एमालेबाट हलेसी तुवाचुङ नगरपालिका मेयरका लागि चारजनाको चर्चा



दुर्छिम (खोटाङ) । तोकिएको समयमा भयो भने अबको ५६ दिनमा स्थानीय तह निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा हलेसी तुवाचुङ नगरपालिकाका मेयरका लागि एमालेबाट चारजनाको चर्चा चुलिएको छ ।

चर्चामा रहेका चारमध्ये पदीय हैसियतमा खडेन्द्र राई सबैभन्दा अघि छन् । राई एमाले प्रदेश कमिटी सदस्य हुन् । उनी यसअघि पनि मेयरका उम्मेदवार थिए ।

एमाले १ नम्बर प्रदेश कमिटी सदस्य खडेन्द्र राई मेयरका त्यत्तिकै बलियो उम्मेदवार हुन् । ‘उहाँ मेयर उम्मेदवारको प्रबल दाबेदार हुनुहुन्छ । एमाले हलेसी तुवाचुङ नगरपालिकाबाट उहाँले मेयरको उम्मेदवारी दिने ९९ प्रतिशत सम्भावना छ,’ एमाले जिल्ला कमिटी सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘फुटबल खेलको भाषामा भन्ने हो भने उहाँ ट्राइबेकरसम्म पुग्नुहुन्छ ।’

मेयरकै उम्मेदवार बन्ने दौडमा सुरेन्द्रकुमार राई, डिल्ली चाम्लिङ र रमेश तिवारी रहेका छन् । राई एमाले जिल्ला कमिटी उपसचिव, चाम्लिङ जिल्ला कमिटी सदस्य हुन् भने तिवारी जिल्ला कमिटी सचिवालय सदस्य छन् ।

एमाले जिल्ला कमिटी उपसचिव राईलाई यसअघि पनि मेयर उम्मेदवारका लागि पार्टीले प्रस्ताव राखेको थियो । मेयर उम्मेदवारको बलियो सम्भावना रहँदारहँदै पनि उनले त्यतिबेला त्याग गरे । त्यतिबेला त्याग गरेकाले यसपटक उनी (सुरेन्द्र) मेयर उम्मेदवारका लागि अन्तिमसम्म दौडमा सामेल हुनेछन् । फुटबल खेलको भाषामै भन्ने हो भने सुरेन्द्रकुमार राई पेनाल्टीसम्म पुग्ने समाचार स्रोतको दाबी छ ।

त्यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडासदस्य डिल्ली चाम्लिङले समेत मेयरको उम्मेदवारी दिने चर्चा छ । एमाले हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्षसमेत रहेका चाम्लिङ एमाले जिल्ला कमिटी सदस्य पनि हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्ष रमेश तिवारी पनि मेयरका आकांक्षी हुन् । फुटबल खेलको भाषामै भन्ने हो भने तिवारीसमेत पेनाल्टीसम्म पुग्ने समाचार स्रोतको दाबी छ ।

सत्ता साझेदार दलले शिरदेखि तीरसम्म गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलेकै छ । ‘चलेको चर्चा सत्य हो भने एमाले भिड्न तयार छ,’ वडाध्यक्ष तिवारीले ठोकुवा गरे, ‘एमाले एक्लैले सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने हिम्मत गरेको छ ।’

यसैगरी, एमालेले हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा उषा राईलाई अघि सार्ने भएको छ । वैदेशिक रोजगारीमा बेलायत रहेकी राईलाई स्वदेश फर्काएरै भए पनि उपमेयरको उम्मेदवार बनाउने भएको छ । उनी यसअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान महिला सदस्यमा झिनो मतले पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्