२ कक्षामा अध्यनरत छात्राको जन्मोत्सवमा शैक्षिक सामग्री वितरण



बुद्धचोक (दुर्छिम) । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम बुद्धचोक खोटाङनिवासी दुई कक्षामा अध्यनरत छात्रा सृष्टि राईले आफ्नो आठौं जन्मदिनको अवसर पारेर आफ्नै गाउँको दामोदर महासिं आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।

भक्तपुरमा अध्ययनरत राईकी बुवाआमा लालकुमार राई/विश्वकला राई र मुगाधन राई/भद्रसरी राईको सौजन्यमासृष्टि उनको आठौं जन्मोत्सव पारेर शैक्षिक सामग्री वितरण गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्ष रमेश तिवारीले भने, ‘सृष्टिको आफ्नो जन्मोत्सव मनाउने यो काइदाले समाज र राष्ट्रलाई गौरवान्वित बनाएको छ ।’

‘भर्खरै दुई कक्षामा अध्ययनरत एउटी छात्राले परम्परागत तरिकाले मनाइने जन्मोत्सवलाई पर राखेर सृष्टि र उहाँका सहयोगी र सकारात्मक मन भएका बुवाआमा समाजमा कमै पाइन्छन्,’ कार्यक्रमको प्रशंसा गर्दै प्रमुख अतिथिको आसनबाट खडेन्द्र राईले भने, ‘आफ्नो जन्मोत्सवमा शैक्षिक सागम्री वितरण गरेर सृष्टिले सिंगो समाजलाई सवक सिकाएकी छन् । त्यतिमात्रै होइन, सृष्टिकी बुवाआमा लालकुमार राई र विश्वकला राईजस्ता अभिभावकले अन्य अभिभावकलाई पनि उदाहरणीय र सराहनीय काम गर्न प्रेरित गरेको छ ।’

‘वर्तमान समयमा बढ्दै गइरहेको आधुनिकता र हाम्रो परम्परा मासेर जन्मोत्सव मनाइरहेका छौं । त्यसरी मनाइएको जन्मोत्सव प्रभावकारी लाग्दैन,’ शैक्षिक सामग्री वितरणसम्बन्धमा छात्रा सृष्टि राईकी बुवा लालकुमार राईले भने, ‘बरु एक विद्यार्थीले आफूजस्तै अर्का विद्यार्थीलाई जन्मदिनमा केक काटेर, भोज खुवाउनुभन्दा शैक्षिक सामग्री वितरण गर्नु कैयौं गुणा फलदायी लाग्छ ।’

कार्यक्रममा राईले थपे, ‘छोरी भक्तपुरमा अध्ययनरत छिन् । छोरी सृष्टिलाई परिवारबाट समाजसेवाका निम्ति आफ्नो हैसियतअनुसार उदाहरणीय काम गर्नुपर्छ भन्दै आएका छौं । तसर्थ, सालिन्दा छोरीको जन्मदिनमा केही न केही कार्यक्रम गर्दै आएका छौं ।’

अभिभावकको सहयोगमा छोरीको जन्मदिनमा सामाजिक काम गरेको देखेर छोरीसमेत खुसीले पुलकित भएको सृष्टि राईकी आमा विश्वकला राईको भनाइ छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्ष रमेश तिवारी विशेष अतिथि र एमाले नेता खडेन्द्र राईको प्रमुख अतिथि बनाएर विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सृष्टि राई उपस्थित हुन नसके पनि राईले खिचेर पठाएकी भिडियो भने देखाइएको थियो । भिडियोको पेटबोली यस्तो थियो ।

मेरो बुवाममीको नाम लालकुमार राई र विश्वकला राई हो । मेरो स्थायी घर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बुद्धचोक, खोटाङ हो । म आठ वर्षकी भएँ । हाल म भक्तपुरमा बस्दै आएकी छु । म कक्षा दुईमा अध्ययनरत छु ।

म आठ वर्ष पुगेको उपलक्ष्यमा मेरो बुबाआमा र मैले श्री दामोदर महासिं आधारभूत विद्यालयलाई केही शैक्षिक सामग्री (स्कुल डायरी) वितरण गरेका छौं । हाम्रो सानो सहयोग तपाईं शिक्षक, विद्यार्थी र अभिभावकले स्वीकारिदिनुहोला । नमस्कार धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्