कहिलेकाहीँ अनपेक्षित रूपमा इतिहासका दुर्लभ प्रमाण भेटिइन्छन् । भोजपुर जिल्ला सदरमुकामको वास्तविक नाम ‘खिकामाक्छा’ हो । त्यसको बलियो प्रमाण हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम मयाङ्खुमा भेटिएको छ ।
‘बिहेको निम्ता भन्न हस्त राई ‘आमोद’ र म मयाङ्खु पुगेका थियौं,’ मुन्दुम अध्येयता भोगीराज चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘बले खत्रीले उचालेको विशाल ढुंगाबारे कुराकानी चल्दै गर्दा बलबहादुर राईले स्कुलनजिक खिकामाछा लेखेको ढुंगाबारे पनि जानकारी गराए ।’
‘अरे दाइ, खिकामाछा त भोजपुर सदरमुकामको पुरानो नाम पो हो त । मैले झटपट भनें,’ राईको भनाइ सुनेपछि मुन्दुम अध्येयता चाम्लिङले थपे, ‘साँच्चै दुई फुटजतिको ढुंगामा ‘षिकामाछा…१७’ लेखिएको प्रस्ट पढ्न सकियो । बीचमा थोरैचाहिँ अस्पष्ट छ ।’
राणाकालमा काठमाडौंदेखि नेपालको कुन ठाउँको दूरी कति कोस छ भनेर लेख्ने प्र्रचलन थियो । मयाङ्खुमा रहेको शिलालेख पनि त्यसैमध्येको एउटा हो । ‘यो शिलालेखले दुईवटा कुरा प्रस्ट पारेको छ,’ उनको भनाइ छ, ‘एक, ‘षिकामाछा’ नामलाई ‘भोजपुर’ बनाइएको धेरै भएको छैन । दुई, त्यो बेला खिकामाछा (भोजपुर)बाट काठमाडौं जाने मूलबाटो हलेसी पर्दोरहेछ ।’