पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण जिल्लाकी एक महिला बनेकी छन् । मोदी गाउँपालिका–८ चित्रे पर्वतकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छन् ।
स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् । ‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन,’ उनले भनिन्, ‘अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ । उनका श्रीमान् सुकबहादुर गुरुङ मोदी–८ चित्रेकै वडाध्यक्ष हुन् ।
श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्न उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरूलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए ।
‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह थिएन । वडाबाट फर्कंदा लौ म त कक्षा १ मा भर्ना भएर आएँ भनिन्,’ उनले भने, ‘म त अचम्ममा परें । यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ ।’
आफ्ना नातिनातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णु गुरुङको अनुभव छ ।
‘गाउँमा कति हो कति पाहुना आउँछन् । लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन भन्दा लाजको मर्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘अब भने पढ्न जान्दछु कि भन्ने विश्वास बढेको छ ।’ उनी जिल्लाकै नमुना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गीत गाएर रमाइलो वातावरण बनाउने गर्छिन् ।
विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिनाले बताए । पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृति विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने प्रअ तिमिल्सिनाको भनाइ छ ।