अमेरिकी दूतावासको फोटो खिच्दा एक बिहान सत्यनाश


हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटार, खोटाङका माओवादी पूर्वनेता लक्ष्मण राई ‘सागर’ डिकुवा–बाहुनीडाँडाको सीमाक्षेत्र सिसिङ्ग्रामा लडे । घाइते नेतालाई भेट्न बिहान पाँचै बजे काठमाडौंको महाराजगन्जमा रहेको शिक्षण अस्पताल पुगें । स्वास्थ्यलाभको कामना गरी फर्कनेक्रममा अमेरिकी दूतावास भवनमा आँखा ठोक्कियो । दूतावास भवनको फोटो खिचेर बाटो लागें । ‘ओ भाइ, ओ भाइ’ भन्दै खुकुरी क्रसवाला फुली भिरेका प्रहरी मेरो पछि–पछि चिच्याइरहेका थिए ।

के भो सर ? भनेर जिज्ञासा राखें । फोटो खिचेको मोबाइल दे भनेर ठाडो आदेश दिए । म झसंग भएँ । बिहान–बिहानै ठूलै अपराध गरेछु कि के हो भन्ठाने । मोबाइल किन दिनुपर्ने सर ? भनेर प्रतिप्रश्न गरें । दूतावासको तस्बिर खिच्न पाइँदैन भनेर लेखेको देखिनस् भन्दै जंगियो । लगत्तै उसले मेरो मोबाइल खोस्यो । ला ! अब बित्यास पार्ने भो भन्ने लाग्यो । मोबाइलमा अमेरिकी साम्राज्यवादी नीतिबारे विरोध गरिएका आलेख थिए । त्यो देखे भने मलाई मुद्दा पो चलाउला कि ? जेलै पो जानुपर्ने हो कि भनेर सशंकित भएँ ।

दूतावास सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले मेरो मोबाइल दूतावासभित्रै पुर्यायो । त्यसपछि प्रहरी प्रधान कार्यालय नक्सालका एक डीएसपीसँग फोनमै पाँच मिनेट कुराकानी गर्ने मौका मिल्यो । उताबाट सोधियो तपाईंले दूतावास भवनको फोटो किन खिचेको ?

‘म बिल्डिङ कन्स्ट्रक्सनमा काम गर्ने मिस्त्री हुँ सर,’ मैले एकै सासमा उत्तर दिएँ, ‘मैले काम गर्न लागेको घरको वालमा दूतावासमा ग्रिप गरेर लगाएको मार्बलजस्तै काम गर्नुपर्ने भएकाले आइडियाका लागि फोटो खिचेको हुँ ।’ डीएसपीलाई विश्वास लागेन होला । उनले आतंककारी गतिविधिमा संलग्नलाई पठाउन पो खिचेको हो कि ? भनेर शंका गरे । सरी सर म देशभक्त नेपाली मजदुर हुँ, यो फोटो मसँग मात्रै रहन्छ भनेर विश्वस्त तुल्याएँ । ‘आइन्दा यस्तो काम नगर्नू, ३० मिनेटपछि मोबाइल पाउनुहुनेछ,’ डीएसपीले फेरि जोड दिए, ‘फेरि–फेरि दूतावास र दूतावास परिसरको तस्बिर नखिच्नू ।’

लगभग आधा घन्टापछि मोबाइल हात पर्यो । दूसतावासभित्रैबाट एक जनपद प्रहरीले मुस्कुराउँदै मोबाइल ल्याइदिए । ‘यो एकदमै संवेदनशील क्षेत्र भएकाले तस्बिर खिच्न मनाही छ,’ उनले भने, ‘ऊ त्यो स्टिकरमा फोटो खिच्न निषेध गरिएको चित्र देख्नुभएन क्यारे । आइन्दा तस्बिर नखिच्नू । अरूलाई पनि भन्नुहोला है ।’

मैले खिचेको तस्बिर रिसाइकल बिनमा समेत नरहने गरी ‘डिलेट’ गरेछन् ।

त्यसपछि कपनमा रहेको कोठा फर्कें । लगातार तीन दिनसम्म प्रहरी प्रधान कार्यालय नक्सालबाट टेलिफोन आइरह्यो । उही र उस्तै प्रश्न सोधिन्थ्यो । मैले पनि ‘रेडिमेड’ उत्तर दिँदै गएँ ।

अमेरिकी दूतावासमा घटना घटेको भोलिपल्टदेखि आर्टिफिसियल टायल फिक्स गर्न थाल्यौं । चुनिखेल, काठमाडौंमा निर्माणाधीन किशोर बमको घरमा काम गर्नुपर्ने थियो । नेपाली सेनाका उपल्लो दर्जाका बमको निर्माणाधीन घरको वालमा आर्टिफिसियल टायल जोड्न पाउँदा उत्साहित थियौं । उनले आकर्षक पारिश्रमिक दिने वचन दिएका थिए ।

अमेरिकी दूतावास भवनको वालमा ग्रेनाइट फिक्स गरिएको छ । बमको निर्माणाधीन घरमा पनि त्यस्तै गर्नुपर्थ्यो । आठ बाई चार फिटको आर्टिफिसियल टायल सिमेन्ट र नटबोल्ट ग्रिप लगाएर सिंगै फिक्स गर्नुपर्नेे ।

ग्रेनाइट मार्बलको काम गर्नु त्यत्तिकै चुनौतीपुर्ण हुन्छ । त्यसमाथि आठ बाई चारको एक आर्टिफिसियल टायलको भारवहन क्षमता ७० किलोग्रामबराबर हुन्थ्यो । त्यस्तो चीज घरको वालमा टाँस्नु कम्ती सकसपूर्ण थिएन । नेपालमा यस्तो काम यदाकदामात्रै हुन्छ भनेर घरभेटीले भन्थे । प्रतिस्क्वायर फिट २९० रुपैयाँ लिनेदिने सर्तमा लिखित सम्झौता भयो । ६ जनाले ४५० स्क्वायर फिट आर्टिफिसियल टायल जोड्यौं । पारिश्रमिकचाहिँ २८० स्क्वायर फिटको मात्र पायौं । मिहिनेत गरेको पारिश्रमिक नपाउँदा दुःख लाग्नु स्वाभाविकै हो । भुइँतहका मजदुर दुखेको कसले बुझ्ने ? कसले सुन्ने ?

अमेरिकी दूतावासको बाटो भएर हिँड्दा किशोर बमलाई सम्झन्छु । हाम्रो मिहिनेत खाने मजदुरमारा बमलाई खान पुगेकै त होला ! पाउनुपर्ने मिहिनेतको पारिश्रमिक नपाए पनि यो सहरमा हामीले पनि दुई छाक खाएका छौं । उनले खाने पनि दुई छाकै त होला नि !

प्रतिक्रिया दिनुहोस्