगेट हुँदै रामशाहपथबाट गन्तव्य सोझ्याइरहेका थिए ।
घाँसले अनुहार छोपिएको थियो । पाइलो सार्दा लथ्रक–लथ्रक हल्लाएको घाँसका त्यान्द्राको छिद्रबाट बेलाबेलामा मलिन अनुहार देखिन्थ्यो । वर्षाले मौसम चिसो थियो । बटुवाले ज्याकेट छाडेका थिएनन् । तर, एक हातले नाम्लो समाउने र अर्काे हातले पसिना पुछ्नेक्रम जारी रहन्थ्यो । सबै आ–आफ्नै गन्तव्यको हतारोले होला राजधानीको मुख्य मार्गमा घाँसको भारी बोकेको देख्नेमा पनि चासो थिएन । बटुवाको साथ बाटो छिचोल्दै अघि बढ्दै थिए ।
महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखमा विश्वभर महिला श्रमिक दिवस मनाइन्छ । त्यसैले पंक्तिकारलाई ठूलो श्रमका साथबीच सडकमा घाँसको भारी बोक्दै हिँडेका महिलाको गन्तव्य थाहा पाउन मन लाग्यो । त्रिपुरेश्वर जाने कार्यक्रम बीचैमा रोकेर महिलाको अवस्था पत्ता लगाउने सोच आयो । भद्रकालीबाट ‘यु टर्न’ हानेर फर्किंदा महिला महानगरीय ट्राफिक प्रहरी महाशाखाको मूलद्वार कटिसकेका थिए । पद्मोदयमोड पुग्दा केही तस्बिर कैद भयो । उहाँहरूको गन्तव्य भृकुटीमण्डपतर्फ मोडियो । अलि अगाडि बढेका ती पाइला फेरि टुकुचाको खसी बजार मोडियो ।
बजारमा सयौं खसी, बोका र भेडा थिए । क्रेता–बिक्रेताबीच मोलतोल चल्दै थियो । कोही खसी डोर्याउँदै त कोही गफिँदै थिए । खसीको म्याँ..म्याँ…को आवाज लगातार सुनिन्थ्यो । दुई महिलाले ल्याएको घाँस देखेपछि व्यापारी एकैठाउँमा सोहोरिए । “दिदी मलाई एक मुुठा घाँस,” एउटाले भन्यो । “मलाई पनि एक मुठा है,” अर्काे स्टलबाट आवाज आयो । घाँसको अभाव भएको व्यापारीको भीडमा भारी बिसाउन नपाउँदै घाँस हारालुछ भयो । भोकाएका जनावरले खानेकुरा खोसेझैं व्यापारीले तँछाडमछाड गरे । एक मिनेटमै घाँस सकियो । व्यापारीले आ–आफ्नो खोरमा रहेका खसी–बोकालाई घाँस हाले । भोकाएका खसी–बोका स्वाद मानीमानी घाँस खान थाले ।
खोसाखोस हुँदा कसैले घाँसै पाएनन् । घाँस क–कसले लगे महिलालाई ठम्याउनै गाह्रो भयो । “लौन कति मुठा भयो ? ओई गोफ्ले कति मुठा लगिस् ?,” महिलाले व्यापारीसँग सोध्दै थिए ।
टुकुचामा खसी किन्नेको भीड थियो । त्यसकारण यहाँ घाँसको अभाव थियो । यहाँ दैनिक ८०/९० खसी–बोका बिक्री हुन्छ । नेपाली खसीको मूल्य प्रतिकिलो ६३० र भारतीय खसीको मूल्य ६६० देखि माथि छ । खसी–बोका व्यापारको १६ स्टल छ । झन्डै १०० ले दैनिक रूपमा खसी–बोका ल्याउने चौपाया खरिद बिक्री संघ टुकुचा एकाइ अध्यक्ष सन्तोषबहादुर खत्रीले बताए । घाँस ल्याउन महिला दुईजना मात्रै भएको र खसी–बोका धेरै भएकाले यस्तो बेलामा घाँस हारालुछ हुने खत्री बताउँछन् ।
घाँस ल्याउने जिम्मा त्यही दुई महिलाको हो । व्यापारी ‘मलाई एक भारी, मलाई एक भारी’ भन्दै महिलासँग घाँस मागिरहेका थिए । व्यापारीले महिलालाई ‘घाँसे दिदी’ भन्दारहेछन् । टुकुचामा बिहान तीन महिलाले दैनिक आठ भारी स्याउला गाडीमा ल्याउँछन् । प्रतिभारी स्याउलाको ५०० कमाइ हुन्छ । घाँस काट्ने महिला दुईजना ।
दैनिक बिहान आउने । घाँस काट्ने । बेचेको पैसा लिएर गुजारा चलाउने उनीहरूको दिनचर्या हो । उनीहरूलाई न श्रमिक महिला दिवस भन्ने थाहा छ, न मुलुकको दैनिक अवस्था र गतिविधि नै । भोलि कुन ठाउँमा पुगेर एक भारी घाँस बनाउन सकिन्छ भन्ने चिन्तामात्रै छ । उनीहरूले प्रतिमुठा घाँसको२० पाउँछन् । धेरै ल्याउँदा एक भारीमा ५० मुठा आउँछ । नभए ३०/३५ मुठामात्रै हुन्छ । घाँस पाउँदा दिनको दुई भारी नभए एक भारीमा चित्त बुझाउनुपर्छ । दैनिक औसत गर्दा छ/सात सयदेखि हजारसम्म कमाइ हुने गरेको उनीहरूको भनाइ थियो । राम्रो घाँस पाउँदा घाँसेदिदीले एक दिनमा दुई हजारसम्म कमाइ गर्ने गरेको खसी व्यापारी सुनाउँछन् ।
उनीहरू नभए खसी–बोका र भेडाको पेट अघाउँथेन । त्यसैले घाँस ल्याउँदा टुकुचा बजारमा उनीहरू ठूलै ‘सेलिब्रेटी’ बन्छन् । भारी बिसाएर घाँस बिक्री हुन नपाउँदै फेरि अर्काे भारी घाँस काट्न जानुपर्ने बाध्यता उनीहरूमा छ । कुरा गर्ने फुर्सद नै हुन्न । एक भारी बिसायो अर्काे भारीको चिन्ता हुन्थ्यो । व्यापारीले घाँस मागिरहेका हुन्थे । यति बेलासम्म हरेक गतिविधि नियालिरहें ।
अर्काे भारी घाँस लिन जान थालेपछि कुरा गर्ने प्रयास थालें । “घाँस काट्न जान लागेको, मलाई कुरा गर्न फुर्सद छैन,” एक महिलाले मेरो आग्रहलाई ठाडै अस्वीकार गरिन् । परिचय दिएपछि केही मिनेट समय मिल्यो । उनको नाम मैयाँँ बोगटी । भक्तपुरको दुवाकोट घर । सोही ठाउँ बस्ने साथीको नाम बिमला बोगटी ।
मैयाँँले कुरा गर्न मलाई ३ः१३ मिनेटमात्रै समय दिइन् । उनका अनुसार घाँस काट्ने ठाउँको ठेगान हुन्न । घाँस लिन सुन्धारा, बानेश्वर, विभिन्न सरकारी अफिसको खाली जमिन चहार्नुपर्छ । कहिलेकाहीं दुई भारी पारे पनि धेरैजसो एक भारी घाँसमात्रै आउँछ ।
“घाँसको माग धेरै छैन नि, स्याउला पनि आउँछ । आज तपाईंले देख्नुभयो भीड । यो त चाडबाडले हो । नत्र एक भारी बिकाउन नि गाह्रो हुन्छ,” कुुराकानीक्रममा मैयाँले भनिन् । उनीहरू बिहान ९ बजे घरबाट हिँड्छन् । कहिले दिउँसै घर पुगिन्छ । कहिले चार/पाँच बज्छ । उनले थपिन्, “घाँस पायो भने छ/सात सय कमाइ हुन्छ, कहिले त त्यही पनि हुन्न । कहिले हारालुछ हुन्छ ।”
घाँस पाउनै छाडेको अनुभव सुुनाउने मैयाँले कहिले ३०/३५ मुठा, त कहिले ५० मुठासम्म बिक्ने गरेको बताइन् । मैयाँ यति कुरा गरेपछि बिमलाको साथमा हँसिया र नाम्लो बोकेर फेरि घाँसको खोजीमा निस्किन् । मैयाँँले राजनीति र महिला दिवसको विषयमा चासो नभएको बताइन् । बिमलाले भने कुरा गर्न मानिनन् ।
“गणतन्त्र आए पनि र दिवस आए पनि यही नेता र आसेपासेका लागि मात्रै हो, हामी मजदुरलाई के आउँछ र ?,” नजिकै रहेका अन्य मजदुर आपसमा कानेखुसी गर्दै थिए ।