एमबीबीएस पूरा गर्न नेपालमा ६० लाख, चीनमा सित्तै



नेपाली युवा छिमेकी देश भारत अनि अरब, मलेसिया, कोरिया, जापान, युरोप, अमेरिका जताततै पुगेका छन् भन्ने कुरा त घामझैं छर्लंग छँदै थियो । काठमाडौंबाट प्लेन चढ्ने बेला अन्तर्राष्ट्रिय विमानस्थलको घुइँचोले पनि देखाइरहेको थियो, नेपाली युवाको विदेश पलायनको चित्र । तर, काठमाडौं–कुन्मिङको जहाजमा भने हामी सात/आठजना मात्रै नेपाली थियौं । त्यसमा पनि पाँचजना त जापान हिँडेका, कुन्मिङ ट्रान्जिट भएर जानुपरेकाले मात्रै भेटिएका । चीनका लागि त हामी तीनजना त्यसमा पनि म जाने सहरमा त म र अर्का एकजना सुदूरपश्चिमको भाइमात्रै ।

चीनका अरू सहरमा के कसो छ, थाहा छैन । म बसेको कुन्मिङ सहरमा भने विदेशी भनेका मूलतः विद्यार्थी र व्यापारी नै रहेछन् । बस्दै जाँदा थाहा भयो, यो सहरभरिमा ३०० जति नेपाली छन्, तिनमा ८० प्रतिशत युवा विद्यार्थी छन् । धेरैजसो मेडिकल साइन्सका विद्यार्थी रहेछन् । त्यसपछि चिनियाँ भाषा पढ्ने छन् । अनि केही इन्जिनियरिङ र केही व्यवस्थापनका विद्यार्थी रहेछन् । ‘चिकित्सा शिक्षा चीनको राम्रो छ तर उसका लागि राम्रो छ, हाम्रा लागि होइन,’ एमबीबीएस अन्तिम वर्षका विद्यार्थी सिरहाका अमन सिंह भन्छन् । उनको बुभाइ छ, ‘चीनले आफ्नो देशको आवश्यकतालाई ध्यान दिएर पाठ्यक्रम पढाउँछ अनि सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षामा जोड दिन्छ । त्यसैले यहाँको पढाइ नेपालमा काम नलाग्न सक्छ ।’ तर पनि चीनको पढाइ सस्तो छ । प्रायः चीनमा पढ्न आउनेले धेर–थोर छात्रवृत्ति पाएका छन् ।

नेपालमा एमबीबीएस पूरा गर्न ५०/६० लाख खर्च हुन्छ, यहाँ सित्तैमा पढ्न पाइन्छ । त्यसैले नेपालका लागि त्यति उपयुक्त नभए पनि चीनमा पढ्न आउने बढेको रहेछ । ‘चीनले हामी विदेशीलाई पनि छात्रवृत्ति दिएर मेडिकल शिक्षा पढाइ रहेको छ । हाम्रो देशमा भने मेडिकल कलेजका नाममा लुटिरहेछन्,’ उनी आक्रोश पोख्छन् ।

‘चीनमा पढाइ पनि राम्रै छ । उपकरणहरू धेरै राम्रा छन् । तर, मुख्य कुरा भाषाको समस्याका कारण बिरामीबाट लिनुपर्ने व्यावाहारिक ज्ञान भने लिन कठिन छ । त्यसैले चीनको मेडिकल शिक्षालाई नेपालमा राम्रो नभनिएको हो,’ एमबीबीएसकै अन्तिम वर्षका विद्यार्थी काठमाडौं सीतापाइलाका क्षितिज थापाको बुझाइ छ । ‘मेडिकल शिक्षामा भारतबाट धेरै विद्यार्थी आएका छन् । मुख्य कुरा त छात्रवृत्ति हो । चिनियाँ भाषामा पढ्नेलाई त झन् धेरै छात्रवृत्ति दिन्छ । छात्रवृत्ति नपाए पनि भारतको तुलनामा यहाँको पढाइ धेरै सस्तो छ,’ भारतको कास्मिरबाट आएका विद्यार्थी भन्छन् ।

चिनियाँ भाषा पढ्नेका लागि चीनमा छात्रावृत्ति पाउन अलिक सजिलो छ । त्यसैले रुचि नभएर पनि विदेश जाने मोहले नेपाली विद्यार्थी चिनियाँ भाषा पढ्न आउने रहेछन् । लाओस, म्यानमार, थाइल्यान्ड, मंगोलिया र पूर्व सोभियत संघअन्तर्गतका विभिन्न देशबाट चिनियाँ भाषा पढ्न आउने त अझ धेरै रहेछन् । नेपालमा खर्च गरेर पढ्नुभन्दा छात्रवृत्ति पाइन्छ भने जुनसुकै विषयमा भए पनि पढ्ने हो भनेर चीन आउने प्रशस्तै रहेछन् । चीनमा पढ्ने कुरा त्यति सजिलो भने छैन । अंग्रेजी माध्यमबाट पढ्नेले पनि भाषाको खास कोर्स भने पूरा गर्नैपर्छ । त्यसैले एक/दुई वर्ष त भाषा सिक्दै जान्छ । अनि चिनियाँ सजिलो छैन । बोल्न त छिट्टै सिकिन्छ । तर, लेखपढ भने निकै गाह्रो छ । पढाइलाई चाहिने कुरा भनेको लेखपढ हो । प्राविधिक विषयको पढाइमा त भाषा झनै समस्या हुन्छ ।

छात्रवृत्ति पाएमा त्यसले खाने खर्च त सजिलै धान्न पुग्छ । तर, पढाइमा रुचि र मिहिनेतको मुख्य भूमिका हुन्छ । पढ्नैका लागि आउनेले त राम्रो गरेका छन् । तर, कति त पढाइ केवल बाहानामात्रै छ । उनीहरूका लागि म्यानमार, बर्मा, थाइल्यान्ड, लाओस, मंगोलिया र युरोपतिरका केटी साथी छन् । अनि बिदाका दिनहरू केटी साथीसँगको मस्तीमा बित्छन् । उता, बाउआमा, छोरो विदेशमा पढिरहेकोमा मख्ख । यता, छोरो अर्कैतिर मस्त ।

सहप्राध्यापक धनप्रसाद सुवेदी

लजिस्टिक मेनेजमेन्ट पढ्ने एकजना २५ वर्षे युवालाई नेपाल फर्किने रुचि छैन । लाओसकी केटीको सम्बन्धमा रहेका उनी ससुराली लाओस वा त्यसको छिमेकी थाइल्यान्डतिर व्यापार गरेर बस्ने योजनामा छन् । त्यसो गर्दा नेपाली नागरिकता त्याग्नुपर्छ, त्यो सम्झँदा अलिकति दुःख त लाग्छ तर नेपालको सबै कुरा सम्झेपछि ‘आ बरु त्यागौं’ भन्ने लाग्छ उनलाई । एकजना धनी बाउका एक्ला र पुल्पुलिएका छोरा ब्याचलरमा म्यानेजमेन्ट पढ्दै छन् । ‘पढ्नु त के छ र, १८ विषयको जाँच दिएको १७ विषयमा फेल । हाजिर भने पुर्याउनुपर्छ, नत्र भिसा थप्दिँदैन,’ उनी सगर्व भन्छन् । बाउआमा युएनको जागिरमा विदेशमा छन्, काठमाडौंमा घर छ । एउटा छोरो, उसको खुसी गरोस् भन्ने मनस्थितिमा छन्– बाउआमा । पैसाजति पनि पठाइदिन्छन्, विश्वविद्यालयले पनि धेर–थोर छात्रावृत्ति दिएकै छ । उनी थाइल्यान्डतिरकी केटीको प्रेमसम्बन्धमा छन् । पढाइ त्यस्तै हो, यो उमेरमा मोज गर्ने हो भन्ने मनस्थितिमा उनी केटी साथीसँग मस्ती गरिरहेका छन् । ‘नेपाल गएर के गर्ने ? विदेशतिरै बस्ने हो । सायद थाइल्यान्डतिर बसिन्छ र व्यापार गरिन्छ होला । नेपालमा के छ र ?,’ चुरोटको सर्को तान्दै उनी भन्छन् ।

अर्का एकजना युवा पनि लजिस्टिक म्यानेजमेन्ट पढ्छन् । युरोपेली केटीसँगको प्रेम सम्बन्धमा छन् । चीनबाट ब्याचलर गरेपछि युरोपतिर सजिलै भिसा पाइन्छ । त्यसैले यता आएको । पढ्ने जान्नलाई होइन, युरोपको भिसाका लागि सर्टिफिकेट चाहिएको हो र पढिँदै छ भन्ने मानसिकतामा उनी पढ्दै छन् । सिभिल इन्जिनियरिङमा ब्याचलर गर्दै गरेका अनि राजनीतिक रूपमा निकै सचेत अर्का युवक छन्, ‘जागिर खाएर हुन्न, सायद व्यापार गरिन्छ होला । ब्याचलर गरेपछि युरोप अमेरिकाको भिसा पाइन्छ, सायद उतै गइन्छ ।’ उनी भन्छन्, ‘तर, नेपालको अवस्था सुध्रिएमा नेपाल फर्किएरै काम गर्छु ।’ उनीचाहिँ नेपाली केटी बिहे गर्ने विचारमा छन् । विदेशी केटीसँगको सम्बन्ध युवा उमेरमा रोमान्सका लागि ठिक हुन्छ, सधैंको दाम्पत्य जीवन बिताउने कुरा सजिलो छैन भन्ने उनको निष्कर्ष छ ।

नेपाली युवा विद्यार्थीको सम्बन्ध चिनियाँ युवतीसँग भन्दा पनि लाओस, थाइल्यान्ड र मलेसियाकाहरूसँग बढी देखिन्छ । सायद यसमा नेपाली युवकहरूको मनोविज्ञानले पनि काम गरेको हुन सक्छ । विदेशी केटीकेटासँग प्रेमसम्बन्धमा रहनेहरूको मनस्थितिले आजको युवा उपभोक्तावादी संस्कृतितिर चुर्लुम्म डुब्दै छ भन्ने देखिन्छ । चिनियाँ समाजमा किशोरकिशोरी र युवकयुवतीको सम्बन्धलाई स्वाभाविक रूपमा लिइने गरेकाले त्यसको प्रभाव यहाँ पढ्ने विदेशी विद्यार्थीमा परेको देखिन्छ । भारतीयमूलका युवकयुवतीसमेत निकै स्वतन्त्र रूपमा सम्बन्ध स्थापना गर्न अग्रसर रहेका देखिन्छन् ।

यस्ता केही अपवादलाई छाडेर हेर्दा चीनमा नेपाली राम्रो पढ्ने विद्यार्थीका रूपमा गनिने रहेछन् । खासगरी विज्ञान, प्रविधि विषय पढ्ने विद्यार्थीले धेरै राम्रो गरेका रहेछन् । पीएचडी र पोस्ट पीएचडी गर्नेहरूले झनै नाम कमाएका रहेछन् । चिनियाँ सरकारले विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा राम्रो लगानी गरेको रहेछ । एउटा राम्रो जर्नलमा अनुसन्धान लेख छापिएमा विश्वविद्यालयले ५० हजार आरएमबी (करिब आठ लाख नेपाली रुपैयाँ) सम्म पुरस्कार दिँदोरहेछ । अनि उत्कृष्ट अनुसन्धान गरी आफ्नो प्रदेशको नाम राख्नेलाई प्रदेश सरकारले २५ लाख आरएमबी (करिब चार करोड नेपाली रुपैयाँ) सम्मका पुरस्कार दिँदोरहेछ । त्यसैले राम्रा जर्नलमा अनुसन्धान लेख छपाउन र अनुसन्धानमा समर्पित हुन विद्यार्थी र प्राध्यापकहरू तँछाडमछाड गर्दारहेछन् । त्यसको प्रभाव नेपाली विद्यार्थीमा पनि पर्नु स्वाभाविकै हो । केही नेपाली विद्यार्थीले विश्वविद्यालय तथा प्रदेशस्तरका राम्रा छात्रवृत्ति पाएर नेपाली विद्यार्थीको शान बढाएका रहेछन् । त्यसैले चीनमा नेपाली हुँ भनेर गर्वसाथ हिँड्न सकिने रहेछ ।

प्रतिक्रिया दिनुहोस्